दश महिनामा ५६८ फर्मलाई जरिवानाः तीन करोड राजश्व संकलन

दश महिनामा ५६८ फर्मलाई जरिवानाः तीन करोड राजश्व संकलन

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

बजार अनुगमनको जिम्मा पाएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दश महिनामा अनुचित व्यापारिक कारोबार गरेवापत ५६८ फर्मलाई जरिवाना गरेको छ ।

गत साउन १ गतेदेखि वैशाख मसान्तसम्ममा काठमाडौँ उपत्यका र बाहिर सञ्चालन भएका फर्मलाई उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारवाहीस्वरुप जरिवाना गरिएको हो ।

विभागका सूचना अधिकारी रवीन्द्र आचार्यका अनुसार उपत्यकाका ४७० र बाहिरका ९८ फर्मबाट कारवाहीस्वरुप दुई करोड ८९ लाख ७ हजार राजश्व संकलन भएको छ । उनका अनुसार काठमाडौं उपत्यका र उपत्यका बाहिर बजार अनुगमनका क्रममा विभिन्न फर्म तथा उद्योगलाई कारवाही गरी जरिवाना तिराइएको हो । विभागको तथ्यांक अनुसार दश महिनामा बजार अनुगमनका क्रममा खान अयोग्य तथा म्याद सकिएका एक करोड ५५ लाख ४३ हजार ३०३ बराबरको खाद्य सामग्री तत्काल नष्ट गर्ने वा सम्बन्धितकहाँ फिर्ता गर्न लगाइएको थियो ।

त्यस्तै अनुगमनका क्रममा ४२९ फर्म सामान्य अवस्थामा रहेको तथा ६४२ फर्ममा सामान्य कैफियत भएको र तत्कालै सुधार गर्न निर्देशन दिइएको थियो । सूचना अधिकारी आचार्यका अनुसार १४३ फर्मलाई आवश्यक कागजातसहित स्पष्टीकरणमा बोलाइएको थियो । जसमध्ये उपत्यकाका १३७ र बाहिरका ६ छन् । तिनमा उपत्यकाकाका लकडाउन अवधिका नौ फर्म छन् । त्यस्तै दश फर्मबाट परीक्षणका लागि वस्तुको नमूना लिइएको र ६ फर्मको कारोबार रोक्का गरिएको जनाइएको छ ।

६४ फर्मलाई जरिवाना

सरकारले गत चैत ११ गतेदेखि शुरु गरेको लकडाउन अवधिमा अनुचित व्यापारिक कारोबार गरेको भन्दै विभागले ६४ फर्मलाई जरिवाना गरेर ८६ लाख २५ हजार राजश्व संकलन गरेको छ । बन्दाबन्दीको मौका छोपी खाद्य र पेट्रोलियम पदार्थ, स्वास्थ्य सामग्री तथा मासुजन्य पदार्थको बिक्रीवितरणमा बढी मूल्य लिएको भन्दै विभागले ती फर्मलाई कारवाहीस्वरुप जरिवाना गर्ने गरेको छ ।

लकडाउन अवधिमा काठमाडौँ उपत्यकामा सञ्चालित विभिन्न अस्पतालले उपभोक्ताबाट बढी शुल्क लिने गरेको भन्दै स्वास्थ्यकर्मीका साथमा अस्पतालको समेत अनुगमन गरिँदै आएको छ। लकडाउन अवधिमा उपभोक्ताबाट गुनासो आएको भन्दै विभागले ठमेलस्थित मनमोहन मेमोरियल अस्पताललाई दुई लाख ५० हजार र थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटललाई आवश्यक कागजसहित लिखित जवाफ माग गरेको थियो ।

विभागले टोल फ्री नम्बर ११३७ मा आएको उपभोक्ताको गुनासोलाई आधार बनाएर दैनिक बजार अनुगमन गर्दै आएको छ । चार वर्षदेखि नै टोल फ्री नम्बर सञ्चालन गर्दै आएको भए तापनि लकडाउन अवधिमा धेरै गुनासो आएको विभागका अधिकारी बताउँछन् । बिहान ८ देखि बेलुका ८ बजेसम्म विभागले उक्त नम्बरमा आएको गुनासो सम्बोधन गर्दै आएको छ ।रासस

Skip This
Skip This
Logo