एकै परिवारका नौ जनामा कोरोना संक्रमण

एकै परिवारका नौ जनामा कोरोना संक्रमण

केन्द्रबिन्दु
0
Shares

रुपन्देही ।
रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं २ स्थित जोगडामा एकै परिवारका नौसहित १० जनामा कोरोना सङ्क्रमण भएको पुष्टि भएको छ ।

तीमध्ये छ पुरुष, एक महिला एवं चार र १० वर्षीया बालिका तथा एक पुरुष अलग परिवारको रहेको गैडहवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी घिमिरेले जानकारी दिए। भारतको मुम्बईबाट नेपाल आएका उनीहरु एक साता अघि लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।

नेपाल प्रवेश गरेपछि स्थानीय जोगडा माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका उनीहरुको परीक्षण गर्दा कोरोना पोजेटिभ भेटिएको प्रशासकीय अधिकृत घिमिरेले जानकारी दिए । उनीहरुको अवस्था सामान्य रहेको बताइएको छ । सो गाउँपालिका सैनामैना नगरपालिका र कञ्चन गाउँपालिकासँग जोडिएको गाउँपालिका हो ।

रुपन्देहीमा बुधबार थप १२ जनामा कोरोना सङ्क्रमण भएको थियो । थपिएका १२ सहित जिल्लामा कोरोना सङ्क्रमित २८ पुगेको जिल्ला स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । भैरहवास्थित भीम अस्पतालको आइसोलेशन वार्डमा रहेका दुई र गैडहवा गाउँपालिकाको जोगडा मावि क्वारेन्टाइनमा बसेका १० सहित १२ जनामा कोरोना सङ्क्रमण भएको थियो ।

भीम अस्पतालको आइसोलेशनमा रहेका एक जना उत्तर प्रदेश जिल्ला गोण्डाका भारतीय हुन् भने एक जना विजयनगर नगरपालिका कपिलवस्तुका बासिन्दा भएको अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।रासस

Skip This
Skip This
Logo