काठमाडौं ।
यतिबेला कोरोना भाइरसका कारण अधिकांश मुलुकहरु लकडाउनको अवस्थामा छन् । यस्तो अवस्थामा उद्योग, ब्यापार, व्यवसाय, पर्यटन क्षेत्र सबै पूर्ण रुपमा ठप्प छन् । विश्वको अर्थतन्त्र नै शिथिल बन्दै गइरहेको छ । यतिबेला लकडाउनका कारण विश्वका अधिकांश मानिस घरमै बस्न बाध्य छन् । अतिआवश्यक सेवामा पर्ने बैंक तथा वित्तिय संस्थाहरु पनि पूर्ण रुपमा खुलेका छैनन् । यस्तो अवस्थामा नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाहरुले पनि घरबाट डिजिटल कारोबार गर्न प्रोत्साहन गरिरहेका छन् । त्यस्तै, राष्ट्र बैंकले डिजिटल कारोबारमा छुट दिने व्यवस्थासमेत गरेको छ ।
यी माध्यमबाट गर्न सकिन्छ, डिजिटल बैंकिङ :
एटिएम मेसिन
नेपालमा एटिएम सेवाको सुरुवात भएको धेरै समय भएको छैन । तर यसले निकै कम समयमा लोकप्रियता कमाउन सफल भएको छ । एटिएममा डेबिट वा क्रेडिट कार्डको प्रयोगबाट आफ्नो खातामा रहेको पैसा निकाल्न सकिन्छ । एटिएमको प्रयोग गर्दा धेरै भीडभाडमा जानु पर्ने आवश्यकता पनि पर्दैन ।
डेबिट कार्ड
डेबिट कार्ड, बैंक कार्ड वा चेक कार्डको रुपमा पनि चिनिन्छ । यो कार्ड एक प्रकारको प्लास्टिक कार्ड हो । यसको प्रयोग गरेर एटिएम (अटोमेटेड टेलर मेसिन) बाट नगद निकाल्न र वस्तु वा सेवा खरिद गर्दा भुक्तानी गर्न सकिन्छ ।
क्रेडिट कार्ड
क्रेडिट कार्डबाट सम्बन्धित खातावालाहरुले निश्चित रकमसम्मको वस्तु तथा सेवा उधारोमा खरिद गर्न सक्छन् । खातामा पैसा नभए पनि केही निश्चित रकम उपलब्ध गराइन्छ र सो रकम पछि तिर्दै जानु पर्ने हुन्छ । तर नेपालमा यसको त्यति बढी प्रयोग गरिएको पाइदैन ।
इन्टरनेट बैंकिङ
इन्टरनेट मार्फत बैंकले उपलब्ध गराउने सेवा नै इन्टरनेट बैंकिङ हो । यस सेवाबाट ग्राहकले बैंकबाट प्राप्त हुने बैंकिङ सेवा तथा सुविधाहरु इन्टरनेट मार्फत आफ्नै कम्प्युटर वा मोबाइलबाट प्राप्त गर्न सक्छन् । यस सेवाबाट आफ्नो बैंक खातामा भएको रकम हेर्न, स्टेटमेन्ट हेर्न तथा प्रीन्ट गर्न, नयाँ चेक बुकको अनुरोध गर्न तथा हराएको चेक रोक्का गर्न र विभिन्न प्रकारका बिलहरुको भुक्तानी गर्न सकिन्छ ।
मोबाइल बैंकिङ
मोबाइल बैंकिङ आजभोलि निकै प्रचलित छ । लकडाउनको बेलामा त यो सेवा झनै प्रभावकारी सावित भएको छ । पछिल्लो समय सबै बैँक तथा वित्तीय संस्थाले मोबाइल बैकिङ संचालनमा ल्याएका छन् । मोबाइल बैंकिङको माध्यमबाट विजुलीको विल तिर्न, इन्टरनेटको बिल तिर्न, बस, केबलकार, जहाजको टिकट काट्न सकिन्छ । त्यस्तै, पैसा ट्रान्सफर गर्ने, लगायतका अन्य सेवाहरु पनि मोबाइल बैंकिङमा उपलब्ध रहेको हुन्छ । मोबाइल बैँकिङ चौबिसै घण्टा उपलब्ध हुने सेवा हो ।
मोबाइल वालेट
गोजीमा बोक्ने पर्स जस्तै अब मोबाइलमा नै वालेट बोक्न मिल्ने अवस्था भएको छ । कुनै पनि बैंकमा रहेको आफ्नो खाताबाट मोबाइल बैंकिङ वा कार्डको माध्यमबाट वालेटमा पैसा राखी अनलाइन पेमेन्ट, रिचार्ज लगायतका विभिन्न काम गर्न सकिन्छ ।
पस मेसिन
पस मेसिनको माध्यमबाट बिना नगद कारोबार गर्न सकिन्छ । पस मेशिनको माध्यमबाट दैनिक उपभोग्य सामान किन्ने पसल, डिपार्टमेन्टल स्टोरहरु, ठूलाठूला सपिङ मलहरु, होटल, सिनेमा हल लगायतमा यसको प्रयोग गरेर कारोबार गर्न सकिन्छ । यस्तो मेसिनहरु व्यापारिक केन्द्रहरुमा राखिएको हुन्छ । त्यहाँबाट ग्राहकहरुले आफ्नो डेबिट वा क्रेडिट कार्डको प्रयोगबाट रकम भुक्तानी गरी सामान तथा सेवा खरिद गर्न सकिने व्यवस्था हुन्छ ।
भाइवर बैंकिङ
अहिले अधिकांश बैंक तथा वित्तिय संस्थाहरुले भाइवर सेवा पनि संचालन गरिरहेका हुन्छन् । भाइवर प्रयोगकर्ताहरुलाई ग्राहकले भाइवर बैंकिङ्गमार्फत खातामा रहेको रकम तथा स्टेटमेन्ट हेर्न, क्रेडिट कार्ड, कर्जा सुबिधा, मुद्धती खाता लगायतका सेवाको बारेमा जानकारी लिन सक्छन् ।
अन्तर बैंक विद्युतीय भुक्तानी प्रणाली
यो बैंक तथा वित्तीय संस्थाहरुमा रहेका ग्राहकहरुले एक अर्काको खातामा भुक्तानी दिन र लिन सक्छन् । त्यस्तै, यो सेवा कारोबार फछर्यौट व्यवस्थापनका लागि सञ्चालन गरिएको भुक्तानी प्रविधि हो ।
टेलिबैंकिङ सेवा
फोनबाटै गरिने बैंकिङ कारोबार टेलिबैंकिङ हो । यस अन्तर्गत ग्राहकले फोन गरेको आधारमा खाताबाट रकम ट्रान्सफर गर्ने, निकाल्ने र राख्ने कामहरु गर्न सकिन्छ । यसले सानोतिनो कारोबार गर्न बैंकमै धाउनु पर्दैन । तर यो बैंकिङ सेवाको त्यति प्रयोग भने भएको पाइँदैन ।































प्रतिक्रिया