काठमाडौं ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघले कोरोना भाइरस रोकथाम तथा उपचार कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । महासंघले बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव नारायणप्रसाद विडारीलाई सो सहयोग रकमको चेक हस्तान्तरण गरेको हो । यसका अलावा महासंघले आफ्ना जिल्ला नगर संघबाट राहत तथा उद्धार कार्यमा खर्च गर्ने गरी कुल खर्चको ४० प्रतिशत हुनेगरी २५ लाख रुपैयाँ सहयोग उपलब्ध गराएको छ । महासंघले उपलब्ध गराएको यो रकममा जिल्ला तथा नगर संघले ४० लाख थप गरी राहत तथा सहायता उपलब्ध गराउने छन् ।
विश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्देश्यले सुनचाँदी ब्यवसायी महासंघका तर्फबाट यो सहयोग उपलब्ध गराइएको महासंघका अध्यक्ष मोहनकुमार सुनारले बताए । महामारीविरुद्ध लड्न सरकारले गरेका निर्णयहरुको पूर्णरुपमा पालना गर्दै यस्तो विकराल अवस्थामा सरकारले चाल्ने प्रत्येक कदममा सुनचाँदी ब्यावसायीहरुको तर्फबाट उनले हरसम्भव सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । व्यवसायीहरुको तर्फबाट मुलुकका ६१ जिल्लाहरुमा पनि विभिन्न किसिमका आर्थिक सहयोगका राहत वितरणका कामहरु गरिँदै आएको उनले बताए ।
त्यसक्रममा महासंघका बरिष्ठ उपाध्यक्ष माणिकरत्न शाक्यले प्रकोपविरुद्ध लड्न सुनचाँदी ब्यावसायी जस्तोसुकै सहयोग गर्न पनि तयार रहेको बताए । महासंघका निवर्तमान अध्यक्ष मणिरत्न शाक्यले महामारीको यो घडिमा ब्यवसायीकातर्फबाट गरिएको सहयोगले सरकारलाई आर्थिक सहयोग मात्र नभएर आत्मबल बढाउन समेत मद्दत पुग्ने बिश्वास ब्यक्त गरे । उपाध्यक्ष पवनकुमार सोमानीले महासंघले यस्तो सहयोग आगामी दिनमा पनि जारी राख्ने बताए ।
महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले महासंघले बिश्वब्यापीरुपमा फैलिएको यस प्राकृतिक विपत्तिको समयमा केन्द्रिय राहत कोषमा १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउनुका साथै विभिन्न जिल्ला तथा नगर संघ एवं एशोसिएटस् सदस्यमार्फत राहतका कार्यक्रमहरु सञ्चालन गरिँदै आएको बताए । महासंघका कोषध्यक्ष महेन्द्ररत्न शाक्यले ब्यवसायीहरुको सहयोगबाट महामारीको रोकथाममा थोरै भए पनि सहयोग मिल्ने आशा ब्यक्त गरे ।
महासंघले यस किसिमका विपत्तिको समयमा विगतमा पनि निरन्तररुपमा सरकारलाई सहयोग गर्दै आएको छ । यस्तो बिषम परिस्थितिमा नेपाल जस्तो सानो अर्थतन्त्र भएको मुलुकमा आर्थिक रुपले निकै ठूलो असर परिरहेको छ । नेपालको सामाजिक सहिष्णुता, सरकारका उचित कदम एवं स्वास्थ्यकर्मीहरुको अथक प्रयासले हालसम्म मानवीय संकट आइसकेको छैन । यसका लागि नेपाल सरकार तथा रोगसँग जुध्न अग्रपंक्तिमा रहने चिकित्सक लगायत सम्पूर्ण स्वास्थ्यकर्मीहरुलाई नेपाल सुनचाँदी ब्यवसायी महासंघले धन्यवादसमेत दिएको छ ।
दैनिक मजदुरी गरेर खाने, अनौपचारिक क्षेत्रमा काम गर्ने तथा अन्य विविध कारणले समेत खाद्य सामग्री अभाव हुन नदिन महासंघले केन्द्र तथा प्रदेश सरकार तथा स्थानीय निकायसँग समन्वय गरि स्थानीय तहमा विभिन्न जिल्ला तथा नगर संघ एवं एशोसिएटस् सदस्यहरु मार्फत विभिन्न किसिमका खाद्यसामग्रीहरु वितरण गर्ने कार्यसमेत अगाडि बढाउन लागेको छ ।
महासंघले विपतको घडिमा अहोरात्र खटेर साथ दिने सम्पूर्ण चिकित्सक एवं स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीहरुलाई धन्यवाद समेत दिएको छ । महासंघले यसअघि ०७२ को विनासकारी भूकम्पका बेला पनि २५ लाख रुपैयाँ आर्थिक सहयोग सरकारलाई उपलब्ध गराएको थियो ।































प्रतिक्रिया