अब काभ्रेका राजमार्ग हुँदै अन्य जिल्लामा पैदलयात्रा गर्न समेत नपाइने

अब काभ्रेका राजमार्ग हुँदै अन्य जिल्लामा पैदलयात्रा गर्न समेत नपाइने

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

जिल्ला प्रशासन कार्यालय काभ्रेले सुरक्षामा अझै कडा गर्ने भएको छ । काभ्रे जिल्लामा गरिएको (आरडिटी) द्रुतगतिको परिक्षणमा २ जनामा कोरोना संक्रमणको आशंका गरिएपछि जिल्ला प्रशासन कार्यालयले यहाँको सुरक्षा र लकडाउनमा थप कडाई गर्ने भएको हो ।

जिल्ला प्रशासन कार्यालयले एक सुचना जारी गर्दै अब काभ्रेका राजमार्ग हुँदै एक जिल्लाबाट अर्को जिल्लामा हिंडेर जान समेत रोक लगाएको हो ।

जिल्लाको बेथान्चोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक/एक जनामा कोरोनाको आशंका देखिएपछि उनीहरुलाई मंगलबार थप परिक्षणका लागि धुलिखेल अस्पतालमा पठाइएको छ ।

चैत ११ देखि जारी लकडाउन सरकारले पटक पटक थप्दै लगेपछि काठमाडौंमा अलपत्र परेका मजदुरहरु अरनिको र वीपी राजमार्ग हुँदै पैदल मार्फत नै पूर्वी जिल्लाहरु सिन्धुली, उदयपुर हुँदै इटहरी, विराटनगर, जनकपुर, ओखलढुङ्गा लगायत जानेहरु बढेका छन् । यसै सन्दर्भमा जिल्ला प्रशासन काभ्रेले अब उनीहरुलाई पैदल हुँदै जान नपाउने बताएको हो ।

यति मात्र होइन अब जिल्लाभित्र अनावश्यक रुपमा हिड्डुल गर्नेलाई समेत प्रशासनले सोही स्थानबाट नियन्त्रणमा लिइने जनाएको छ । अत्यावश्यक सेवा बाहेकका सवारी पास नलिएका सवारी साधन सञ्चालनमा पूर्णरुपमा रोक लगाइने पनि प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।

यता मण्डनदेउपुर नगरपालिकाले भने केही संचार माध्यमहरुमा सो नगरपालिकामा कोरोना पोजेटिभ देखिएको समाचार आएको प्रति खण्डन गरेको छ । स्पष्ट रिपोर्ट नआएपछि शंकास्पद व्यक्तिलाई थप परिक्षणका लागि धुलिखेल अस्पताल पठाइएको जनाउँदै नगरपालिकाले प्रमाणित नभइसकेकाले अहिले नै केहि भन्न नसकिने स्पष्ट पारेको छ । नगरपालिकाका प्रवक्ता एवं वडा नं. ६ का वडाध्यक्ष डिल्लीप्रसाद आचार्यले सो जानकारी दिएका हुन् ।

Logo