काठमाडौं ।
नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले कोरोना भाइरसका कारण सिर्जित वर्तमान सङ्कटको अवस्थामा पार्टीगत र राजनीतिक स्वार्थभन्दा माथि उठेर एकताबद्ध ढङ्गले जनताको स्वास्थ्य र समस्या समाधानमा लाग्न सबैलाई अपिल गरेका छन् ।
भिडियो सन्देश मार्फत् आज उनले सो भाइरसको जोखिम हुन नदिन लकडाउन जारी रहदा दैनिक ज्यालादारी गर्ने मजदूर, श्रमिक, निम्न आय भएका व्यक्ति, गर्भवती महिला र अन्य दीर्घ बिरामीले भोग्नुपरेका समस्याले आफूलाई चिन्तित बनाएको उल्लेख गरेका छन् ।
महामन्त्री डा. कोइरालाले सिमानामा अड्केका तथा विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा समेत व्यक्तिगतरूपमा र कांग्रेस पार्टीका तर्फबाट पटक–पटक सरकारलाई ध्यानाकर्षण गराएको अपिलमा जनाएका छन् ।
लाखौं लाख जनताको ज्यान जोखिममा भएको यस सङ्कटको बेला कुनै पनि विभाजनको रेखा कोर्नु मुर्खता मात्र होइन जनताप्रतिको धोकाधडी भएको बताउँदै उनले सङ्कटको समयमा अग्रभागमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीलाई आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट धन्यवाद दिएका छन् । “म आफैँ पनि चिकित्सक भएका नाताले उहाँहरुको काम कति चुनौतीपूर्ण छ भनेर बुझ्न सक्छु । त्यसैले यसमा स्वास्थ्यकर्मीलाई सहयोग र सम्मान गर्न सबैलाई आग्रह गर्दछु”, महामन्त्री डा कोइरालाले भनेका छन् ।
साथै उनले मुस्लिम समुदायको रमजान पर्वका अवसरमा शुभकामना दिँदै वर्तमान विषम परिस्थितिमा घरमै बसेर नमाज पढ्न र भीडभाड नगरिदन आग्रहसमेत गरेका छन् । भिडियो सन्देशमा उनले कारोना भाइरसको सङ्क्रमणका जोखिम र त्यसबाट बच्ने उपायका बारेमा जानकारी गराएका छन् ।रासस































प्रतिक्रिया