काठमाडौं ।
नेपाल चेम्बर्स अफ कमर्शले कोरोनाका कारण मुलुकको अर्थतन्त्रमा परेको प्रभाव सम्बन्धमा सरकारलाई सुझाव दिएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट विश्वपर्यटन गम्भीर रुपले प्रभावित भएकाले चेम्बरले सुझाव दिएको हो । कोरोनाका कारण समग्र उद्योग व्यवसाय, रोजगारी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा प्रतिकूल प्रभाव पारेको चेम्बरको भनाइ छ । चेम्बरले कोरोनाका कारण पर्यटन, सेवा व्यवसाय, नागरिक उड्डयन लगायतका क्षेत्र बढी मात्रामा प्रभावित भएको जनाएको छ । यस्ता छन् चेम्बरका सुझाव :
पर्यटन प्रबर्धन तर्फ :
१.आन्तरिक पर्यटनतर्फ कोरोनाको प्रभाव कम हुने वित्तिकै अघि बढाउनु आवश्यक छ र यसका लागि सरकारले अनिवार्य रुपमा वर्षको एक पटक निजामती तथा संगठित संस्थाका कर्मचारीहरु र आम नागरिकहरुलाई प्रोत्साहन प्याकेजसहित आन्तरिक भ्रमणको लागि प्रेरित गर्न र निजी क्षेत्रलाई पनि प्याकेजहरु मार्फत केही छुट दिएर आन्तरिक पर्यटन प्रबर्धन गर्ने वातावरण बनाउनु पर्छ ।
२. हाल चीनमा कोरोनाको प्रकोप क्रमशः नियन्त्रण हुंदै गएको सन्दर्भमा आउँदो सेप्टेम्बर–अक्टोबर महिनामा सुरु हुने पर्यटकीय सिजनमा चीनका बिभिन्न शहरबाट पर्यटक भित्र्याउनेतर्फ सरकारी स्तरमै पहल गरिनु पर्ने ।
३. नेपाल एयरलाइन्स, हिमालयन एयरलाइन्स र चाइनिज एयर लाइन्सहरुले चीनको बिभिन्न शहरबाट प्रतिस्पर्धी प्याकेजमा पर्यटकहरु भित्र्याउनेतर्फ पहल गरिनु पर्ने ।
४. पर्यटन प्रवद्र्धन गर्न निजी क्षेत्रले पनि होटल लगायत अन्य पर्यटकीय सुबिधा प्रदान गर्न सुनिश्चितता प्रदान गर्ने गरी अधिकतम पर्यटक ल्याउने गरी तयारी गरिनु पर्छ ।
५. पर्यटन क्षेत्रमा डिसइन्फेक्सनलाई पहिलो प्राथमिकतामा राखि अनिवार्य गर्ने तथा कडाइका साथ अनुगमन समेत गर्ने । हवाईजहाज, बस, कारसहित बास बस्ने स्थान होटल, रिसोर्ट, होमस्टे, रेस्टुरेन्ट तथा विमानस्थल, बसस्टप, टिकट तथा चेकइन काउन्टर, संग्रहालय, र्याफ्टिङ–बन्जी–प्याराग्लाइडिङ–साइक्लिङ–बोटिङ–हात्तीसफारी लगायतका पर्यटकीय क्षेत्र र साधनमा नियमित रुपले डिसइन्फेक्ट गर्नु पर्ने र यसबाट सुरक्षाको महशुस गराउन सकिने ।
६. सबैभन्दा बढी प्रभावित होटल तथा एयर लाइन्सहरुलाई वित्तीय प्याकेजमार्फत उद्धार गरिनु पर्ने । ऋण, ऋणको ग्यारेण्टी, कर्पोरेट बोर्डमा सरकार वा राष्ट्र वैंकबाट टेवा दिनु पर्ने । कर छुट तथा एयरपोर्ट चार्ज लगायतमा सुविधासहित वित्तीय सहयोग प्रदान गर्नु पर्ने ।
७. भ्रमण वर्ष सचिवालय खारेज भइसकेको सन्दर्भमा पर्यटनमा लामो समयदेखि अनुभव र विज्ञता राखेका व्यक्तित्वहरूलाई सम्मिलित गराई पर्यटन पुनरुत्थानका लागि संयन्त्र बनाउने । यसले पर्यटन रिभाइवलको योजना तथा कार्यक्रम बनाउने, मन्त्रालय र मन्त्रालय अन्तर्गतका मुख्य निकायहरूका लागि थिंक ट्यांकको काम गर्ने र अन्य मुख्य सरोकारवाला निकायहरूसँग प्रभावकारी समन्वय गर्ने, अन्तर्राष्ट्रिय नेटवर्कलाई उपयोग गर्ने र २०२२ सम्म ‘रिभाइवल’का लागि विशेष कार्यक्रमहरू बनाइ कार्यान्वयन गर्ने र छिटो भन्दा छिटो पर्यटन पुनरुत्थान गर्नका लागि सक्रिय भूमिका खेल्ने ।
