धनगढी ।
नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलको कार्यालयले विभिन्न ठाउँबाट आएका मानिसलाई क्वारेन्टाइनमा राख्दै जाँच गरेर मात्रै घर पठाउन प्रदेश सरकारको ध्यानाकर्षण गरेको छ ।
कोरोना भाइरसको सङ्क्रमणको जोखिमबाट नेपाल अझै पनि मुक्त नभइसकेको भन्दै स्वदेश तथा विदेशबाट आएका सबैलाई अनिवार्यरूपमा क्वारेन्टाइनमा राखेर जाँच गरेपछि मात्रै घर पठाउन ध्यानाकर्षण गराइएकोे नेपाली काँग्रेस सुदूरपश्चिम प्रदेश संसदीय दलका नेता डा रणबहादुर रावलद्वारा शनिबार जारी प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।
विभिन्न जिल्लाबाट दैनिक ठूलो सङ्ख्यामा मानिस आइरहेको सन्दर्भमा त्यसरी आउने व्यक्तिको व्यवस्थित अभिलेख राख्दै सम्बन्धित स्थानीय तहमा पठाइ क्वारेन्टाइनमा राख्नेतर्फ अझ बढी ध्यान दिन जरुरी रहेको विज्ञप्तिमा बताइएको छ । विज्ञप्तिमा कैलालीको टीकापुर नगरपालिकाले क्वारेन्टाइनमा राखिएकामध्ये धेरैलाई बिनापरीक्षण घर पठाएकामा प्रदेशका सबै स्थानीय तहलाई आ–आफ्नो पालिकाभित्र रहेका क्वारेन्टाइनलाई अझ थप व्यवस्थित गर्न आवश्यक रहेको र बाहिरबाट आएका प्रत्येकलाई सङ्घीय स्वास्थ्य मन्त्रालयको प्रोटोकल अनुसार क्वारेन्टाइनमा राख्ने तथा आवश्यक परीक्षण गर्नेतर्फ प्रभावकारी प्रबन्ध गर्न अनुरोध गरिएको छ ।
“पछिल्लो दुई साता यता प्रदेशभरि कोरोना भाइरस सङ्क्रमणका नयाँ बिरामी देखा नपरेकामा हामी कोरोनाको जोखिमबाट मुक्त भइसक्यौँ भन्ने निष्कर्ष निकालियो भने ठूलो दुर्भाग्य हुन सक्नेतर्फ सम्बद्ध पक्षको गम्भीर ध्यानाकर्षण गरिएको छ”, विज्ञप्तिमा भनिएको छ । विज्ञप्तिमा कोरोना भाइरसको सङ्क्रमणका कारण सरकारले लागू गरेको लकडाउन एक महिना बितिसकेको अवस्थामा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुर, विपन्न वर्ग, असहाय, अशक्त, वृद्धवृद्धा लगायतलाई एक छाक जुटाउन पनि नसक्ने अवस्था सिर्जना भइसकेको भन्दै संसदीय दलले यी सबै वर्गलाई न्यायोचितरूपमा खाद्यान्न लगायतका राहत सामग्री वितरण गर्नुपर्ने राज्यको दायित्व भएकाले यसतर्फ ध्यान दिन आग्रह गरेको छ ।रासस





























प्रतिक्रिया