शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाल (गोल्यान) ले २७ चैतमा दरबार मार्गस्थित प्रहरी बृत्तमा पुगेर बिलौना गरे । अर्को भाषामा भन्नुपर्दा रोइ–कराई गरे । अरबौंको मालिकले प्रहरी कार्यालय पुगेर रोइकराई गर्नुको सामान्य कारण भने थिएन । विश्व नै कोरोना भाइरसका कारण ठप्प रहेका बेला उनका छोरा सुलभ अग्रवाललाई ‘थर्मल गन’ (ज्वरो नाप्ने मेसिन) को कलाबजारी गर्दागर्दै २५ चैतमा प्रहरीले ‘रंगेहात’ पक्राउ गरेको थियो ।
उनी ५ हजार रुपैयाँ पनि नपर्ने ‘थर्मल गन’लाई १५ हजार रुपैयाँमा बिक्रि गर्न ग्राहकसँग पुगेका थिए । तर प्रहरी नै ग्राहकको भेषमा आएको पत्तो नपाएपछि ६७ वटा ‘थर्मल गन’ (१० लाख रुपैयाँ बराबरको) सहित उनी प्रहरी भ्यानमा कोचिन बाध्य भए ।
शंकर अग्रवालका छोरा मात्र होइनन्, सुलभ । उनी जगदम्बा स्टिल, जगदम्बा सिमेन्ट लगायत धेरै उद्योग–कलकारखाना तथा संसारका नामी विभिन्न ‘ब्राण्ड’ आयात गर्ने उही शंकर ग्रुपका प्रबन्ध सञ्चालक समेत हुन् । सुलभको परिचय यत्तिमै सकिदैन । उनी किर्गिजस्तानका अवैतनिक दूत (अनरेरी कन्सल) पनि हुन् । र, त्यही ‘अनरेरी कन्सल’ भएबापत पाउने सरकारी सुविधा प्रयोग गरेर सुलभ कालोबजारी गर्थे भन्ने पनि पुष्टि भएको छ ।
२५ चैतमा ग्राहकलाई १० लाख बराबरको ६७ थान ‘थर्मल गन’ पु¥याउन नक्साल आउँदा उनी ‘अनरेरी कन्सल’ भए बापत पाउने निलो प्लेटको झण्डावाला पजेरो गाडीमा थिए । उनले प्रयोग गरेको त्यस गाडीको नम्बर थियो, ‘२०९ एचसीसी–१’ । लकडाउनका कारण प्रशासनले स्वीकृति दिएका बाहेक गाडी चलाउन नपाईने यो बेलामा निलो प्लेटको सुविधा सुलभकालागि कालोबजारी गर्न उपयुक्त माध्यम बनेको थियो । प्रहरीले भने तीन दिनको महेनतपछि सफलता हात परेको बताएको छ । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख सहकुल बहादुर थापाका अनुसार प्रहरी आफैं ग्राहक बनेर गएको थियो ।
कसरी आयो यति धेरै ‘थर्मल गन’ ?
