अहिले पुरै देश लकडाउनको अवस्थामा छ । यसबेला अन्य स्टोरहरु संगसंगै ब्युटी पार्लरहरु पनि बन्द भएका छन् । जसकारण जो महिलाहरु पार्लर गएर फेसियल गर्थे र जो बजारबाट सामान किनेर घरमै फेसियल गर्थे उनीहरुलाई निकै समस्या परिरहेको छ । यहि समस्याको हल आज हामीले लिएर आएका छौँ । घरबाहिर निस्कदा मात्र नभई घर भित्रै बस्दा पनि हामीले आफ्नो स्किनको केयर गर्नुपर्ने हुन्छ । त्यसैले लकडाउनको समयमा घरमा उपलब्ध सामानहरुबाट घरमै कसरी स्किन केयर गर्न सकिन्छ भनेर बताउदैछौँ । यसलाई तपाई लकडाउनमा मात्र नभई जुनसुकै बेला पनि प्रयोग गर्न सक्नुहुन्छ ।
१. क्लिन्जीङ
सर्वप्रथम आफ्नो फेसमा भएको सम्पूर्ण फोहर अथवा मेकअप हटाउन फेस क्लिन गर्नुपर्ने हुन्छ । त्यसमाथि पनि डबल क्लिन्जीङ गर्नुभयो भने तपाईको फेसमा भएको सम्पूर्ण मेकअप मज्जाले सफा हुन्छ । त्यसैले सुरुमा ओलिभ ओयल हातमा थोरै लिएर हल्का मसाज गर्दै आफ्नो मेकअप हटाउनुहोस् । यदि ओलिभ ओयल छैन भने तपाई आल्मन्ड ओयल, कोकोनट ओयल अथवा बेबी ओयल पनि प्रयोग गर्न सक्नुहुन्छ । ओयल बेस क्लिन्जर पछि तपाईले रेगुलर जुन फेसवास प्रयोग गर्नुहुन्छ त्यसले फेस धुनुहोस् ।
२. स्टिमीङ्ग
फेस राम्रोसँग क्लिन भएपछी फेस स्टिम गर्नुहोस् । यसले तपाईको फेसको छिद्र (पोर्ज) खुलाउँछ । स्टिमको लागी आफ्नो फेस साईजको कुनै भाँडामा पानि तताउनुहोस् र तातो पानीको बाफ फेसको वरिपरी ५ मिनेट जति लिनुहोस् । अथवा तपाई तातो पानीमा सफा कपडा भिजाएर त्यस कपडा फेसमा राखेर पनि स्टिम गर्न सक्नुहुन्छ । स्टिम पछि तपाईको फेसमा पिम्पल, ब्ल्याकहेड, ह्वाईटहेड छन् भने क्युटिपको साहाराले बिस्तारै निचोरेर निकाल्नुहोस । स्टिम धेरै गरेमा फेस ड्राई हुने हुँदा यसलाई हप्तामा २ अथवा ३ पटक मात्र गर्नुहोस् ।
३. स्क्रब
फेसको डेड स्किन निकाल्न स्क्रब गर्नु निकै महत्वपूर्ण हुन्छ । जसको लागी तपाई १ चम्चा चामलको पिठो, १ चम्चा गोलभेँडाको रस र आधा चम्चा एलोभेरा जेल लिएर मिक्स गर्नुहोस र फेस र ओठमा लगाएर बिस्तारै २-३ मिनेटसम्म स्क्रब गर्नुहोस् । तपाई चामलको पिठोको साटो बेसनको पिठो, कफी अथवा ब्राउन सुगर पनि लिन सक्नुहुन्छ । यसलाई पनि हप्तामा २ या ३ पटक मात्र गर्नु राम्रो हुन्छ ।
४. फेस मास्क
