पहिलो पटक रोकियो टिस्टुङ बज्रवाराही मेला

पहिलो पटक रोकियो टिस्टुङ बज्रवाराही मेला

केन्द्रबिन्दु
0
Shares

मकवानपुरको थाहा नगरपालिका ६ मा हरेक ३ वर्षमा मनाइने बज्रवाराही माईको मेला यो वर्ष नहुने भएको छ ।

विश्वब्यापीरूपमा कोरोना भाइरस (कोभिड १९) को महामारी फैलिएका कारण यो वर्ष मनाउनुपर्ने मेला अर्को वर्ष मनाउने निर्णय गरिएको हो । कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि वडा अध्यक्ष, धामी, पुजारी लगायत जात्रासंग संबन्धित सबै रकमीको उपस्थितिमा निर्णय भएको स्थानीय प्रमोद जोशीले जानकारी दिए।  “सबैतिर कोरोना भाइरसको त्रास छ, सरकारले लकडाउन घोषणा गरेको छ त्यसैले यसपटक जात्रा नमनाउने निर्णय गरिएको हो।” जोशीले भने।

परम्परा अनुसार आगामी वैशाख २७ गतेदेखि २९ गतेसम्म जात्रा मनाउने मिति तय भएको थियो ।  जात्रा नहुने भएपछि मन्दिरमा क्षमा पूजा गर्न लागिएको छ । जोशीका अनुसार बज्रवाराहीको जात्रा पहिलो पटक स्थगित भएको हो ।

मेलामा यहाका विभिन्न समुदायहरू आ आफ्नै बाजागाजा र भेषभुषामा सहभागी हुने गर्छन्।  तीन दिनसम्म लाग्ने यो मेलामा पहिलो दिन रथलाई मन्दिरमा लगिन्छ।  दोस्रो दिन मन्दिरमै पूजापाठ गरिन्छ भने तेस्रो दिन रथलाई फर्काएर मेला समापन गरिन्छ ।

यहाँको बज्रवाराही माईलाई अन्यत्र भएका बज्रवाराहीको आमा भन्ने मान्यता छ। यो गणेश, कुमारी, वाराही, इन्द्रायणी र भैरवको संयुक्त जात्रा हो ।

Logo