काठमाडौं ।
लकडाउनमा उद्योग व्यवसाय बन्द हुँदा विद्युत् माग घटेको छ । उत्पादित विद्युत् खेर जाने अवस्था आएपछि सरकारी र निजी क्षेत्रका आयोजना कम क्षमतामा सञ्चालन भइरहेका छन् । भारतसँग इनर्जी बैंकिङ र अन्तरदेशीय विद्युत् व्यापारमा ढिलाइ भए भविष्यमा यस्तो समस्या दोहोरिने सरोकारवालाको चिन्ता छ ।
लकडाउन अघि दैनिक पिक डिमान्ड १ हजार १ सय मेगावाट हुने गरेकोमा अहिले ७ सय मेगावाट हाराहारीमा झरेको छ । विद्युत् खपत हुने अवस्था नहुँदा निजी क्षेत्र र प्राधिकरण अन्तर्गतका आयोजना कम क्षमतामा चलाइएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । रातिमा विद्युत् माग झन् ४ सय ५० मेगावाट हाराहारीमा छ ।
‘अहिले पिकिङ रन अफ रिभर आयोजनालाई बन्द गरेर भए पनि ऊर्जा खेर नजाने अवस्था गरिएको छ । लकडाउन लम्बियो भने खेर जाने ऊर्जा थप बढ्छ,’ घिसिङले भने, ‘लकडाउन खुला भए पनि होटल नखुल्ने भएकाले पोहोरको जस्तो विद्युत् माग हुँँदैन ।’
विद्युत् खपत नभएर आयोजना पूर्ण क्षमतामा सञ्चालन नहुँदा निजी क्षेत्रका ऊर्जा उत्पादकहरूले आफ्नो आम्दानी गुमाइरहेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का अध्यक्ष शैलेन्द्र गुरागाईं बताउँछन् । वर्षा जस्तै पानी परिरहेको अहिले निजी क्षेत्रबाट ५ सय मेगावाट उत्पादन हुन सक्थ्यो । तर अहिले ३ सय मेगावाट मात्रै उत्पादन गरिएको छ । विद्युत् खपत बढाउन सरकारले बढी विद्युत् खपत गर्ने उद्योग सञ्चालन गर्न दिनुपर्ने उनको तर्क छ ।
आगामी दिनमा यस्तो अवस्था आउन नदिन सरकारले विद्युतको बजार खोजी गर्नुपर्ने उनको सुझाव छ । ‘सरकारले भारतसँग गर्ने भनेको इनर्जी बैंकिङ, भारतीय पावर एक्सचेन्जमा विद्युत् बिक्री गर्ने भने पनि कार्यान्वयन भएको छैन,’ गुरागाईं भन्छन्, ‘सरकारले समयमै क्षेत्रीय बजारमा पनि विद्युत् बिक्री गर्ने विकल्प नखोजे भविष्यमा यस्तै समस्या दोहोरिरहन्छ ।’
निर्माणाधीन आयोजना सम्पन्न भएपछि व्यवस्थापनका लागि अन्तरदेशीय विद्युत् व्यापार र इनर्जी बैंकिङ नभई नहुने उनको बुझाइ छ । ‘सरकारले सक्दैन भने निजी क्षेत्रलाई दिनुपर्छ,’ उनी भन्छन्, ‘हामी बंगलादेशसम्म विद्युत् व्यापारका लागि तयारी अवस्थामा छौं ।’ नेपालमा विद्युत् खेर गए भारत पठाउने र आफूलाई आवश्यक पर्दा पुनः ल्याउने गरी इनर्जी बैंकिङका लागि दुवै देश सैद्धान्तिक रूपमा सहमत भए पनि भारतीय पक्षको ढिलासुस्तीका कारण कार्यान्वयन हुन सकेको छैन ।कान्तिपुरबाट































प्रतिक्रिया