काठमाडौँ ।
कमलपोखरी पुनर्निर्माणमा कृतिम संरचना तथा ढुंगा र क्रंक्रिटको प्रयोग भएको भन्दै स्थानीयको जनगुनासोपछि काठमाडौँ महानगरपालिकाले पोखरीको संरचना बनाउन लागेको छ ।
कमलपोखरीको पुनर्निर्माण भइरहेको अवस्थामा पोखरीको ऐतिहासिक तथा पुरातात्विक महत्वलाई बिगार्ने किसिमबाट ढुंगा तथा सिमेन्टको प्रयोग गरिएको जनगुनासो बढेको थियो । तर काठमाडौँ महानगरपालिकाले स्थानीयसँगको छलफल अनुरुपको पूर्वनिर्धारित डिजाइनले नै निर्माण कार्य अघि बढाइरहेको बताउँदै कमलपोखरीको ऐतिहासिकतालाई जोगाउन महानगर गम्भिर रहेको अडान लिएको छ ।
कमलपोखरीमा हरेक वर्ष छठ पर्वको दिन छठ पुजा गरिँदै आएको छ । छठ पुजा गर्न पोखरीको चारैतर्फ घाट निर्माण गर्न केही ढुंगा र सिमेन्ट प्रयोग गर्नुपरेको काठमाडौँ महानगरपालिका शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले बताए । खाली जमीन तथा पैदल हिड्ने ठाउँमा सिमेन्ट प्रयोग नगरिएको उनको भनाई छ ।
पोखरीमा आकाशे पानी जम्मा गरेर पठाइने उनले बताए । पानीलाई जमेर बस्न नदिनेगरी पोखरीमा पानी भित्रिने तथा बाहिरिने व्यवस्था पनि गरिने र पोखरीको पानीलाई गुणस्तरीय बनाउने प्रविधि पनि अपनाईने उनले जानकारी दिए । उनका अनुसार करिब ७ करोडको लागतमा कमलपोखरी पुनर्निर्माण हुनेछ । महानगरले आगामी बैशाखसम्ममा सो पोखरी सर्वसाधारणको लागि खुल्ला गर्ने लक्ष्य राखेको छ ।































प्रतिक्रिया