काभ्रे ।
काभ्रेको पाँचखाल नगरपालिकामा सुनकोशी–पाँचखाल बृहत् खानेपानी योजनाको ठेक्का प्रक्रियामा रहेको छ । योजनाको टेण्डर समयावधि सकिएपछि ठकेदार कम्पनी छनोट गर्न प्राप्त नौ प्रस्तावका कागजात एशियाली विकास बैंक (एडिबी) को मुख्यालय फिलिपिन्सको मनिला पठाइएको छ ।
नौ कम्पनीको प्रस्तावको नेपालस्थित एडिबीको कार्यालयले प्रारम्भिक प्राविधिक मूल्याङ्कन गरी पठाइएको कागजातको एडिबी मुख्यालयले अध्ययन गरिरहेको नेपाल सरकार शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजनाका उपनिर्देशक रामकुमार श्रेष्ठले बताए । उनले भने, “प्रस्तावको एडिबी मुख्यालयले अध्ययन गरिरहेको छ, मैले इमेलमार्फत फलोअप गरिरहेको छु, एक दुई हप्तामै निर्माण कम्पनी छनोट भइआउने जानकारी प्राप्त भएको छ ।” उनका अनुसार प्रस्तावकको प्राविधिक मूल्याङ्कनपछि आर्थिक मूल्याङ्कन गरी निर्माण कम्पनीको टुङ्गो लाग्नेछ ।
विश्वव्यापीरुपमा फैलिएको कोरोना सङ्क्रमणको उच्च जोखिमका कारण परियोजनाको समयावधि लम्बिने देखिएको छ । कोरोना सङ्क्रमणका उच्च जोखिमका कारण प्रक्रियामा केही ढिलाइ भए पनि ठेकेदार कम्पनी छनोट भए लगत्तै निर्माणका काम अघि बढ्ने श्रेष्ठले बताए । परियोजना दुई अर्ब २१ करोडको लागतमा दुई वर्षमा निर्माण सम्पन्न हुने लक्ष्य राखिएको थियो । योजना सम्झौताको शर्त अनुसार कूल योजनाको पाँच प्रतिशत अर्थात् ११ करोड पाँच लाख उपभोक्ताले जम्मा गरेका छन् । जस अनुसार पाँचखालका प्रतिउपभोक्ता परिवारले खानेपानी परियोजनाको बैंक खातामा रु १८ हजार जम्मा गरिसकेका हुन् ।
श्रेष्ठका अनुसार आयोजना अन्तन्तर्गत नेपालमा सञ्चालित खानेपानी योजनामध्ये पाँचखाल–सुनकोशी–पाँचखाल बृहत् खानेपानी सबैभन्दा ठूलो हो । नेपाल सरकार, नगर विकास कोष, एडिबी र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ । परियोजनाको वि.सं.०७६ भदौ १२ गते तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाको उपस्थितिमा खानेपानी आयोजना अन्तर्गत शहरी खानेपानी तथा सरसफाइ (क्षेत्रगत) आयोजना, नगर विकास कोष, पाँचखाल नगरपालिका र खानेपानी उपभोक्ताबीच सम्झौता गरिएको थियो । खानेपानीका लागि भुम्लु गाउँपालिका–१० स्थित इन्द्रावती नदी किनारमा इनार तथा लिफ्टिङ प्रविधि निर्माणका लागि सडक पुर्याउन पाँचखाल नगर कार्यालयद्वारा सर्वेको काम भइरहेको छ ।
काभ्रेका प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री बाँस्कोटाले एडिबीले निर्माण कम्पनी छनोट गरेपछि खानेपानी योजनाको काम तीव्र गतिमा अघि बढाइने बताए । उनले भने, “एडिबीले ठकेदार कम्पनी छिट्टै छनोट गर्ने जानकारी आएको छ, छनोटलगत्तै खानेपानीको काम तीव्र गतिमा अघि बढाइनेछ ।” उनले निरन्तर निर्माणले समयसीमा सम्ममा आयोजना सम्पन्न गर्ने अपेक्षा राखिएको बताए । “आयोजनाका लागि आवश्यक जनशक्ति परिचालन गरिनेछ, समयमै पाँचखालका बासिन्दालाई खानेपानीयुक्त बनाइनेछ”, बाँस्कोटाले भने । परियोजनाबाट पाँचखाल नगर क्षेत्रका करिब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् ।रासस































प्रतिक्रिया