चितवन ।
कोरोना सङ्क्रमण देखिएर भरतपुर अस्पतालको आइसोलेसनमा रहेका एक पुरुषको कोरोना भाइरसको परीक्षणका क्रममा पुनःनेगेटिभ देखिएपछि शनिबार बेलुका घर पठाइएको छ । अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरी २७ वर्षीय पुरुषलाई घर पठाइएको छ ।
र्यापिट डाइग्नोष्टिक टेष्टका क्रममा राप्ती नगरपालिका–८ की ६३ वर्षीया महिलामा शङ्कास्पद देखिएपछि उनीसहित उनका दुई छोराको पिसिआर परीक्षण गरिएको थियो । पिसिआर परीक्षणका क्रममा आमा र २७ वर्षीय छोरामा कोरोना सङ्क्रमण देखिएको थियो । अर्का छोराको भने रिपोर्ट नेगेटिभ आएपछि क्वारेन्टाइनमा राखेर फर्काइएको थियो ।
सङ्क्रमण देखिएपछि उनीहरुलाई भरतपुर अस्पतालमा राखी उपचार गरिएको थियो । उपचारका क्रममा पुनःपरीक्षण गर्दा उनमा सङ्क्रमण नभेटिएपछि २४ घण्टापछि पुनःपरीक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीले जानकारी दिए । तिवारीका अनुसार दुवै परीक्षणमा सङ्क्रमण नदेखिएपछि घर पठाइएको हो । घर पठाइएपछि पनि एक हप्ता क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।
आमाको उपचार भइरहेकाले उनी अस्पतालकै क्वारेन्टाइनमा बसेर आमाको रेखदेख गर्ने बताइएको अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले जानकारी दिए। सङ्क्रमितले आफ्नो मनोबल उच्च राखेका कारण छिटो निको भएको उनले बताए ।
उनीहरु गत चैत ३ गते बेलायतबाट हङ्कङ नेपाल हुँदै आएका थिए । काठमाडौँको दुई दिनको बसाइपछि ५ गते चितवन आएका थिए । उनीहरुलाई वैशाख ३ गते र्यापिट डाइग्नोष्टिक टेष्टका क्रममा शङ्कास्पद देखिएपछि अस्पताल ल्याइएको थियो । अस्पताल ल्याएर स्वाब परीक्षणका क्रममा वैशाख ५ गते सङ्क्रमण पुष्टि भएको थियो । कोरोना सङ्क्रमण पुष्टि भएसँगै उनीहरुलाई अस्पतालको आइसोलेसनमा राखी उपचार गरिएको थियो ।रासस































प्रतिक्रिया