काठमाडौं ।
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले कोभिड–१९ पीडित देशमा आर्थिक सहयोग गरेको छ । एनआरएका महासचिव डा हेमराज शर्माका अनुसार कोरोना भाइरसबाट बढी प्रभावित देशमध्येका थप पाँच देशका लागि संस्थाले आर्थिक निकासा दिएको हो ।
आर्थिक सहयोग पाउने देशमा बहराईन, स्पेन, पोर्तुगल र इटाली पाँचपाँच हजार तथा माल्टा तीन हजार अमेरिकी डलर रहेको एनआरएन, कोभिड–१९ उच्चस्तरीय समन्वय समितिका प्रेस संयोजक चिरन शर्माले जानकारी दिए । संस्थाले पहिलो चरणमा कुवेत, संयुक्त अरब इमिरेट्स, साउदी अरब र साइप्रसमा रहेका संस्थाका राष्ट्रिय समितिमार्फत आर्थिक सहयोग वितरण गरेको थियो ।
संक्रमणका कारण शनिबार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली ७३ पुगेको एनआरएनले जनाएको छ । एनआरएन, स्वास्थ्य समितिले संकलन गरेको तथ्यांक अनुसार २७ देशमा रहेका पाँच हजार २४७ गैरआवासीय नेपाली कोरोनाबाट संक्रमित छन् ।
अलपत्र नेपाली स्वदेश फर्काउने संयन्त्र बनाउन एनआरएनएको सुझाव
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) मध्यपूर्व समितिले विदेशमा अलपत्र नेपाली नागरिकलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउन सुझाएको छ । कोभिड–१९ पछि साउदी अरब, संयुक्त अरब इमिरेट्स (युएई), कतार, कुवेत, बहराइन र ओमनमा देखिएको समस्या र भविष्यमा आउन सक्ने जटिलताका विषयमा केन्द्रित मध्यपूर्व क्षेत्रको बैठकले परराष्ट्र मन्त्रालयको संलग्नतामा तत्काल विशेष समिति तयार पार्न पनि सुझाव दिएको छ ।
क्याम्पबाट निकालिएका कामदारलाई तत्काल ‘सेल्टर’को व्यवस्था गरी खान–बस्ने प्रबन्ध मिलाउनु पर्ने, रोजगार गुमाएका कामदारको तथ्याङ्क सङ्कलन गरी पुनः सोही देशमा रोजगार गरी बस्नेलाई सहजै कम्पनी परिवर्तन गर्न पाउने व्यवस्थाका लागि सम्बन्धित मुलुकलाई आग्रह गर्नुपर्ने सुझाव पनि दिइएको छ ।
बैठकले आफैँ टिकट काट्ने तथा नेपालमा क्वारेन्टाइनको खर्चसमेत बेहोर्न सक्नेको तथ्याङ्क सङ्कलन गरी उनीहरुलाई तत्काल स्वदेश फिर्ताको व्यवस्था गर्न, नेपालका होटेल, विद्यालय तथा सार्वजनिक भवनमा क्वारेन्टाइनको व्यवस्था गर्न तथा स्वदेश फर्केका नेपालीलाई कृषि क्षेत्रमा अनुदान, प्याकेज तथा सहुलियत कर्जा उपलब्ध गराई स्वरोजगार बन्ने वातावरण मिलाउन पनि आग्रह गरेको छ ।
समितिले गन्तव्य मुलुकमा अलपत्र शव नेपाल लैजाने प्रक्रिया थाल्न पनि सरकारको ध्यानाकर्षण गराएको छ । छलफलमा सहभागी प्रतिनिधिसभा सदस्य एवं अन्तर्राष्ट्रिय श्रम सङ्गठनका सदस्य बिन्दा पाण्डेले मध्यपूर्वमा रहेका नेपाली कामदारले भोग्नु परेको समस्या समाधानका लागि आफूले पहल गर्ने बताउनुभएको सङ्घले जनाएको छ ।रासस





























प्रतिक्रिया