चौधरी ग्रुपसँग मिलेर शंकर ग्रुपले २१ चैतमा चीनको ग्वानझाओबाट स्वास्थ्य सामाग्री ल्याएको थियो, नेपाल एयरलायन्सको वाइडबडी चार्टर्ड गरेर । २२ टन बोक्ने जहाजमा ८ टन स्वास्थ्य सामाग्री मात्रै ल्याएको उक्त ग्रुपले बताएको थियो । कोभिड १९ को संभावित खतरासँग जुध्न सिजी, नर्भिक अस्पताल र शंकर ग्रुपले उक्त सामाग्री ल्याउँदा पाइलैपिच्छे सरकारी सुविधा समेत लिएका थिए । उक्त सामाग्री ल्याउनुअघि उनीहरुले कोरोना विरुद्धको उच्चस्तरीय समितिका संयोजक ईश्वर पोखरेललाई भेटेर पनि कुरा मिलाएका थिए । तर, जसै जहाज अवतरण भयो त्यसपछि यी दुवै ग्रुपले सामग्री कम ल्याईएको जानकारी गराए । विमानस्थल स्रोत भन्छ, ‘पूर्व जानकारी गराईए जतिनै सामाग्री ल्याईएको थियो ।’
त्यसो भए कहाँ गयो त २२ टन मध्येको १४ टन स्वास्थ्य सामाग्री ? एक अर्को स्रोतका अनुसार ती सबै स्वास्थ्य सामाग्री ‘बसन्त चौधरीको नर्भिक इन्टरनेशनल अस्पताल, सिजी र शंकर ग्रुपले बाँडेर लगे’ । सुलभको गाडीबाट ६७ थान ‘थर्मल गन’ बरामत भएपछि स्रोतको दावी पुष्टि भएको छ । सामाग्री ल्याउँदा विमानस्थलमा २० हजार ‘थर्मल गन’को विवरण देखिन्छ । तर, स्रोतका अनुसार उनीहरुले उल्लेख गरेकोभन्दा बढी सामाग्री एयरपोर्टमा झरेको छ । नर्भिकले भने अस्पतालकै च्यानलवाट उक्त सामाग्री सल्टाउँदै रहेको अर्को एक स्रोतको दावी रहेको छ ।
सिजी, नर्भिक र शंकर ग्रुपको यही गडबडीलाई नजिकबाट हेरिरहेको थियो, प्रहरीले । बजारमा सामाग्री नपठाएर अभाव गराउन आयातकर्ताहरुले थोरै देखाएको बुझेपछि उनीहरूमाथि निगरानी बढाईएको थियो । निलो प्लेटमा झण्डावाला गाडी प्रयोग गर्ने उनीहरु माथि अनेकौं किसिमका आशंकाहरु भइरहेको थियो, प्रहरीको । ‘थर्मल गन’को यस प्रकरणमा गाडी र झण्डा प्रयोग गरेको पुष्टि भएको छ ।
अवैतनिक बाणिज्य दूत अर्थात ‘अनरेरी कन्सल’ हुँदाका फाइदा
अन्तर्राष्ट्रिय र राष्ट्रिय विमानस्थलमा बिशिष्ट कक्ष प्रयोग गर्न पाईन्छ । सिंहदरबार, बालुवाटार लगायतका भिभिआइपी स्थलहरुमा निर्बाध आवतजावत गर्न पाईन्छ । यही गाडी चढेर विदेश समेत बेरोकतोक जान पाइन्छ । गाडी चेकजाँच नहुने कारणले ‘अनरेरी कन्सल’ हुन नेपालमा अस्वस्थ प्रतिस्पर्धा हुने गरेको परराष्ट्र मामिलाका जानकारहरु बताउँछन् ।
‘अनरेरी कन्सल’ भएवापत उनीहरुले के काम गर्छन् ? अर्थात उनीहरुको दायित्व के हो ? यस सम्बन्धमा भने केही प्रष्ट छैन । खाली उनीहरुले सुविधा उपभोग गर्छन् त्यतिमात्र देखिएको छ ।