८.कोरोना भाइरसको प्रकोपको कारण पूर्वीय संस्कृतिबारे खास गरेर योग लगायतका सम्बन्धमा पश्चिमी मुलुकमा धेरै नै चासो बढेको र नेपाल सांस्कृतिक तथा धार्मिक कारणले नेपालको आफ्नै गरिमा भएको हुँदा यसको प्रबर्धन गर्न सकिएमा पश्चिमी पर्यटकको संख्या वृद्धि हुने भएकोले यसतर्फ पहल गरिनु पर्ने ।
९. मेडिकल टुरिजम, होम स्टे एग्रो टुरिजम, कल्चरल टुरिजम लगायत विधागत पर्यटन प्रबर्धनका लागि ठोस कार्यक्रम ल्याउने ।
हवाइ सेवातर्फ :
१.आइसीएओ तथा अन्य मुलुकका हवाई सेवा प्रदायकसँग सम्पर्क गरी वायुसेवा उडान कहिलेदेखि सुरक्षित रुपमा संचालन गर्न सकिने सो बारेमा छलफल गरी नेपाल वायु सेवा निगमलाई समेत संचालन गर्न पाइला चाल्नु पर्ने ।
२.पर्यटक चाप घटेको यो बेलामा पर्यटन पूर्वाधारको निर्माणलाई तिव्रता दिइनुपर्छ । राष्ट्रिय महत्वका भैरहवा र पोखरा विमानस्थल निर्माणलाई तिव्रता, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आधुनिकीकरण तथा सौन्दर्यीकरण, अन्य विमानस्थलको स्तरोन्नति, पदमार्गहरुको मर्मत सम्भार लगायतका काम यही बेला गर्न सके आन्तरिक रोजगारी सिर्जना हुने तथा भविष्यका लागि पनि राम्रो तयारी गर्न सकिन्छ । निजी क्षेत्रबाट पूर्वाधार निर्माणका लागि राज्यले प्रोत्साहन मूलक प्याकेज ल्याउन सकिने ।
३. हवाई उड्डयनतर्फ ऋण दिन बित्तिय संस्था हिच्किचाउने हुँदा ऋण, ऋणको ग्यारेण्टी, कर्पाेरेट बोण्डमा सरकार वा राष्ट्र बैंकबाट टेवा दिनु पर्ने । कर छुट लगायत बित्तिय सहयोग प्रदान गर्नु पर्ने, साथसाथै अन्तर्राष्ट्रिय बजारमा तेलको भाउ घटेकोले हवाइ भाडा दर पनि घटाइनु पर्ने ।
४.अहिलेको बिषम परिस्थितिमा हवाइ यात्रुहरुको डिपार्चर अगाडी अनिवार्य रुपमा कोरोना परिक्षण गरिएको हुनु पर्ने ।
५.हाल सिमित पाटपूर्जामा मात्र दिईंदै आईएको मू.अ.क. छुट वायूयानका सम्पूर्ण पार्टपूर्जाहरुमा उपलब्ध हुनु पर्ने ।
६. देशमा पुनर्विमाको सुविधा नगन्य मात्र उपलब्ध भएकोले हवाई विमामा लगाउँदै आईएको मू.अ.क. र अग्रिम कर छुट हुनुपर्ने, हालको परिस्थितिमा कम्तिमा ग्राउन्डेड जहाजको विमाको सम्पूर्ण व्यवस्था नेपाल पुनर्विमा कम्पनीबाट सहुलियत दरमा हुनुपर्ने ।
७. नेपाल आयल निगमले हाल माग्दै आएको नगद धरौटीको सट्टा बैंक ग्यारेण्टीको व्यवस्था गरी हाल लिएको नगद धरौटी फिर्ता गर्ने व्यवस्था हुनु पर्ने । तथा राष्ट्रिय महत्वका स्मारक र विश्व सम्पदा सूचिमा परेका स्थलको विशेष संरक्षण गर्नुपर्ने ।































प्रतिक्रिया