काठमाडौं ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसले विश्वलाई आतंकित बनाएको छ । यसले मानिसमा सन्त्रासदेखि विश्व अर्थतन्त्रमा समेत सङकट निम्त्याएको छ ।
यतिबेला विश्वका अधिकांश मुलुकहरु रोगबाट जनतालाई बचाउनका लागि लकडाउनमा छन् । लकडाउनले गर्दा विश्वका विकसित मुलकका ठूलाठूला उद्योगधन्दा, कलकारखाना तथा आर्थिक गतिविधि ठप्प रहेका छन् । यसको असर नेपालमा प्रत्यक्ष रुपमा परेको छ । नेपाल कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि गत चैत ११ गतेदेखि बैशाख २५ गतेसम्म लकडाउनमा छ।
लकडाउनको असरले यतिबेला अन्तर्राष्ट्रिय बजारमा डलरको भाउ पनि बढेर उच्च विन्दुमा पुगेको छ भने विश्व इतिहासमा पहिले पटक अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य पनि उच्च बिन्दुमा नै पुगेको छ। नेपालमा लकडाउनको समस्याले मासिक रुपमा सुनचाँदी व्यवसायमा मात्रै ५ अर्ब ४० करोड रुपैयाँ बराबर घाटा भएको सुनचाँदी व्यवसायी तथा नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले बताए । उनका अनुसार नेपालमा बार्षिकरुपमा ६० अर्बको कारोबार हुने गरेको छ भने मासिक रुपमा ५ अर्बको कारोबार हुने गरेको छ । यसमा करिब ४० करोड राजस्व गरेर मासिक रुपमा ५ अर्ब ४० करोड नोक्सानी हुने उनले बताए ।
उनले भने, ‘यो परिस्थिति नेपालमा मात्रै नभएर अन्तर्राष्ट्रियस्तरमा नै भएकाले पहिलो प्राथमिकता स्वास्थ्य भएकाले व्यवसाय बन्द गरेर बसेका छौं। व्यवसायमा ठूलो सङकट पैदा भएकाले व्यवसाय धरासायी बन्ने देखिएको छ।’
अब लकडाउन खुलेको खण्डमा पनि मानिसहरु सुनचाँदीमा भन्दा पनि अन्य आवश्यकता पूरा गर्न लाग्ने भएकाले सुनचाँदीको माग घट्ने देखिएको छ। यसले गर्दा बजारमा माग कम हुँदै जाँदा घरभाडामा लिएर, बैंकसँग ऋण लिएर व्यवसाय गरिरहेका व्यवसायीहरु अत्यन्तै चिन्तित रहेका उनको भनाइ छ । सरकारले प्रति १० ग्राम ६ हजार ५ सय अर्थात् प्रतितोला ७ हजार ५ सय ८१ रुपैयाँ ६० पैसाको दरले राजस्व लिने गरेको छ । सो अनुसार एक किलोमा ६ लाख ५० हजार राजस्व उठाउने गरेको छ।
लकडाउनले गर्दा सुनचाँदी क्षेत्र मात्रै नभइ नेपालको आर्थिक कारोबारमा नै नकारात्मक असर पर्दै गएको शाक्यले बताए । अब कोरोनाको असरले विश्व अर्थतन्त्रमा पारेको असरका बारेमा विश्व अर्थशास्त्री तथा विभिन्न मुलुकले लिएको अर्थ नितिका आधारमा मात्रै अबको सुनचाँदी व्यवसाय तथा विश्व अर्थतन्त्रको नयाँ बाटो अपनाउन सकिने पूर्वअध्यक्ष शाक्यको भनाइ छ। अहिले सुनचाँदी व्यवसायमा व्यवसायीदेखि यस क्षेत्रका मजदूरको रोजगारी पनि सङकटमा परेको छ। नेपालभर २१ हजार व्यवसायीहरू आधिकारिक रुपमा दर्ता भएर विभिन्न सुनचाँदीका महासंघहरूमा आवद्ध रहेका छन् । व्यवसायी र कालिगढलाई मात्र नोक्सानी नभई अहिले राज्यलाई समेत राजश्व घाटा भएको छ ।
लकडाउनकै कारण कतिपय भारतीय कालिगढहरू स्वदेश फिर्ता भइसकेका छन् भने केही मात्रामा नेपालमा नै बन्द कोठाभित्र बस्न बाध्य छन् । विशेषगरी बैशाख र जेठ महिना भनेको विवाहको लगनको महिना भएकाले पनि यतिबेला सुन बढी खपत हुने समय रहेको थियो तर कोरोनाको सन्त्रासले सबै तहसनहस भएको छ।
व्यवसायीलाई बैंकको ब्याजको चिन्ता
मंशिर महिना जस्तै वैशाख महिनाको लगनको लागि व्यवसायीहरुले सुनको पूर्व तयारी गर्न बैंकबाट ऋण लिएर सुनमा लगानी गरेका थिए । तर लामो समयसम्म भएको लकडाउनका कारण व्यवसाय ठप्प हुँदा व्यवसायीलाई बैंकको ऋण र साहुको ऋणकै चिन्ता हुन थालेको तथा व्याज कसरी तिर्ने भन्ने चिन्ताले सताउने गरेको व्यवसायीको भनाइ छ।
२ लाख कालिगढको रोजीरोटी सङकटमा
सुनचाँदी व्यवसायक्षेत्रमा काम गर्ने २ लाख कालिगड रहेका छन् । उनीहरुले सुनचाँदीका सामान बनाएर नै जिविकोर्पाजन गरिरहेका छन् । तर लकडाउनले गर्दा सुनचाँदीको व्यवसाय नै ठप्प रहेकाले अहिले काम छैन । लकडाउन पनि लम्बिदै जाँदा जीविकोपार्जन गर्ने नेपाली तथा भारतीय कालिगढलाई छाक टार्नसमेत हम्मेहम्मे परेको छ । पर्याप्त पूँजी हुने र रासनको जोहो गरिसकेकालाई कालिगढको विषयमा केही सरोकार नरहे पनि नेपाली सुनचाँदी क्षेत्रलाई आफ्नो कर्म सम्झेर कार्य गरिरहेका देशभरका कालिगढहरूलाई भने सकस परेको छ ।
सरकारले सुनचाँदी क्षेत्रमा काम गर्ने कालिगढलाई पनि केही राहतको व्यवस्था गर्नु पर्ने माग भइरहेको छ। सरकारले अब सुनचाँदी क्षेत्रलाई समेत समेटेर व्यवसायलाई जिवित राख्न सक्ने गरि नीति बनाउनु पर्ने व्यवसायीको माग छ।































प्रतिक्रिया