भारतीय पक्षले नेपाली भूमिमा बाटो निर्माण गरेपछि शीर्ष नेताबाट विरोध

भारतीय पक्षले नेपाली भूमिमा बाटो निर्माण गरेपछि शीर्ष नेताबाट विरोध

केन्द्रबिन्दु
0
Shares

काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गर्दै तिब्बतमा रहेको कैलाश मानसरोवर यात्राका लागि नयाँ बाटो खोलेको छ । भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार भिडियो कन्फ्रेन्समार्फत दार्चुला लिपुलेक लिंक रोडको उद्घाटन गरेका थिए । भारतको उत्तराखण्डस्थित दार्चुला क्षेत्रको पिथौरागढबाट नेपालको दार्चुलाको गुन्जी क्षेत्रबाट लिपुलेक पुग्ने सडक मार्ग भारतले खोलेको छ जुन नेपाली भूमिबाट खोलिएको हो ।

बाटो निर्माण हुँदा सुइको समेत नपाएको नेपाल सरकार र नेपाली नेता शुक्रबार उद्घाटन भएको समाचार भारतीय मिडियामा आएसँगै जुर्मुराएका छन् । कस्ले के भने सामाजिक सञ्जालमा ?

संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले सरकारलाई बालुवाटार बाहेक अन्य नेपाली भूमि आवश्यक नभएको आरोप लगाएका छन् । उनले ट्वीटरमा भारतले नेपाली भूमि प्रयोग गरेर चीनसँग व्यापारिक नाका निर्माण गर्दा समेत नेपाल सरकार बेखवर भएको उल्लेख गरेका छन् । भारतले नेपाली भूमि मिचेर नयाँ नक्सा प्रकाशित गर्दा समेत केही गर्न नसकेकाले अहिले पनि लाटाले पापा हेरे जस्तै हुने र अरु कुनै पहल नगर्ने उनको आरोप छ ।

उनले ट्वीटरमा लेखिका छन्–‘भारतले लिपुलेक हुँदै बाटो खोलेर चीनसँग व्यापारको नयाँ नाका बनाउदा समेत नेपाल सरकार बेखबर छ । उति बेलै बलियो बन्न हिचकिचाएको यही नेपाल सरकारले अहिले के गर्न सक्ला ? लाटाले पापा हेरेर बसेको जस्तो गरेर आखिर बालुवाटार बाहेक अरू कुनै भूभाग चाहिँदैन जस्तो गरेर हुन्छ ? जनता बुझ्ने छन् ।’

त्यस्तै नेकपाका नेता भीम रावलले भारतीय पक्षले नेपाली भूमि प्रयोग गरेर बाटो निर्माण गरेको विषयमा सरकार बेखवर बनेको भन्दै सरकारको धारणा माग गरेका छन् । साथै, उनले मातृभूमि र जनताको सुरक्षा गर्नु सरकारको पहिलो दायित्व भएको स्मरण समेत गराएका छन् ।

‘नेपालको दार्चुला जिल्ला गुञ्जीबाट लिपुलेकसम्म अतिक्रमण गर्दै भारतले सडक निर्माण गरेको भन्ने दुःखद खवर छ’–उनले ट्वीटरमा लेखेका छन्–‘नेपाल सरकारको धारणा के हो ? यसरी सडक बन्दासम्म के सरकारलाई थाहा भएन ? मातृभूमी र जनताको सुरक्षा गर्नु सरकारको पहिलो दायित्व हो भन्ने सबैले बुझेकै कुरा हो । यो पनि स्मरण गरौं ।’

त्यस्तै नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतले अनधिकृत रुपमा नेपाली भूमिमा सडक बनाएको विषयमा सरकारले तत्काल कदम चाल्नुपर्ने बताएका छन् । प्रवक्ता श्रेष्ठले कोरोनाविरुद्ध लडिरहेको मौका छोपेर भारतले अतिक्रमण गरेकाले सरकारले समस्या समाधानका लागि तत्काल कदम चाल्नुपर्ने बताएका हुन् ।

‘भारतले अनधिकृत रुपमा कब्जा गरेको र आफैले समेत विवादित भनी स्विकार गरेको पश्चिम सिमा क्षेत्रको नेपाली भूमिमा सडक बनाई हिजो उद्घाटन गरेको कार्यप्रति घोर आपत्ति प्रकट गर्दै भर्त्सना गर्दछु ।’–उनले ट्वीटरमा लेखेका छन्– ‘हामी सबै कोरोना विरुद्ध लडिरहेको अवस्थामा गरिएको यो अतिक्रमणको विरुद्ध सरकारले तु कदम चालोस् ।’

