नयाँ दिल्ली ।
भारतमा गएको २४ घण्टायता एक हजार ९ सय ७५ कोरोना भाइरसका नयाँ संक्रमित थपिएको सोमबार जनाइएको छ । सोमबार बिहानको तथ्यांकअनुसार भारतमा संक्रमितहरूको संख्या २६ हजार ९ सय १७ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको हो ।
कूल संक्रमितहरूमध्ये ५ हजार ९ सय १३ जना भने उपचारपछि निको भएर फर्किएका छन् । मन्त्रालयले दिएको जानकारीअनुसार हाल यहाँ २० हजार १ सय ७७ संक्रमित अस्पतालमा उपचाररत छन् । कोरोना भाइरसको अत्यधिक संक्रमणको कारण सार्वजनिक यातायात, विद्यालय, कलेज र शपिंग मललगायत सबै सेवाहरू बन्द गरिएको छ । पछिल्ला केही दिनहरुमा केन्द्रीय सरकारले बिस्तारै बन्देजहरु सहज गरिरहेको छ ।
भारतमा संक्रमण बढदै गएपछि सरकारले कोरोना भाइरसको संक्रमण रोक्नका लागि लकडाउनलाई आगामी मे ३ सम्म लम्ब्याइएको घोषणा गरेको छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गत महिना घोषणा गरेको २१ दिने लकडाउनको अवधि पूरा हुनेबेला पुनः १९ दिनको लकडाउन थप गरिएको घोषणा गरेका थिए ।–रासस/ एएनआई































प्रतिक्रिया