ताप्लेजुङ समाज नेपालको केन्द्रीय टोली राहत वितरण गर्न गृह जिल्ला प्रस्थान

ताप्लेजुङ समाज नेपालको केन्द्रीय टोली राहत वितरण गर्न गृह जिल्ला प्रस्थान

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
ताप्लेजुङ समाज नेपालको केन्द्रीय समूह राहत वितरण गर्न गृह जिल्ला ताप्लेजुङ प्रस्थान गरेकाे छ। मंगलबार केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको समितिको बैठकको निर्णय अनुसार समाजका पदाधिकारी सहयोगका लागि गृह जिल्ला प्रस्थान गरेका हुन् । समाजको केन्द्रीय कार्यसमितिमा रहेका पदाधिकारी, स्वदेश तथा विदेशबाट संकलन भएको रकम हस्तान्तरण गर्न बुधबार गृह जिल्ला गएकोे समाजका उपाध्यक्ष युवराज गुरुङले जानकारी दिए । थप सहयोग आउने क्रम पनि जारी रहेको उनको भनाइ छ ।

त्यस्तै तत्काल पीडित परिवारलाई नगद सहयोग गर्ने र आगामी दिनहरुमा विभिन्न संघ संस्थाहरुसँग समन्वय गरी भौतिक संरचना निर्माणमा समेत सहयोग गर्ने समाजका अध्यक्ष डम्बरबहादुर तुम्बाहाङेफेले जानकारी दिए । साथै, यो संस्थाको प्रारम्भिक चरणको कार्यक्रम रहेको र आगामी दिनमा पनि सहयोग गर्दै जाने उनको भनाइ छ ।

त्यस्तै नेपाल बौद्ध महायान केन्द्र गुम्बा कपनले पनि राहत सहयोग गर्ने जनाएको छ । गुम्बाले ताप्लेजुङ समाज नेपालसँग समन्वय गरेर राहत स्वरुप दैनिक उपभोग्य सामाग्री सहित लत्ता कपडा सहयोग गर्न लागेको गुम्बाका सञ्चालक जिग्डोल लामाले जानकारी दिए ।

संस्थाको कुम्भकर्ण आपतकालिन कोष मार्फत सहयोग गर्ने निर्णय भएको समाजले जनाएको छ । ताप्लेजुङको सदमुकाम फुङ्लिङस्थित ट्याक्सी स्टेसन छेउमा गत शुक्रबार राति आगलागी हुँदा ८ घर जलेर नष्ट भएका थिए । आगोलागीमा व्यापार व्यवसाय गर्ने र घरमा बस्दै आएका ३७ परिवार विस्थापित भएका थिए । आगलागीबाट ७ करोड ३५ लाख रुपैयाँ बराबरको क्षति भएको जनाईएको छ । यसमा संघ संस्थाको मात्रै १८ लाख ४७ हजार रुपैयाँ बराबरको क्षति भएको उल्लेख गरिएकाे छ । यस अभियानमा सहयोग गर्न चाहानेहरुले ताप्लेजुङ समाजको प्राइम बैंकको खाता नम्बर ०१८०२७६६ मा समेत रकम जम्मा गर्न सकिने समाजले जनाएको छ ।

त्यस्तैगरी समाजले विज्ञप्तिमार्फत भिषण आगलागीबाट क्षति भएका घर र ती घरहरुमा विभिन्न पेशा व्यावसाय गर्दै आएका दर्जनौ विस्थापित परिवारप्रति दुःख समेत व्यक्त गरेको छ ।

Skip This
Skip This
Logo