परराष्ट्रले उक्त प्लेट र झण्डा प्रयोग गर्ने गाडीलाई कालोबजारीमा प्रयोग भएको देखेपछि शंकर ग्रुपका उपाध्यक्ष समेत रहेका सुलभ अग्रवालको सुविधा खोसेर सम्बन्धित देशलाई जानकारी पठाएको बताएको छ । त्यसैगरी सवै ‘अनरेरी कन्सल’को सुविधा केही समयलाई स्थगित गरेको पनि जनाएको छ । तर, सरकारको उक्त निर्णयको विरोध गरेका छन् पञ्चकन्या ग्रुपका मालिक तथा उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष प्रदिप कुमार श्रेष्ठले । साउथ अफ्रिकाका ‘अनरेरी कन्सल’ प्रदीपकुमार श्रेष्ठले वीवीसी नेपाली सेवालाई प्रतिक्रिया दिँदै भनेका छन् –‘एकजनामा समस्या देखिदैमा सबैको हकमा यस्तो निर्णय गर्न मिल्दैन ।’ प्रदीप कुमारले ‘अनरेरी कन्सल’हरुको संयोजन गर्दै आएका छन् । रोचक पक्ष चाहिँ के देखिएको छ भने निलो प्लेट र झण्डा प्रयोग गरेर चिल्ला गाडी चढ्दै आएका धेरैजसो कुनै न कुनै अपराधमा मुछिएका छन् ।
अपराधमा मुछिएका निलो प्लेटधारीहरू
परराष्ट्र मन्त्रालयका अनुसार ५१ देशमा बाणिज्य दूत ‘अनरेरी कन्सल’हरु रहेका छन् । एउटै परिवारका ५ जनासम्म दूत बनेर बसेको परराष्ट्रको ‘लिष्ट’मा उल्लेख छ । दाजु भाइ नै दूत हुनेहरु पनि निकैजना रहेका छन् । त्यसैगरी माडवारी समूदायको बाहुल्य छ, ‘अनरेरी कन्सल’हुनेमा । माडवारीपछि नेवार समुदायले अरूलाई उछिनेका छन् ।
मुलकुरा जव–जव राष्ट्रमा संकट पर्छ, तव–तव ठूला ब्यापारीहरुले दैनिक उपभोग्य सामाग्री ‘सर्टेज’ गर्छन् वा गराउँछन् । जस्तो भुकम्प, बाढीपहिरो, नाकाबन्दीदेखि हालको महामारीसम्म आइपुग्दा ब्यापारीले मौका संझेर गलत कार्य गर्दै आएको देखिन्छ । विदेशमा पैसा लुकाउने र विदेशमा अबैध रुपमा लगानी गर्ने कार्यमा समेत धेरै ब्यापारी संलग्न रहेको पुष्टि भइसकेको छ । यी सबै कार्यकालागि उनीहरुले ‘अनरेरी कन्सल’ भएवापत प्राप्त सुविधालाई प्रयोग गर्ने गरेको समेत खुल्दै आएको छ ।
शंकर ग्रुपबाट दाजुभाइ नै – ‘अनरेरी कन्सल’हुनेमा शंकर ग्रुपका दुई दाजु–भाइ नै रहेका छन् । त्यसमध्ये एकजना हालै कालोबजारी गर्दै गर्दा ‘रंगेहात’ पक्राउ खाएका सुलभ अग्रवाल, ५५ हुन् । शंकर ग्रुपका उपाध्यक्ष तथा उद्योग परिसंघका समेत उपाध्यक्ष उनी किर्गिजस्तानका ‘अनरेरी कन्सल’ हुन् । त्यसैगरी बोस्निया हर्ज गोभिनाका ‘अनरेरी कन्सल’ हुन् साहिल अग्रवाल । जो सुलभका भाइ हुन् । साहिल शंकर ग्रुपका कार्यकारी निर्देशक समेत रहेका छन् ।
पर्सा जिल्लाको वीरगञ्जवाट सुरु हुन्छ, शंकर ग्रुपको सफलताको इतिहास । बाराको सिमरामा यस ग्रुपले स्थापना गरेको जगदम्बा स्टिल उद्योग नेपालकै नम्वर वान स्टिल उद्योग मानिन्छ । तर यो उद्योग आफैंमा विवादीत छ । यस उद्योगले वातावरणिय प्रभाव मूल्यांकन (इआइए) विपरित प्लान्ट स्थापना गरेको छ । पर्सा बन्यजन्तु आरक्षणसँगै रहेको यो उद्योगले ध्वनी, धुँवा र कार्बन बढी फ्याकेको भन्दै गाऊँलेले धेरै पटक आन्दोलन गरेका छन् । फ्याक्ट्री घेराऊ गरेका छन् । तर, सरकारी प्रशासन उद्योगको पक्षमा लागेकाले गाऊँलेहरु धुँवा, धुलो र कार्बनको मारमा पर्दै आएका छन् ।
