दर्ता नभएका व्यवसायले कमाउँछन् सवा दुई खर्ब

दर्ता नभएका व्यवसायले कमाउँछन् सवा दुई खर्ब

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

कानुनी रूपमा दर्ता नभए पनि सञ्चालनमा रहेका उद्योग व्यवसायले वार्षिक दुई खर्ब रुपैयाँभन्दा बढी आम्दानी गर्ने पाइएको छ । केन्द्रीय तथ्याङ्क विभागले हालै सार्वजनिक गरेको आर्थिक गणना २०७४ को प्रतिवेदन अनुसार त्यस्ता व्यवसायले दुई खर्ब ३३ अर्ब १५ करोड रुपैयाँको आम्दानी गर्ने उल्लेख छ । त्यस्तै यी व्यवसायको वार्षिक खर्च एक खर्ब ६१ अर्ब १४ करोड रुपैयाँ रहेको र नाफा करिब ७२ अर्ब रुपैयाँ पुग्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

विभागका अनुसार गणनाको क्रममा देशभर चार लाख ५८ हजार ८५७ त्यस्ता व्यवसाय दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ । सञ्चालनमा रहेका त्यस्ता प्रतिव्यवसायको आम्दानी औसतमा ५० करोड ८० लाख रुपैयाँ छ ।

दर्ता नभई सञ्चालनमा रहनेमा थोक तथा खुद्रा पसलको सङ्ख्या सबैभन्दा धेरै छ । प्रतिवेदन अनुसार देशभर दुई लाख ७८ हजार ४५२ थोक तथा खुद्रा पसल दर्ता नभई सञ्चालनमा छन्, जसको आम्दानी वार्षिक ८८ अर्ब ९६ करोड रुपैयाँ छ । यस अन्तर्गत विभागले ठूला सवारी तथा मोटरसाइकल मर्मत केन्द्रसमेत समेटेको छ ।

यसपछि आवास तथा खाद्य सेवा सम्बन्धि गतिविधि गर्ने ८२ हजार ५०१ व्यवसाय दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ । यस्ता व्यवसायले वार्षिक ६८ अर्ब ९५ करोड रुपैयाँको आम्दानी गर्छन् । देशभर ५३ हजार ३२८ उत्पादनमूलक व्यवसाय पनि दर्ता नभई सञ्चालनमा रहेको पाइएको छ, जसले वर्षभर २४ अर्ब ४३ करोड रुपैयाँ आम्दानी गर्ने प्रतिवेदनमा उल्लेख छ ।

विभागले यस अध्ययनमा औद्योगिक व्यवसायको गणना गर्दा विभिन्न १७ वटा भागमा वर्गीकरण गरेको छ । ती मध्ये विद्युत्, ग्यास र कृषि व्यवसायबाहेक बाँकी अन्य सबै व्यवसायमा सानो सङ्ख्यामा भए पनि दर्ता नभई उद्योग सञ्चालन भएको पाइएको छ । दर्ता नभएका यी सबै व्यवसायमा गरी आठ लाख १३ हजार व्यक्ति संलग्न छन् ।

आर्थिक गणनाले देशमा सञ्चालित उद्योग तथा व्यवसायले वर्षभर २९ खर्ब १६ अर्ब रुपियाँको कारोबार गर्ने देखाएको छ । गणनाले समेटेको नौ लाख ९२४ उद्योग व्यवसायले उक्त रकम बराबरको आम्दानी गर्ने प्रतिवेदनमा उल्लेख छ । यी सबै उद्योग व्यवसायमा गरेर ३१ लाख १५ हजार व्यक्ति आबद्ध छन् । गोरखापत्रबाट

Skip This
Skip This
Logo