भोजपुर ।
कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि स्थानीय र जनप्रतिनिधिहरूले विभिन्न कदम चालेका छन् ।
भोजपुरको हतुवागढी गाउँपालिकाले कोरोना भाइरसबाट बच्न गाउँपालिका भित्रिने नाकाको सुरक्षा गर्न म्यादी प्रहरी भर्ना गर्ने भएको छ । गाउँपालिकाले वडा नंं. ६ मा पर्ने सुनबालुवा, लामीबगर, वडा नं. ७ को भँगालेटार, वडा नं. ९ पर्ने मचुवा, सिम्ले र चुहार सीमानाकाबाट बिनाअनुमति हुने आवतजावतलाई रोक्नका लागि म्यादी प्रहरी भर्ना गर्ने तयारी गरेको हो । गाउँपालिको सूचना जारी गरेर आजसम्म दर्खास्त दिन आह्वान गरेको छ ।
सरकारले लकडाउनको समयमा एक जिल्लाबाट अर्काे जिल्ला, एक स्थानीय तहबाट अर्काे स्थानीय तह जान रोक लगाएपछि सोको कार्यान्वयन गर्न गाउँपालिकाले म्यादी प्रहरी भर्ना गरेर सुरक्षा दिन लागेको हो । गाउँपालिकाले एक विज्ञप्ति जारी गर्दै म्यादी प्रहरीका लागि इच्छुकले सम्पर्क गर्न सूचना जारी गरेको छ ।
त्यस्तै लकडाउन कडाई गर्न अछाम जिल्लाको मेल्लेख गाउँपालिका र बाजुरा जिल्लाको बुढिगंगा नगरपालिका जोड्ने बुढिगंगा नदीको पुल मेल्लेख गाउँपालिकाले भत्काइ दिएको छ । यसअघि प्युठान स्वर्गद्वारी नगरपालिका वडा नम्वर ५ मा पनि पुल भत्काइएको थियो । लकडाउनलाई प्रभावकारीरुपमा कार्यान्वयन गर्न ग्रामिण क्षेत्रमा स्थानीयले ढुंगामुढा र तारबार लगाएर बाटो बन्द गर्ने गरेका छन् ।
यता तनहुँको बन्दीपुर गाउँपालिकाले लकडाउन उल्लंघन गर्नेलाई एक हजार जरिवाना गर्ने भएको छ । यसैगरी चौतारी, चोक र सार्वजनिक स्थलमा अनावश्यक भेला गर्नेलाई पनि एक हजार, जुवा तास खेल्ने र खेलाउने र हेर्नेलाई १० हजार जरिवाना तोकेको छ । कालोबजारी गर्नेलाई दश हजार, तोकिएको समयमा अत्याआवश्यक सामानको पसल नखोल्नेलाई पाँच हजार, क्यारिमबोर्ड, र्पोट खेल्ने वा खेलाउनेलाई तीन हजार, मदिरा पसल खोल्नेलाई दुई हजार, समूह मिली खेलिने विभिन्न खेल खेल्ने र खेलाउनेलाई पाँच हजार र औषधी पसल नखोल्नेलाई १५ हजार जरिवाना तोकिएको गाँउपालिका अध्यक्ष पूर्णसिंह थापाले जानकारी दिए ।































प्रतिक्रिया