घरमा उपलब्ध सामानहरुबाट तपाई धेरै किसिमका फेस मास्कहरु बनाउन सक्नुहुन्छ । तपाईको फेसलाई के चाहिएको छ त्यस किसिमको मास्क लगाउनुपर्ने हुन्छ । तपाईको फेस ड्राई छ भने हाईड्रेशनको लागी आधा टुक्रा केरा, १ चम्चा दहि, आधा चम्चा मह र उपलब्ध भएमा थोरै ग्लिसिरिन राखी मिक्स गरेर लगाउनुहोस् । यदि तपाईको फेस ओइली छ भने १ चम्चा काँचो दुध, १ चम्चा कफी, आधा चम्चा मह र ४-५ थोपा कागतीको रस मिक्स गरेर लगाउनुहोस। एक्नेप्रोन स्किन छ भने १ चम्चा बेसार, आधा चम्चा एलोभेरा जेल, आधा चम्चा कागतीको रस र उपलब्ध भएमा ४-५ थोपा एप्पल साईडर भेनिगर राखी मिक्स गर्नुहोस फेसमा लगाउनुहोस् । १०-१५ मिनेटमा मास्क सुकेपछि सफा पानीले धुन सक्नुहुन्छ ।
५. टोनर
तपाईलाई केहि घरमै बनाउन सकिने टोनरहरु बारेमा जानकारी दिन चाहान्छौँ । ४-५ वटा गुलाफ लिनुहोस् र त्यसको पत्र चुडेर २ कप पानीमा राखी उमाल्नुहोस र तपाई रोज वाटर टोनरको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । त्यस्तै ग्रीन टिलाई तातो पानीमा भिजाउनुहोस र चिसो भएपछी उक्त पानीलाई पनि प्रयोग गर्न सक्नुहुन्छ । त्यसरी नै २-३ पटक राम्रोसंग पखालेको चामलमा सफा पानि राखेर ३ घण्टासम्म भिजाउनुहोस र उक्त पानीलाई पनि तपाई टोनरको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । त्यसरी नै एलोभेरा जेल र रोज वाटर बराबर मात्रामा मिक्स गरेर पनि तपाई टोनर बनाउन सक्नुहुन्छ । यी टोनरहरु १ चोटी बनाएपछि बढीमा १० दिनसम्म मात्र प्रयोग गर्नुहोला । सकेसम्म सफा बोतलमा हाली फ्रिजमा राख्नुहोला र प्रयोग गर्दा राम्रोसंग हल्लाएर प्रयोग गर्नुहोला ।
६. मोइस्चराईजर
मोइस्चराईजर घरमै बनाउनको लागी ३ ठुलो चम्चा एलोभेरा जेल लिनुहोस् । त्यसमा ग्रीन टि भिजाएको पानी १ चम्चा, आधा चम्चा ग्लिसिरिन, १ चम्चा रोज वाटर र उपलब्ध भएमा २ वटा भिटामिन-ई क्याप्सुल राखेर क्रिमको रुप नआएसम्म चम्चाले फिट्नुहोस । र उक्त क्रिमलाई तपाई मोइस्चराईजरको रुपमा प्रयोग गर्न सक्नुहुन्छ । यसलाई पनि सकेसम्म फ्रिजमा नै राख्नुहोला ।
७. सन्सक्रिन
माथिका सबै स्टेपहरु प्रयोग गर्नुभयो तर सन्सक्रिन प्रयोग गर्नुभएन भने तपाईको सम्पूर्ण मेहेनत खेर जान्छ । त्यसैले घर भित्रै बस्दा पनि सन्सक्रिन लगाउनु जरुरी हुन्छ । यसलाई घरमा बनाउन जिङ्कअक्साईडको आवश्यकता पर्दछ । यो घरमा उपलब्ध त हुँदैन तर अरु पसलहरु बन्द भएपनि अहिले मेडिकल भने खुल्ने भएकोले नजिकैको मेडिकलमा गएर तपाई सजिलै किन्न सक्नुहुन्छ । जसलाई तपाई बेबी लोसन अथवा माथि दिईएको मोइस्चराईजरमा मिक्स गरेर लगाउन सक्नुहुन्छ ।





























प्रतिक्रिया