काठमाडौं ।
कोरोना भाइरस (कोभिड-१९) संक्रमणको नियन्त्रण तथा रोकथामको लागि नेपालमा गत चैत ११ गतेदेखि बैशाख २५ गतेसम्मका लागि लकडाउन रहेको छ। यतिबेला नेपाल मात्र नभइ विश्वका अधिकांश देश लकडाउनमा रहेका छन् । यसरी लकडाउन हुँदा विश्व अर्थतन्त्र ठूलो सङकटमा परको छ।
यसको प्रत्यक्ष असर नेपालको अर्थतन्त्रमा पनि परेको छ। कोरोनाको संक्रमण बढ्न नदिनको लागि लकडाउन अनिवार्य रहेको भन्दै सरकारले सर्वसाधारणलाई हिड्डुल गर्न रोक लगाएको छ । यसले गर्दा मानिसको दैनिक जीवनयापनमा समेत असर परेको छ । तर लकडाउन भएकाले घरमा बस्नुको विकल्प पनि छैन । यति बेला प्रायः सबै मानिसहरू घरभित्रै बसिरहेका छन् । लकडाउनले गर्दा देशका साना ठूला उद्योग, कलकारखाना , पसल तथा सुपरमार्केटहरु ठप्प रहेका छन् ।
यस्तो बेला पनि मानिसलाई दैनिक उपभोग्य वस्तु आवश्यकता पर्ने गर्छ । मानिसहरु घरभित्रै बसेपनि खाने, लगाउने जस्ता मानवीय क्रियाकलाप जरुरी पर्छ । त्यस्तै, दैनिक उपभोग्य र अत्यावश्यक वस्तुको आपूर्तिका लागि परम्परागत व्यापार प्रणाली अनुसार पसल र सुपरमार्केटहरु बन्द भएकाले यसको विकल्पको रुपमा घरमा नै बसेर डिजिटल प्रविधि अनलाइन सपिङतर्फ उपभोक्ताको आर्कषण बढेको देखिएको छ।
नेपालमा डिजिटलमार्फत अनलाइन सपिङ्ग चार पाँच वर्ष अघिदेखि बढ्दै गएको छ । तर विकसित मुलुकमा एक दशकभन्दा अगाडिदेखि प्रचलन रहेको थियो भने अब नेपाली बजारमा पनि यसको प्रभाव र सम्भावना बढेको व्यवसायीहरुले बताएका छन् । विगत केही वर्षदेखि सञ्चालनमा रहेका सपिङ साइटहरुले देश लकडाउन हुनु भन्दा पहिला पनि सेवा संचालन गर्दै आएका र अहिले कोरोनाको संक्रमण पछि केही साइटहरु पनि बढ्ने क्रममा छन् ।
इन्टरनेटको पहुँचमा रहेका उपभोक्ताले पछिल्लो समय अनलाइनबाट नै सपिङ्ग गर्ने गरेका छन् । तर, यो लकडाउनपछि त झन अनलाइन सपिङ्ग गर्ने उपभोक्ता बढेका छन् । यस्ता अनलाइन सपिङ्ग साइटहरुले दैनिक उपभोग्य र अत्यावश्यक वस्तु तथा सेवाको विक्रीसमेत गरिरहेका छन् ।
सरकारले आर्थिक वर्ष २०७६/७७ देखि डिजिटल पेमेन्टलाई प्राथामिकता दिदै आएको छ । यसरी अनलाइन सपिङ्ग बढिरहेकाले पनि अनलाइन सपिङको भुक्तानीका लागि इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङको प्रयोगले धेरै सहजता प्रदान गरेको छ ।
लकडाउनपछि नेपाल राष्ट्र बैंकले अनलाइन बैंकिङ र मोबाइल बैंकिङको प्रयोगलाई बढावा दिएर अनलाइन बैकिङ प्रयोग गर्दा कुनै पनि शुल्क नलाग्ने गरि बैंक वित्तीय संस्थाहरुले यस्तो सेवा प्रवाहमा विशेष ध्यान दिएका छन् । अब यसरी अनलाइन सपिङ्ग मार्फत आवश्यकताका वस्तु घरमा नै आउने भएपछि उपभोक्ताको पनि अनलाइन सपिङ्गमा ध्यान गएको छ । अझ नेपाल राष्ट्र बैंकले नीतिगत व्यवस्था गरेर बैंक तथा वित्तीय संस्थाहरुले पनि इन्टरनेट बैंकिङ र मोबाइल बैंकिङमा विशेष सुविधा र सहुलियत प्रदान गरेकाले पनि यसमा सहज भएको छ।
लकडाउनपछि सरकारी कम्पनीमार्फत जनतालाई सहज आपूर्ति ब्यवस्थापन गर्न अनलाइन सपिङ्गको व्यवस्था गरेको छ भने लकडाउनपछि विगतदेखि अनलाइन गर्दै आएका भन्दा पनि भाटभटेनी सुपरमार्केट, विगमार्ट तथा प्रतिष्ठित ठूला होटलले समेत परम्परागतदेखि स्थापित व्यापार छाडेर अनलाइन व्यापारको सेवा प्रदान गरेर अनलाइन व्यापारतर्फ आकर्षित बनेका छन् । यसको प्रभाव यति बेला नेपाल लगायत बिश्व बजारमा पनि बढेको छ।
