काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले दुर्घटनामा आँखा गुमाएकी महिला फुटबलर समीक्षा थापा मगरको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । प्रारम्भिक रुपमा २५ हजार रुपैयाँ उपलब्ध गराएको एन्फाले अहिले समीक्षाको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने निर्णय गरेको हो ।
दुर्घटनाको खबर प्राप्त हुने बित्तिकै एन्फाले सुरुआतमै २५ हजार रुपैयाँ सहयोग गरेको थियो । पारिवारिक अवस्था कमजोर भएका कारण संघले उपचार खर्च व्यहोर्ने जनाइएको छ । वैशाख १२ गते उदयपुरस्थित घरको खेतमा काम गर्ने क्रममा ढुङ्गाले लागेर समीक्षाले दाँया आँखा गुमाएकी थिइन् । अहिले उनको विराटनगरस्थित आँखा अस्पतालमा उपचार भईरहेको छ । आँखामा संक्रमण फैलिएकाले तत्काल शल्यक्रिया सम्भव नभएको चिकित्सकले बताएका छन् ।
संक्रमण नियन्त्रणमा आएपछि शल्यक्रिया हुने चिकित्सकले जानकारी दिए । एन्फाले उपचारमा संवेदनशिल रहेको बताउँदै आवश्यक पर्ने सबै सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । फुटवल खेलाडी समीक्षालाई व्यक्तिगत तथा संस्थागत रुपमा समेत सहयोग आउने क्रम जारी छ । यसअघि समीक्षाको उपचारमा एन्फा सहित विराट सांग्रिला क्लब, राष्ट्रिय महिला तथा पुरुष टिम र मनाङ मस्र्याङ्दी फुटबल क्लब लगायतले आर्थिक सहयोग गरेका थिए ।































प्रतिक्रिया