भारतसँगका सीमानामा काँडेतार लगाउँ : नेता नेपाल

भारतसँगका सीमानामा काँडेतार लगाउँ : नेता नेपाल

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले सधैभरी विवाद गर्नु भन्दा भारतसँगको सीमानामा काँडेतार वा पर्खाल लगाउनु उपयुक्त हुने बताएका छन् ।

संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा नेता नेपालले सीमाको विषयमा सधंैभरी विवाद गर्नुभन्दा कन्ट्रोल गर्नु राम्रो हुने र त्यसका लागि काँडेतार वा पर्खाल खडा गर्नु नै उपयुक्त हुने बताएका हुन् । उनले विभिन्न ठाउँमा सीमा मिच्ने, दशगजा क्षेत्रमा बाँध बाँध्ने, सुरक्षा फौज तैनाथ गर्ने एवं सडक बनाउने काम गरिरहने भएकाले त्यसलाई रोक्न छलफल गर्नुभन्दा सीमामा काँडेतार वा पर्खाल लगाउनु पर्ने बताए ।

नेता नेपालले सरकारले नेपालको नक्सा छिट्टै प्रकाशित गर्नु पर्ने समेत बताएका छन् । नक्सामा विवाद हुँदा अनावश्यक रुपमा भारतसँग नकारात्मक भावना उत्पन्न भएको भन्दै समस्या समाधानका लागि छिट्टै छलफल चलाउन भारत तयार हुनुपर्ने बताए । यस्तै विद्यार्थीलाई पढाउने पुस्तकमा समेत नेपालको नक्सा प्रकाशित गर्ने विषयमा विवाद भएको उल्लेख गर्दै विद्यार्थीले वास्तविक नक्साको अध्ययन गर्न पाउनु पर्ने बताए । उनले सीमा र नागरिकको रक्षाका लागि सुरक्षा संयन्त्र स्थापना गर्न र विकट क्षेत्रमा कार्यरत सुरक्षाकर्मीको लागि उचित प्रबन्ध गर्नुपर्ने समेत बताए । उनले भने, ‘हाम्रो आफ्नो सम्पूर्ण भूभाग सहितको आधिकारीक नक्सा प्रकाशित गर्ने कुरामा ढिलाई गर्नु भएन र आफ्नो भूमि र नागरिकको रक्षाका लागि सीमा क्षेत्रमा सुरक्षा संयन्त्र स्थापना गर्ने र सीमाको नियमित रुपमा नियमन गर्नुप¥यो । विकट सीमा क्षेत्रहरुमा कार्यगत सुरक्षाकर्मीहरुको लागि उचित प्रबन्ध गर्नुप¥यो ।’

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमारी अर्यालले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग होइन भनेर कहिं कतै नबोलेको प्रष्टीकरण दिएकी छिन् । उनले आफू त्यो क्षेत्र नेपालको हो भन्ने सबुत प्रमाण जुटाउन महत्वपूर्ण भूमिका खेलेको व्यक्ति भएको बताइन् ।

राष्ट्रियताको सवालमा मर्न र मार्नका निम्ति तयार रहेको भन्दै कहिं कतै खुट्टा कमाउँछन कि भन्ने आशंका नगर्न समेत मन्त्री आर्यालले आग्रह गरिन् । बैठकमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सुघौली सन्धीले तय गरेको सीमा भित्रको अखण्ड नेपाल हामीले चाहेको तर विभिन्न कारण इतिहासमा भएका कमजोरीका कारण अहिले पनि समस्या रहदै आएको बताए ।

भारतले आफ्नो भूमि नभएको नक्सा प्रकाशित गर्दा समेत हाम्रो सरकारले कुटनीतिक नोट लेख्ने काम बाहेक अरु केही गर्न नसकेको सांसद भीम रावलले बताए । उनले भारतले सुघौली सन्धी मिचेर नक्सा बनाउन सक्ने तर हामीले आफ्नो भूमि भएको नक्सा प्रकाशित गर्न नसक्नुको जवाफ सरकारले दिनुपर्ने
बताए ।

सांसद उमा रेग्मीले लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका क्षेत्र नेपालको होइन भारतकै हुन भन्ने प्रकारले सरकारका मन्त्रीले नै संचार माध्यममा अभिव्यक्ति दिएको भन्दै त्यसको जवाफ पाउनु पर्ने बताइन् । उनले परराष्ट्र मन्त्री ज्ञवालीले नक्सा प्रकाशित गर्न प्राविधिक कठिनाई भएको बताएको उल्लेख गर्दै उक्त प्राविधिक समस्या के हो समितिमा जानकारी गराउन माग समेत गरिन् । सांसदहरुले नेपालको नक्सा छिट्टै प्रकाशित गर्न, कुटनीतिक पहल मात्रै नभएर स्थलगत अध्ययन सुरु गर्न र सीमा क्षेत्रको सुरक्षा व्यवस्थामा कडाई गर्न समेत माग गरेका छन् ।

Skip This
Skip This
Logo