प्रदेश नं ५ : कपिलवस्तुका मृतकको कोरोना रिपोर्ट नेगेटिभ

प्रदेश नं ५ : कपिलवस्तुका मृतकको कोरोना रिपोर्ट नेगेटिभ

केन्द्रबिन्दु
0
Shares

कपिलवस्तु ।

कपिलवस्तु अस्पतालको आइसोलेशन वार्डमा उपचारका क्रममा मृत्यु भएका एक युवकको कोरोना भाइरस परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । कपिलवस्तुको विजयनगर २ जर्लैया घर भएका उनको सोमबार साँझ उपचारका क्रममा मृत्यु भएको थियो ।

एक दिन अघि नै कोरोनाको आंशका गर्दै उनको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा किशोर बञ्जााडेले बताए । बिरामीलाई शुक्रबार शिवराज नगरपालिकाको चन्द्रौटामा रहेको अस्पतालबाट सिफारिस गरी कपिलवस्तु अस्पताल पठाइएको थियो ।

‘छाती दुख्ने, ज्वरो आउने जस्ता लक्षण देखिएकाले आइसोलेशनमा राखेर उपचार गरिएको बञ्जाडेले बताए । रिपोर्ट नेगेटिभ आएकाले उनको शव परिवारको जिम्मा लगाइने प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताए ।

नेपालगञ्जमा कोरोना जाँच यन्त्र जडान
राँझा –कोभिड–१९ को परीक्षण गर्न नेपालगञ्जमा पोलिमर चेन रिएक्सन (पिसिआर) मेशिन जडान शुरु भएको छ । बाँके र बर्दिया जिल्लाका शङ्कास्पद बिरामीलाई लक्ष्य गरी भेरी अस्पतालमा कोरोना भाइरस परीक्षणका लागि यन्त्र जडान मंगलबारदेखि शुरु भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा प्रकाश थापाले जानकारी दिए ।

उनका अनुसार नेपालगञ्ज आइपुगेको यन्त्र जडान गर्न शुरु गरिएको छ । यन्त्र जडान गरेर एकदुई दिनमै कोरोना भाइरस परीक्षण शुरु गरिने छ । भेरी अस्पतालमा जडान भइरहेको यन्त्रले एक दिनमा सय जना जतिको कोरोना भाइरस नमूना परीक्षण गर्न सक्नेछ । भेरी अस्पतालमा कोरोना परीक्षण गर्ने पिसिआर मेशिन खरीद तथा जडानका लागि प्रदेश सरकारले आफैं खर्च व्यहोर्ने निर्णय गरिसकेको छ ।

चार सय एकान्तबासमा
बाँकेमा स्थानीय तहले सञ्चालन गरेका एकान्तवासमा चार सय जना भन्दा बढी निगरानीमा छन् । तीमध्ये अहिलेसम्म ३१ जनाको नमूना जाँच भएको छ भने २३ जनाको नमूना परीक्षणका लागि काठमाडौँ पठाइएको स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाहले जानकारी दिए ।

रगत अभाव नहुन दिन पहल
कोभिड–१९ सङ्क्रमण रोकथामका लागि जारी बन्दाबन्दीमा बिरामीलाई रगतको अभाव नदिन पहल गरिएको छ । बन्दाबन्दीका कारण बाँकेस्थित अस्पतालमा रगतको अभाव भएपछि अन्तर पार्टी युवा सञ्जाल बाँकेले २४ सै घण्टा बिरामीलाई रगत उपलब्ध गराउने व्यवस्थाको शुरुआत गरेको छ ।
रगतका अभावमा रहेका बिरामीलाई रगत उपलब्ध गराउन सञ्जालले सम्पर्क व्यक्ति तोकेर रगत सङ्कलनदेखि बिरामीलाई उपलब्ध गराउन सहजीकरण गर्दै आएको नेकपा बाँकेका कार्यालय सदस्य रत्न खत्रीले जानकारी दिए ।रासस

Skip This
Skip This
Logo