त्यसैगरी यस ग्रुपको जगदम्बा सिमेन्ट, होटल हिल्टन र युनियन फाइनान्स्को सवालमा पनि विरोधहरू बेलाबेला आउने गरेका छन् । तर, यो ग्रुपमाथि सरकारी निकाय सधैं नतमस्तक रहने गरेको छ । यतिसम्मकी राजश्व छली, गुणस्तरहीन सामाग्री उत्पादन लगायतका विषयमा उजुरी पर्दा समेत प्रशासन मौन रहँदै आएको छ ।
चौधरी ग्रुपका ५ जना – विश्वमा नै अर्बपति भनेर चिनिने बिनोद चौधरीको नेतृत्व छ, यस ग्रुपमा । उनी नेपालका एक मात्र अर्बपति हुन् । र, यो गु्रपको अर्को पनि विशेषता छ, ५ जना सदस्य ‘अनरेरी कन्सल’ छन् । जस्तो, विनोदका माहिला भाइ वसन्त कुमार चौधरी (मोरक्को) र कान्छा भाइ अरुण कुमार चौधरी (हंगेरी)का ‘अनरेरी कन्सल’ हुन् । त्यसैगरी विनोदका छोराहरु निर्वाणकुमार चौधरी (सर्बिया), वरुण चौधरी (काजकिस्तान) र राहुल चौधरी (माल्दिभ्स) का ‘अनरेरी कन्सल’ हुन् । कर छली लगायतका विषयमा यस ग्रुपले धेरै अघिदेखि आरोप खेप्दै आएको छ । नर्भिक अस्पतालको सवालमा भने यो ग्रुप बदनाम नै छ । यसको स्थापनाको कथा नै भ्रष्ट छ ।
चौधरी समूहले २०४८ सालमा सुनसरीको दुहवीमा ‘लुनकरण दाश गंगादेवी च्यारेटी अस्पताल’ स्थापना गरेको थियो । यही च्यारेटी अस्पतालकालागि भन्दै धेरै स्वास्थ्य सम्बन्धी महंगा मेसिन र उपकरणहरु विना भन्सार भित्र्यायो । स्वास्थ्य सामाग्री ल्याएर जडान समेत नगरी २०५० सालमा उक्त च्यारेटी अस्पताल बन्द गरियो । र, सम्पूर्ण स्वास्थ्य उपकरणहरु काठमाडौं ल्याईयो । र, नर्भिक इन्टरनेशनल अस्पतालको स्थापना गरियो । दुहवी क्षेत्रका एक चिकित्सक भन्छन्, –‘नर्भिक अस्पताल नै ठगीको जगमा उभिएको छ ।’
२१ चैतमा विमान चार्टर्ड गरी चीनबाट ल्याएको स्वास्थ्य सामाग्रीको सवालमा समेत यस ग्रुपको ठूलो हिस्सा पुष्टि भइसकेको छ । २२ टन भनेर ८ टन मात्र देखाउने नियतमाथि सरकारले खोजी गरिरहेको बताईन्छ ।
त्यसैगरी चौधरी परिवारका चार जनाको नाममा विदेशमा लगानी देखिएको छ । ती चारहरु हुन् बिनोदका कान्छा भाइ अरुणकुमार चौधरी, बुहारी शिला र भतिजहरु करण र सुुर्भान्सको नाममा ट्याक्स हेवन मुलुक ब्रिटिश भर्जिन आइल्यान्डस्मा अर्सिन लिमिटेड कम्पनी दर्ता छ । इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आईसीआईजे)का अनुसार, सन् २००४ मा दर्ता भएको यस कम्पनीको नेपाली ठेगाना सरस्वती सदन, ठमेल उल्लेख छ । तर, अरुणले यो तथ्यलाई नकार्दै आएका छन् ।
