१०४ वर्षीया बृद्धाले जितिन् कोरोना

१०४ वर्षीया बृद्धाले जितिन् कोरोना

केन्द्रबिन्दु
0
Shares

दक्षिण कोरिया ।

दक्षिण कोरियामा १०४ वर्षीया एक कोरोना संक्रमित वृद्धाको सफल उपचार भएको छ । चोई नाम गरेकी उक्त वृद्धा ६७ दिनको उपचारपछि पोहाङ मेडिकल सेन्टर, सरकारी अस्पतालबाट शुक्रबार डिस्चार्ज भएकी हुन् । उनी दक्षिण कोरियामा कोरोना सङ्क्रमणबाट निको हुनेमध्ये अहिलेसम्मकै बढी उमेर भएकी वृद्धा हुन् ।

सन् २०१२ देखि थेगुको दक्षिणी ग्यङ्सानमा रहेको एक केयर सेन्टरमा बसिरहेकी उनलाई पोहाङ अस्पतालको सघन उपचार कक्षमा भर्ना गरी उपचार गरिएको थियो । उनलाई शुरुमा सुख्खा खोकी लाग्ने तथा घाँटी दुख्ने लक्षण देखिएको थियो र सेतो रक्त कोष समेत घटेको थियो । स्वास्थ्यकर्मीको मेहनतका साथ उपचारका कारण उनी ठीक भइन् ।

चोईको १२ पटकसम्म कोरोना परीक्षण गरिएको थियो । उनको नवौँ पटकबाट कोरोना सङ्क्रमणको नतिजा नेगेटिभ आयो । त्यसपछिका सबै नतिजा नेगेटिभ आएपछि अस्पतालले डिस्चार्जको अनुमति दिएको हो । डिस्चार्जका समयमा पुष्पगुच्छासहित उनलाई सम्मान गरिएको थियो । उनले पनि उपचारमा संलग्न सबैलाई धन्यवाद दिइन् ।

कोरियामा एक नेपालीको मृत्यु

अनुमति रोजगार प्रणालीमार्फत रोजगारीका सिलसिलामा दक्षिण कोरिया आएका एक नेपालीको मङ्गलबार मृत्यु भएको छ । कोरियाको ख्यङ्जु शहर नजीकै एक कम्पनीमा कार्यरत स्याङ्जाका ३३ वर्षीय खड्काबहादुर थापाको सो दिन साँझ मृत्यु भएको हो ।

सात वर्षदेखि कोरियामा कार्यरत थापा कम्पनीको रात्रि काम सकेर सो दिन बिहान ९ बजेतिर सुतेका थिए । कोठामा एक्लै सुत्ने गरेका थापा साँझ ६ बजेसम्म पनि नउठेपछि कम्पनीमा सँगै काम गर्ने साथीले हेर्न जाँदा मृतावस्थामा फेला परेका थिए ।

लगत्तै उनीहरूले कोरियाको प्रहरीलाई खबर गरेका थिए ।
उक्त कम्पनीमा थापासहित पाँच नेपाली र तीन चिनियाँ कामदार रहेको मृतकका सहकर्मीले जानकारी दिए । थापाको शव ख्यङ्जु नजीकै शवगृहमा राखिएको छ । घटनाको आवश्यक छानबिन र शव व्यवस्थापनबारे परिवारसँग सल्लाह गरिने कोरियाका लागि कार्यवाहक नेपाली राजदूत रामसिंह थापाले बताए ।रासस

Logo