आईएमई खल्ती र भिजन कन्सर्न आई क्लिनिकबीच सम्झौता, कर्मचारीलाई विशेष छुट

आईएमई खल्ती र भिजन कन्सर्न आई क्लिनिकबीच सम्झौता, कर्मचारीलाई विशेष छुट

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ । अग्रणी फिनटेक कम्पनी आईएमई खल्ती लिमिटेड र भिजन कन्सर्न आई क्लिनिकबीच कर्पोरेट वेलनेस सम्झौता सम्पन्न भएको छ।

पानीपोखरीस्थित आईएमई खल्तीका कर्मचारी तथा उनीहरूका परिवारलाई आँखा स्वास्थ्य सम्बन्धी विशेष सुविधा उपलब्ध गराउने उद्देश्यले यो दुईपक्षीय सम्झौता गरिएको हो।

यस सम्झौताअनुसार आईएमई खल्तीका कर्मचारीहरूले निःशुल्क व्यापक आँखा परीक्षण, चिकित्सकको निःशुल्क परामर्श र प्राथमिकताका साथ अपोइन्टमेन्ट पाउने जस्ता महत्त्वपूर्ण सुविधाहरू प्राप्त गर्नेछन्। यी सेवाहरू भिजन कन्सर्नको बौद्ध, लाजिम्पाट र माकलबारीस्थित शाखाहरूबाट सहजै लिन सकिने कम्पनीले जनाएको छ।

निःशुल्क चिकित्सा सेवाका अतिरिक्त कर्मचारी तथा परिवारका लागि विभिन्न आर्थिक सुविधाहरू समेत तय गरिएको छ। जसअन्तर्गत छनोट गरिएका अप्टिकल उत्पादनहरूमा ४० प्रतिशतसम्मको बम्पर छुट, ब्रान्डेड फ्रेमहरूमा २० प्रतिशत छुट तथा प्रिस्क्रिप्सन ग्लास र कन्ट्याक्ट लेन्समा विशेष कर्पोरेट मूल्य उपलब्ध गराइनेछ।

यस सहकार्य अन्तर्गत भिजन कन्सर्नले डिजिटल सामग्रीको बढी प्रयोगका कारण हुने ‘डिजिटल आँखा थकान’ सम्बन्धी विशेष सचेतना कार्यक्रम समेत सञ्चालन गर्नेछ। आईएमई खल्तीले आफ्ना सम्पूर्ण कर्मचारीहरूबीच यी सुविधाहरूको प्रचारप्रसार र प्रवर्द्धन गर्ने प्रतिबद्धता जनाएको छ। एक वर्षका लागि लागू गरिएको यो सम्झौतालाई सहज र प्रभावकारी रूपमा कार्यान्वयन गर्न दुवै संस्थाले आ-आफ्नो तर्फबाट समन्वयकर्ता समेत नियुक्त गर्नेछन्।

Logo