काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सरकारले सोमबार ल्याएका २ अध्यादेशप्रति कडा विरोध गरेको छ । राप्रपाले सरकारले सोमबार जारी गरेको अध्यादेशले सत्तारुढ नेकपा भित्रको आन्तरिक शक्ति संघर्षको परिणाम स्वरुप देश फेरि राजनीतिक अस्थिरताको दलदलमा फस्ने खतरा देखिएको चेतावनी दिएको छ ।
कोभिड–१९ को महामारी बिरुद्ध सिंगो मुलुक एकजुट भएर लाग्नुपर्ने अवस्थामा सरकारले हालै ल्याएको राजनीतिक दल सम्बन्धी’ र ’संवैधानिक परिषद सम्बन्धि’ दुई अध्यादेशहरु अनुपयुक्त, अनावश्यक र संविधानको भावना विपरित रहेको राप्रपाको ठहर छ ।
राजनीतिक दल सम्बन्धी अध्यादेशले दल विभाजनलाई प्रोत्साहित गर्ने, राजनीतिक अस्थिरता बढ्ने र अन्ततः प्रजातन्त्रलाई धरापमा पार्ने टड्कारो सम्भावना रहेको राप्रपाले जनाएको छ ।
राप्रपाका अध्यक्ष त्रय पशुपति शमसेर जबरा, डा. प्रकाशचन्द्र लोहनी र कमल थापाद्वारा जारी गरिएको विज्ञप्तीमा संवैधानिक परिषद सम्बन्धी अध्यादेशले प्रजातन्त्रको मुलभूत मान्यताको रुपमा रहेको शक्ति पृथकिकरण र शक्ति सन्तुलनलाई कमजोर बनाउने र देशमा स्वेच्छाचारी शासन कायम हुनसक्ने खतरा देखिएको उल्लेख गरिएको छ ।
सम्भावित राजनीतिक अस्थिरता र प्रजातन्त्रको भविष्यमाथि आइ पर्न सक्ने गम्भीर संकटलाई दृष्टिगत गर्दै उक्त दुई अध्यादेशहरु फिर्ता लिन राप्रपाले सरकार र सत्तारुढ दल नेकपालाई आग्रह गरेको छ ।
कोरोना भाइरसको महामारी नियन्त्रण गर्ने कठिन चूनौतीलाई देशले सामना गरिरहेको वर्तमान अवस्थामा अस्थिरता र अराजकता बढाउने कुनै गतिविधि नगर्न समेत सरकार र नेकपालाई राप्रपा आग्रह गरेको छ ।





























प्रतिक्रिया