काठमाडौं ।
अघिल्लो वर्ष सरकारको नीति तथा कार्यक्रमको सम्बोधन गर्दा ‘मेरो सरकार’ शब्दावली प्रयोग गरेर आलोचना बेहोरेकी राष्ट्रपति विद्यादेवी भण्डारीले यस वर्ष भने उक्त शब्द दोहोर्याइनन् । यस वर्ष उनले ‘मेरो सरकार’का ठाँउमा ‘यस सरकार’को प्रयोग गरेकी छिन् । यससँगै उनले कहिं कहिं सरकार मात्र र वर्तमान सरकारको पनि प्रयोग गरेकी छिन्।
अघिल्लो वर्ष नेपाल सरकार अर्थात् जनताको सरकारको नीति तथा कार्यक्रम सुनिरहँदा राष्ट्रपतिको निजि सरकारको कार्यक्रम सुनिरहेको आभाष भएको भन्दै संसदले नै चर्को विरोध गरेका थिए ।
प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारको नीति तथा कार्यक्रममा प्रयोग गरिएको ‘मेरो सरकार’ शब्दावली सैद्धान्तिक रूपमै गलत भएको भन्दै संसोधन प्रस्ताव नै पेश गरेको थियो। यससँगै उक्त समय मेरो सरकार सम्बोधनको सामाजिक सञ्जालमा अलोकतान्त्रिक र गैर जिम्मेवार रहेको भन्दै चर्को विरोध भएको थियो।
यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारी आज मास्क लगाएर सङ्घीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्न पुगेकी थिइन् । विश्वभर कोरोना भाइरसको महामारी चलेका बेला हुन लागेको संसद्को बजेट अधिवेशनको संयुक्त बैठकलाई सम्बोधन गर्न उनी अपराह्न मास्क र हातमा पञ्जासहित संसद भवन पुगेकी हुन् ।
सरकारको नीति तथा कार्यक्रम वाचन गर्दा भने उनले मास्क हटाएकी छिन् । प्रतिनिधिसभा र राष्ट्रियसभाका प्रायः सबै सदस्यले पनि मास्क लगाएका छन् । राष्ट्रपतिको सम्बोधन जारी छ ।































प्रतिक्रिया