त्यस्तैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले भारतीय पक्षले नेपाली भूमिबाट आफ्ना सेना फिर्ता गर्न छाडेर नेपाली भूमिमा बाटो निर्माण गर्नु भत्सनाकाे विषय भएकाे बताएका छन् । यस विषयमा सरकारले कुटनीतिक पहल गर्नुपर्ने उनको माग छ ।

‘लिम्पियाधुरा र लिपुलेक नेपाली भुमी हो । त्यहाँ रहेका भारतीय सेना फिर्ता गर्नुको सट्टा लिपुलेकसम्म बाटो बनाई यातायातको निमित्त खोलिएको तथ्य सार्वजनिक भएको छ ।’–उनले ट्वीटरमा लेखेका छन्–‘भारत सरकारको यस कार्यको भत्सर्ना गर्दछु । यसवारे नेपाल सरकारको उदासिनता खेदजनक छ । यसवारे अविलम्ब आवश्यक कदम चाल्न सरकारसंग माग गर्दछु ।’

त्यस्तै राप्रपाका अर्का अध्यक्ष पशुपति शमशेर राणाले लिपुलेख नेपाली भूमि भएकोमा कुनै विवाद नभएको भन्दै सरकारले कूटतनीतिक पहल गर्नुपर्ने उल्लेख गरेका छन् । भारतीय पक्षले नेपाली भूमिमा सडक निर्माण गरेको विषयमा सरकार बेखबर भएको भन्दै देशमा सरकार छ कि छैन भन्दै उनले प्रश्न  समेत गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्–‘लिपुलेक नेपालको हो, यसमा कुनै विवाद छैन । नेपाली भू–भाग भएर भारतले सडक निर्माण गरेको जानकारी आएको छ । नेपाल सरकार यसबारे बेखबर रहनु आश्चर्यजनक छ, सन्देहपूर्ण छ । यसबाट सरकार छ ? कहाँ छ ? भन्ने प्रश्न पुनः उब्जिएको छ । तत्काल कुटनीतिक पहल गरेर सरकारले नेपाली भूमि सुरक्षित गर्नु पर्दछ ।’

त्यस्तै नेपाली कांग्रेसका नेता गगन थापाले नेपाली भूमिमा निर्माण भएको बाटो भारतीय मिडियाबाट थाहा पाउनुपर्ने भन्दै राज्य संयन्त्र छ कि छैन ? भनेर प्रश्न गरेका छन् । उनले केही समय पहिले भारतले नेपाली भूमि समावेश गरेर नयाँ नक्सा प्रकाशित गर्दा सरकार बोल्न नसक्नुको परिणाम बाटो निर्माण भएको उल्लेख गरेका छन् । साथै, उनले अब पनि जानकारी मात्रै लिएर बस्ने की प्रतिवाद गर्ने भन्दै प्रश्न गरेका छन् ।

‘हाम्रो भूमि हुँदै सडक निर्माण गरेको कुरा भारतीय सञ्चार माध्यमबाट थाहा पाउने हाम्रो कस्तो राज्य संयन्त्र ? नक्सा प्रकरणमा सही र सशक्त प्रतिवाद गर्न चुक्दाको परिणाम हो यो ।’–उनले ट्वीटरमा लेखेका छन्–‘अब पनि जानकारी मागेर मात्रै बस्ने कि यो अतिक्रमण र मिचाहा प्रवृत्तिको प्रतिवाद गर्ने ? ।’

त्यस्तै नेकपा नेता एवं पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाली भूमिमा बाटो निर्माण ओलीको कमजोरी मात्र नभएर भारतको मिचाहा नीतिको परिणाम भएको बताएका छन् । साथै, उनले ओली नेतृत्वको कमजोरी मात्रै नभएर ओली भन्दा अगाडिको नेतृत्वको मौका परस्त दृष्टिकोण  समेत कारक भएको उल्लेख गरेका छन् ।

उनले ट्वीटरमा लेखेका छन्–‘कालापानी क्षेत्रमा रहेको सीमा विवाद ओलीको राष्ट्रवादी अडानको पुनः परिक्षण होइन । ओली अघिको हाम्रो नेतृत्वको मौका परस्त दृष्टिकोण र भारतको मिचाहा नीतिको परिणाम हो । प्रश्न ओलीको जामा रक्षाको होईन आमाको स्वाधीनता रक्षा निम्ती उनले चाल्ने कदममा नेपालीको दृढतापूर्ण साथको हो ।’

Skip This
Skip This
Logo