बजेटको आकार नबढाउन कांग्रेस सांसद रिजालको सुझाव

बजेटको आकार नबढाउन कांग्रेस सांसद रिजालको सुझाव

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका छाया अर्थमन्त्री डा. मिनेन्द्र रिजालले अहिलेको अवस्थामा सरकारलाई बजेटको आकार नबढाउन सुझाव दिएका छन् ।

सरकारले कोरोना प्रभावित क्षेत्रलाई समेटेर बजेट ल्याउने तयारी गरिरहेका बेला डा. रिजालले अहिले बजेटको आकार बढाएर ल्याउनुको अर्थ नहुने बताए । कोरोना महामारीले गर्ने क्षति र त्यसपछिको अर्थतन्त्रका विषयमा अहिले नै पूर्वानुमान गर्न सक्ने अवस्था नरहेको उल्लेख गर्दै रिजालले साउनपछि पुरक अनुमान प्रस्तुत गर्न पाइने अवस्थामा अहिले बजेटको आकार नबढाउन सुझाव दिएका हुन् ।

कोरोनाका कारण स्वास्थ्य, कृषि, पर्यटन र उत्पादनका अन्य क्षेत्रमा पर्ने प्रभावका बारेमा अहिले नै अनुमान गर्न सकिने अवस्था नरहेको उनको भनाइ छ ।

नेपाली अर्थतन्त्रको अवस्था कहालीलाग्दो अवस्थामा रहेको उनले बताए । चालु आर्थिक वर्षको सुरुको ६ महिनामा पनि अर्थतन्त्र चिन्ताजनक अवस्थामा नै रहेको उनले गर्दै उनले भने, ‘‘चालु आर्थिक वर्षको बैशाख २८ गतेसम्म राजस्व ६ सय ४ अर्ब मात्रै छ । अनुदान १० अर्ब र अन्य आम्दानी ४४ अर्ब मात्रै रहेको अवस्थामा जम्मा खर्च ७ सय ४५ अर्ब रहेको छ । चालु खर्च ५ सय ५८ अर्ब, पूँजिगत १ सय १३ अर्ब र वित्तिय क्षेत्रमा ७४ अर्ब मात्रै खर्च भएको छ । यस्तो अवस्थामा कोरोना महामारीका करण लक्ष्य अनुसारको राजस्व संकलन र खर्च गर्न सकिएन भनेर सरकारले भन्न पाउँदैछ । सुरुको ६ महिनामा पनि अवस्था त्यस्तै थियो ।’’

कोरोना महामारी फैलिनुभन्दा पहिले पनि राजस्व ४ सय ५६ अर्ब मात्रै संकलन भएको उनले बताए । जसमा अनुदान १० अर्ब थियो । सुरुको ६ महिनामा खर्च जम्मा २८ प्रतिशतमात्रै गर्न सकेको डा. रिजालले बताए । राजस्व वृद्धिदर २९ प्रतिशतले गर्ने लक्ष्य सरकारले लिए पनि ६ महिना अगाडी १३ प्रतिशत मात्रै गर्न सकेको उनले बताए । संघमा मात्रै नभएर प्रदेश र स्थानीय तहमा पनि अवस्था उस्तै रहेको उनले बताए । प्रदेशको खर्च १३ प्रतिशत स्थानीय तहको ६ सय ६६ गाउँपालिका र नगरपालिकामा २३ प्रतिशत मात्रै खर्च गर्न सकेको उनले बताए ।

राष्ट्रिय गौरबका आयोजनाहरुमा पनि लक्ष्य अनुसारको खर्च हुन नसकेको उनले बताए । आर्थक वर्षमा १ सय ३ अर्ब खर्च गर्ने लक्ष्य भएपनि ६ महिनामा अघिल्लो वर्षको तुलनामा कम १९ प्रतिशत मात्रै खर्च गर्न सकिएको बताए ।

Logo