काठमाडौं ।
कोरोना भाइरसका कारण अहिले विश्वका अधिकांश मुलुकहरुको अर्थतन्त्र शिथिल बन्दै गएको छ । जसको प्रभावबाट नेपाल पनि अछुतो छैन । कोरोनाका कारण नेपालका पर्यटन्, उद्योग, व्यवसाय, कृषि वैदेशिक लगानी तथा रेमिट्यान्स लगायतका विभिन्न क्षेत्र प्रभावित भएका छन् ।
नेपाल राष्ट्र बैंकले कोरोना भाइरसका कारण १ खर्ब भन्दा बढी रेमिट्यान्स घट्ने आँकलन गरेको छ । विश्वका विभिन्न मुलुकहरुले रोजगारीमा कटौती गरिरहेका छन् । जसका कारण नेपालको रेमिट्यान्स पनि प्रभावित बन्दै गएको छ । घट्दै गएको रेमिट्यान्सका कारण विदेशी सञ्चितिमा पनि चाप पर्ने देखिएको छ ।
नेपाल आयातमा निर्भर रहने मुलुक हो । विदेशी सञ्चितिमा चाप पर्ने वित्तिकै आयात पनि स्वतः प्रभावित हुन्छ । हुन त राष्ट्र बैंकको पछिल्लो तथ्यांकले विदेशी सञ्चिति बढेको देखिएको छ । त्यसका साथै आयातमा पनि कमी आएको छ ।
यस आधारमा हेर्ने हो भने सन्तुलनको अवस्था देखिन्छ । तर आगामी दिनहरुमा आयात त गर्नै पर्ने हुन्छ । जसका लागि प्रयाप्त विदेशी सञ्चिति आवश्यक पर्छ । राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको फागुन महिनासम्म कूल वस्तु आयात २.६ प्रतिशतले घटेर ९ सय २४ अर्ब २४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २३.८ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ७.५ प्रतिशतले घटेको छ भने चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः ५.५ प्रतिशत र ६.८ प्रतिशतले बढेको छ ।
त्यस्तै, एम.एस. बिलेट, यातायातका साधन तथा पार्टपुर्जा, सुन, पेट्रोलियम पदार्थ, सिमेन्ट लगायतका वस्तुको आयात घटेको छ । यस अवधिमा कूल वस्तु व्यापार घाटा ४.३ प्रतिशतले संकुचन आई ८ सय ४९ अर्ब ३३ करोड कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा २४.४ प्रतिशतले वृद्धि भएको थियो । एकातिर रेमिट्यान्स घट्ने र अर्कातिर आयात पनि घट्ने भएकाले चालु आर्थिक वर्षमा विदेशी सञ्चितिमा खासै ठूलो चाप नपर्ने भए पनि आगामी आर्थिक वर्षमा चाप पर्ने देखिन्छ ।
राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टले भने–‘अहिले विदेशी सञ्चितिमा चाप नपरे पनि आगामी आर्थिक वर्षमा चाप पर्ने देखिन्छ ।’ तत्काल विदेशी सञ्चितिमा कोरोनाको असर खासै नखिने भएपनि आगामी आर्थिक वर्षमा त्यसको असर देखिने प्रवक्ता भट्टको भनाइ छ ।
राष्ट्र बैंकका अनुसार २०७६ असार मसान्तमा १० खर्ब ३८ अर्ब ९२ करोड बराबर रहेको कूल विदेशी विनिमय सञ्चिति ९.४ प्रतिशतले वृद्धि भएको छ । फागुनसम्म आइपुग्दा विदेशी सञ्चिति ११ खर्ब ३६ अर्ब ५१ करोड बराबर पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिति २०७६ असार मसान्तमा ९ सय २ अर्ब ४४ करोड रहेकोमा २०७६ फागुन मसान्तमा ९ खर्ब ८३ अर्ब ५५ करोड पुगेको छ ।
बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७६ असार मसान्तमा १ सय ३६ अर्ब ४७ करोड रहेकोमा फागुन मसान्तमा १ सय ५२ अर्ब ९६ करोड पुगेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । राष्ट्र बैंकका अनुसार फागुन मसान्तसम्मको कूल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.३ प्रतिशत रहेको छ ।
चालु आर्थिक वर्षको फागुनसम्मको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चितिले १० महिनाको वस्तु आयात र ८.८ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त हुने राष्ट्र बैंकले जनाएको छ । यस अवधिमा विदेशी विनिमय सञ्चितिको कूल गार्हस्थ्य उत्पादन, कूल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरु क्रमशः ३२.८ प्रतिशत, ७३.१ प्रतिशत र २९.६ प्रतिशत रहेका छन् । २०७६ असार मसान्तमा यी अनुपातहरु क्रमशः ३०.० प्रतिशत, ६४.९ प्रतिशत र २९.० प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।





























प्रतिक्रिया