शशिकान्त अग्रवाल – इक्वेडरका ‘अनरेरी कन्सल’ हुन् शशिकान्त अग्रवाल । उनी नेपाल चिनी उद्योग संघका अध्यक्ष हुन् । त्यसभन्दा पनि उनी दुईवटा चिनिमिलका मालिक हुन् । उनी मालिक रहेको एभरेष्ट चिनी मिलले मात्र उखु किसानलाई दुई अर्ब रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
त्यसैगरी विदेशमा कालोधन लुकाउनेमा पनि उनी जोडिएका छन् । इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्ट (आइसीआइजे) ले ‘स्वीस लिक’ नाम दिएर सार्वजनिक गरेको विवरणमा उनको नाम परेको छ । उनले यस सम्बन्धमा कुनै खण्डन गरेका छैनन् ।
अजय सुमार्गी – बेलारूसका ‘अनरेरी कन्सल’ सुमार्गी विवादास्पद छवी भएका व्यवसायी हुन् । उनको पनि विदेशमा लगानी रहेको भेटिएको छ । खोज पत्रकारिता केन्द्र ‘खोपके’ले सार्वजनिक गरेको विवरण अनुसार सुमार्गीले साइप्रसको एयरबेल सर्भिसेज लिमिटेड कम्पनीमा लगानी गरेका छन् । साइप्रसको म्याग्नम हाउस ठेगाना उल्लेख गरिएको र हालसम्म पनि सक्रिय यो कम्पनी सन् २००८ मा खोलेको उल्लेख छ । सुमार्गीको ठेगाना हेटौंडा–५ मकवानपुर नेपाल उल्लेख छ ।
त्यसैगरी विदेशी बैंकमा अकुत सम्पत्ति थुपार्नेमा समेत उनी अगाडि छन् । उनले पटक–पटक गरेर ६ अर्बभन्दा बढी नेपाल भित्राई सकेको र थप १२ अर्ब रुपैया ल्याउने प्रयास गरिरहेको राष्ट्र बैंक स्रोतको दावी छ । क्रमश
५१ बाणिज्य दूत ‘अनरेरी कन्सल’हरुको नाम र देश
अस्ट्रेलिया
राजेशबाबु श्रेष्ठ
बेल्जियम
आङ छिरिङ शेर्पा
बुल्गेरिया
भोलाविक्रम थापा
क्यानडा
डा. बुद्ध बस्न्यात
चेक रिपब्लिक
विष्णुकुमार अग्रवाल
चिली
वसन्तराज मिश्र
कोलम्बिया
विनयमान श्रेष्ठ
क्रोएसिया
अमिरप्रताप जबरा
साइप्रस
पद्म ज्योति
डेनमार्क
हरि धरेल
इस्टोनिया
नवराज दाहाल
इथियोपिया
राजेन्द्र गिरी
फिजी
पारस शाक्य
जर्जिया
शिव रतन सारडा
ग्रिस
विक्रम पाण्डे
ग्युनिया
अशोककुमार अग्रवाल
इण्डोनेसिया
चन्द्रप्रसाद ढकाल
इरान
नरेश श्रेष्ठ
आयरल्याण्ड
मनोजबाबु श्रेष्ठ
इटाली
प्रतिमा राणा पाण्डे
लाटभिया
करण वैद्य
लिथुवानिया
शोभाकर न्यौपाने
लक्जेम्वर्ग
श्रीराम लामिछाने
माल्टा
दिनेश श्रेष्ठ
मेक्सिको
नरेश दुगड
मंगोलिया
तेसान गुर्मान श्रेष्ठ
नेदरल्याण्ड्स
पेपिन तार्पमान
पपुवा न्यु गिनी
पूर्ण भण्डारी
पेरु
सुमितकुमार अग्रवाल
फिलिपिन्स
सुरज वैद्य
पोल्याण्ड
लोकमान्य गोल्छा
पोर्चुगल
राजेन्द्रकुमार खेतान
रोमानिया
नारायण बजाज
स्लोभ रिपब्लिक
पासाङ दावा शेर्पा
स्लोभानिया
हरिभक्त शर्मा
स्पेन
अम्बिका श्रेष्ठ
स्वीडेन
गजेन्द्रबहादुर श्रेष्ठ
तान्जेनिया
राजेश चौधरी
टर्की
प्रेमप्रकाश खेतान
उरुग्वे
किरण वैद्य
भियतनाम
राजेशकाजी श्रेष्ठ





























प्रतिक्रिया