भारतीय पक्षले अतिक्रमण गरी बनाएको बाटो भारतलाई नै भाडामा दिने कुरा गैर जिम्मेवारपूर्णं छ– नेता रावल

भारतीय पक्षले अतिक्रमण गरी बनाएको बाटो भारतलाई नै भाडामा दिने कुरा गैर जिम्मेवारपूर्णं छ– नेता रावल

केन्द्रबिन्दु
0
Shares

सरोज बस्याल
काठमाडौं । भारतीय पक्षलले नेपाली भूमि अतिक्रमण गरी बनाएको बाटो भारतलाई नै भाडामा दिने कुरा प्रधानमन्त्रीबाट आउनु गैर जिम्मेवारपूर्णं भएको नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले बताएका छन् । नेता रावलले केन्द्रबिन्दुसँग संक्षिप्त कुराकानी गर्दै सो कुरा बताएका हुन् ।

लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालको अखण्ड भूमि भएको ऐतिहासिक प्रमाणको आधारमा सरकारले भारतसँग कुटनीतिक वार्ता गर्नुपर्ने उनले बताए । सरकारले नेपाली भूमि दृढतापूर्वक वार्ता गरी फिर्ता ल्याउन छोडेर भारतलाई नै दिने कुरा गर्नु संविधान र नेकपाको नीति विपरीत भएको उनको भनाइ छ । ‘अन्तर्राष्ट्रिय कानुन र मान्यता विपरित भारतद्वारा अतिक्रमित नेपालको कालापानी क्षेत्रमा निर्मित सडक भारतलाई नै भाडामा दिने कुरा नेपालको संविधान तथा नेपाल कम्युनिष्ट पार्टीको निती विपरित छ’–उनले भने–‘देशका प्रधानमन्त्रीबाट यस्ता अभिव्यक्ति आउनु दुःखद छ । यस्ता अभिव्यक्तिप्रति देशभक्त नेपालीहरुले खेद व्यक्त गर्नुपर्दछ ।’

त्यस्तै नेता रावलले बिहिबार ट्वीट गर्दै यस्ता कुराले नेपाली पक्षलाई वार्ताका लागि कमजोर पार्ने उल्लेख गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्–‘लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपाली भू–भाग भएको तथ्य ऐतिहासिक दस्तावेज र प्रमाणको आधारमा पुष्टि गर्दै भारतसँग दृढताकासाथ कुरा गर्नुपर्छ । अन्तर्राष्ट्रिय कानुन विपरीत अतिक्रमण गरी बनाएको सडक भारतलाई नै भाडामा दिने कुरा गरी वार्तामा नेपाल कमजोर हुने तर्क नगर्नु बुध्दिमानी हुन्छ ।’

भारतीय पक्षले नेपाली भूमि कब्जा गरी चीनको धार्मिक स्थल मानसरोवर जाने बाटो निर्माण गरेको थियो । जसको गत शुक्रबार भारतीय रक्षामन्त्री राजनाथ सिंहले भिडियो कन्फरेन्स मार्फत उद्घाटन गरका थिए । भारतीय पक्षले एकतर्फी रुपमा नेपाली भूमिमा बाटो निर्माण गरेपछि नेपालमा राजनीतिक दल, भ्रातृ संगठन तथा स्वतन्त्र नागरिकबाट सडकदेखि सदनसम्म व्यापक भारतको विरोध हुँदै आएको छ ।

 

Skip This
Skip This
Logo