लकडाउनको पालना गर्दै रमजान मनाउन मुश्लिम अगुवाको आग्रह

लकडाउनको पालना गर्दै रमजान मनाउन मुश्लिम अगुवाको आग्रह

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु ।
मुस्लिम समुदायका अगुवाहरुले घरमै बसेर रमजानमा गरिने धार्मिक कार्य गर्न अपिल गरेका छन् । विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ भाइरसको रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशैभर लागू गरेको लकडाउनको पूर्ण पालना गर्दै यस वर्षको रमजान घरमा नै मनाउन मुश्लिम अगुवाहरुले आग्रह गरेका हुन् ।

रमजानको पूर्व संध्यामा कपिलवस्तुका मुस्लिम समुदायका अगुवाहरुले हरेक शुक्रबार पढिने जुमाको नमाज दिनको पाँच पटक नमाज र रमजान महिनामा पढिने तराविह नमाज समेत घरमै पढ्न राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा. अब्दुल गनी अल्कुफीले आग्रह गरेका छन् । साथै, उनले देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा रमजान महिनाको शुभकामना समेत दिएका छन् ।

इस्लाम धर्मको १४४१ हिजरी सम्वत को ९ औँ महिनामा रमजान पर्ने गर्दछ । यो महिनामा पूरै एक महिना रोजा राखी अल्लाहको इबादतमा लाग्नु पर्दछ । इस्लाम धर्मानुसार सूर्यास्त पछि अर्को दिन लाग्छ त्यसैले आज शुक्रबारका दिन सूर्यास्त पछि रमजान महिना लाग्नेछ । विगतका वर्षहरुमा रमजान महिनामा तराबिह नमाजको लागि मुस्लिम समुदाय ठूलो संख्यामा आ–आफ्नो ठाउमा रहेका मस्जिदहरुमा एकत्रित भइ तराबिह नमाज अदा गर्दै आएका थिए । तर यो वर्ष विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको त्रास र नेपाल सरकारले देश भर लगाएको लकडाउनका कारणले मस्जिदहरुमा ठूलो संख्यामा तराबिह नमाज हुनेछैन ।

‘यस वर्षको रमजानमा सबैले आ–आफ्नो घरमा नमाज पढ्ने काम गरौँ नेपाल सरकारले आजको दिनमा लकडाउन गरेको छ । जुन नेपाली जनताको हक हितको लागि गरेको छ । सरकारले गरेको निर्णयको सम्मान गर्दै पूर्णरुपमा निर्देशनको पालना गरौँ’ भन्दै मुश्लिम अगुवाले सबैमा आग्रह गरेका छन् ।

त्यस्तैगरी प्रदेश नं. ५ मदरसा बोर्डका उपाध्यक्ष मौलाना मसहूद खां नेपालीले पनि देश विदेशमा रहेका सम्पूर्ण नेपालीमा पवित्र रमजान महिनाको शुभकामना दिएका छन् ।

Logo