खाद्यान्न व्यापार गर्ने सरकारको पूर्ण स्वामित्व रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले पनि कोरोनाको कारणले घरमा नै बसेका सर्वसाधारणहरुलाई अनलाइन व्यापारको माध्यमबाट घरमा नै खाद्यान्न पुर्याउन सुरु गरिसकेको छ । योसँगै अब अनलाइन व्यापारमा निजी क्षेत्र मात्रै नभइ सरकारी स्वामित्वमा रहेका कम्पनी पनि आइसकेका छन् । तर, सरकारले सरकारी स्वामित्व कम्पनीबाट सुरु गरेको अनलाइन सपिङ्ग सामान्य सर्वसाधारण जनताको भने पहुँच भन्दा बाहिर भएको राष्ट्रिय उपभोक्ता हित संरक्षण मञ्चका उपमहासचिव विष्णु तिमल्सिनाले बताए ।
उनका अनुसार पछिल्लो समय बढ्दो आधुनिक प्रविधिको प्रयोगलाई आत्मसात गरेर अगाडि बढ्नु राम्रो भएको तर नेपालमा अनलाइन व्यापारका लागि कानुनी मापदण्ड नभएकाले यसबाट उपभोक्ता ठगिने गरेका छन् । उनले भने, ‘कोरोनापछि अझ अनलाइन व्यापार बढेको छ तर यसलाई सरकारले निश्चित कानुनी मापदण्ड बनाएर खुल्ला गर्दा मात्रै राम्रो हुने नत्र निजी व्यवसायीलाई मात्रै फाइदा हुने तर उपभोक्ता ठगिरहन्छन् ।’
पछिल्लो समय अनलाइन व्यापार बढ्दै गएकाले यसलाई व्यवस्थित बनाउनको लागि अनलाइन व्यापारको कानुन बनाउने प्रक्रियामा रहेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निर्देशक रविन्द्र आचार्यले बताए । अनलाइन व्यापार भइरहेको र यसको व्यापारमा धेरै समस्या देखिएको छ यी समस्या हल गर्नको लागि हामीसँग कानुनको अभाव रहेको र अब चाँडै कानुन बनाएर अनलाइन व्यापारलाई व्यस्थित बनाउने उनको भनाइ छ।
पछिल्लो समयमा नेपालमा व्यापक रुपमा स्मार्ट फोनको प्रयोग बढेको र इन्टरनेटको मूल्य पनि उपभोक्ताको पहुँचमा रहेकाले अनलाइन व्यापारतर्फ उपभोक्तालाई थप सहजता भएको छ। नेपालमा विगतदेखि अनलाइन व्यापार गर्दै आएको पहिलो अनलाइन दराज डटकम रहेको छ। यसले नेपालमा पहिलो अनलाइन सेवा व्यसायिकरुपमा सुचारु गरेको थियो । लकडाउनपछि यसले बिगमार्टसँगको सहकार्यमा १५ सय रुपैयाँभन्दा माथिको सामग्रीहरुको अर्डर लिएर सेवा दिइरहेको छ। अहिले बजारमा भाटभटेनी सुपरमार्केट, सेल्सबेरि, फुडमाण्डु डटकम, जिभि एप, ईजिकेयर डटकमले अनलाइन मार्फत सामान बिक्रि गरिरहेका छन् । तर, यी अनलाइन सपिङ्गमा उपभोक्ता आफैं सजक हुनु पर्ने मञ्चका उपमहासचिव तिमल्सिनाले बताए । पछिल्लो समय अनलाइन सपिङ्गमा उपभोक्ताले गुणस्तरहिन सामान बढि मूल्य तिरेर ठगिने गरेको पनि पाइएकाले आफैं सजक हुनु पर्ने उनले बताए ।
लकडाउनपछि अन्य दैनिक उपभोग्य वस्तु मात्र नभइ होटलहरुले पनि अनलाइन व्यापार गर्दै आएका छन् । मङगलबारदेखि काठमाडौंको नयाँ बानेश्वरमा रहेको पाँच तारे होटल ‘द एभरेष्ट होटल’ले यो लकडाउनको अवधिमा अनलाइन डेलिभरी सुरु गरेको छ । होटल बन्द भए पनि अनलाइनमार्फत खानाको होम डेलिभरी सुविधा भने सुचारु गरेको होटलले जनाएको छ ।
होटलले आफ्नो फेसबुक पेजमा मेनु सार्वजनिक गर्दै होम डेलिभरीको सुविधा सुरु गरिएको जनाएको हो । मेनु अनुसार नेपाली खाना, विरयानी र इन्डीयन खानाहरु लगायतका अर्डर गर्न सकिनेछ । ०७२ सालको भूकम्पपछि बन्द भएको एभरेष्ट होटल केहि महिनादेखी मात्र सञ्चालनमा आएको थियो ।































प्रतिक्रिया