काठमाडौं ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाले मोटरसाइकल चोरी गर्ने २ जनालाई मोटरसाइकलसहित पक्राउ गरेको छ । पीडित सहायता ईकाइबाट सादा पोशाकमा खटिएको ट्राफिक प्रहरी टोलीले आज विहान काठमाडौं चन्द्रागिरी नगरपालिका वडा नं. २ नागढुंगा स्थित सडक खण्डबाट धादिङ्ग गल्छी गाउँपालिका बस्ने वर्ष २७ को बिजय तामाङ्ग र वर्ष १८ को आइतराज तामाङ्गलाई प्रदेश ३-०२-०११ प ७२४१ नम्वरको कालो रातो रंङ्गको १५० सी.सी.को पल्सर मोटरसाइकलसहित पक्राउ गरेको महाशाखाले जनाएको छ ।
उपत्यकाको विभिन्न स्थानबाट मोटरसाइकलहरू चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको गोप्य सूचनाका आधारमा निगरानी राखी ती व्यक्तिहरूलाई पक्राउ गरिएको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिए ।
किर्तिपुर नगरपालिका वडा नं ७ बस्ने पुण्य महर्जनको उक्त मोटरसाइकल काठमाडौं चोभारबाटै हराएको भनि ट्राफिक महाशाखामा हुलिया निवेदन दिएका थिए । महाशाखाले चोरी भएको उक्त मोटरसाइकलको नम्बर प्लेट परिबर्तन भएको अवस्थामा पक्राउ गरेको र वास्तविक नं. प्रदेश ३-०२-०१४ प ०३३९ रहेको बताएको छ ।
हराएको निवेदनको आधारमा सूचना संकलन र हुलियाको आधारमा खोजतलास गरि हराएको मोटरसाइकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, किर्तिपुर पठाइएको महाशाखाका प्रवक्ता एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिए ।































प्रतिक्रिया