काबुल ।
अफगानिस्तान सरकारले पछिल्लो पटक १ सय ६१ जना तालिबानी बन्दीहरुलाई कैदमुक्त गरेको अफगान सरकारका प्रवक्ताले बताएका छन् । राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जाविद फैजलले राष्ट्रपतिको आदेशमा मुक्त गरिएका सबै कैदीहरु बाघ्राम कारागारका रहेको जानकारी दिए ।
उनले राष्ट्रपतिको आदेशबाट अरु कैदीबन्दी पनि रिहाई हुने क्रममा रहेको बताए । प्रवक्ता फैजलले मुलुकको शान्ति प्रक्रियालाई थप विश्वसनीय बनाउने प्रयत्न स्वरुप सरकारका तर्फबाट गरिएको एक कार्य रहेको बताए ।
यसअघि अप्रिल ८ मा १ सय जना तथा गत बिहिबार अरु १ सय जना तालिबानी कैदीबन्दीलाई मुक्त गरिएको थियो । सरकारले आगामी दुई साताभित्रै एक हजार ५ सय तालिबान लडाकूलाई जेलमुक्त गर्ने जनाएको छ ।
अमेरिका र तालिबानबीच भएको सम्झौतामा ५ हजार तालिबान लडाकू र तालिबानको कब्जामा रहेका १ हजार अफगान सरकारी फौजलाई मुक्त गर्ने सहमति भएको छ । –रासस/सिन्ह्वा





























प्रतिक्रिया