चीनसँग खरिद गरिएका स्वास्थ्य सामाग्री सम्बन्धी स्वेतपत्र जारी गर्न राप्रपाको माग

चीनसँग खरिद गरिएका स्वास्थ्य सामाग्री सम्बन्धी स्वेतपत्र जारी गर्न राप्रपाको माग

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले चीनसँग खरिद गरिएका स्वास्थ्य सामाग्री सम्बन्धी स्वेतपत्र जारी गर्न सरकारसँग माग गरेको छ । मंगलबार केन्द्रीय सचिवालय प्रमुख धुव्रबहादुर प्रधान र भास्कर भद्राद्धारा संयुक्त रुपमा जारी गरिएको प्रेस विज्ञप्तिमा त्यस्तो माग गरिएको हो ।

‘कोभिड–१९ (कोरोना भाइरस) नियन्त्रण सम्बन्धी चीनबाट सामाग्री खरिद गर्दा एकातिर खरिदमा भ्रष्टाचार भएको र अर्कोतर्फ खरिद गरिएका सामाग्रीहरु गुणस्तरहिन रहेको चर्चासँगै अब उप्रान्तका दिनमा आवश्यक पर्ने उपचारजन्य सामाग्री नेपाली सेना मार्फत खरिद गरेर ल्याउने भन्ने चर्चा व्यापक छ’– विज्ञप्तिमा उल्लेख गरिएको छ– ‘यदि प्रचारमा आएको कुरामा सत्यताको अंश छ भने यो भन्दा निकृष्ट कार्य एवं अपराध अरु हुनै सक्दैन । यसबारे सरकारले अविलम्ब स्वेतपत्र जारी गर्न र अपराध र भ्रष्टाचारमा संलग्न जो कसैमाथि कडा कानुनी कारबाही गर्न सरकारसमक्ष माग गर्दछौँ । भ्रष्टाचार र अनियमितताका यी र यस्तै अन्य संवेदनशील विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत गम्भीर ध्यानाकर्षण गराउँछौँ ।’

त्यस्तै विश्वव्यापी रुपमा फैलिएको संक्रमणबाट बच्न सरकारले सतर्कता अपनाएपनि त्यो पर्याप्त नभएको राप्रपाको ठहर छ । राप्रपाले देशमा भाइरसको संक्रमण दोस्रो अवस्थामा प्रवेश गरेको भन्दै यही विन्दुमा रोक्नुपर्नेमा सरकारको ध्यानकर्षण गराएको छ । प्रकोप नियन्त्रण र राहत व्यवस्थापन कार्यमा प्रदेश र स्थानीय तहका सरकारहरुलाई थप जिम्मेवारी दिएर आवश्यक श्रोत साधन उपलब्ध गराइ केन्द्र, प्रदेश र स्थानिय तहमा सर्वदलिय संयन्त्र बनाउन राप्रपाको सुझाव छ ।

त्यस्तै संक्रमणको अवस्था भयावह हुनबाट बचाउन परीक्षणको दायरा बढाई विशेष गरी सुदूरपश्चिम प्रदेशलाई उच्च प्राथमिकतामा राख्न सरकारसँग राप्रपाको माग छ । भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आवश्यक उपकरण तथा साधनको व्यवस्था गरी भारत र अन्य मुलुकबाट स्वदेश फर्किएका सबै नागरिकको स्वास्थ्य परीक्षण निर्धारित अवधिभित्रै सम्पन्न गरी आवश्यक क्वारेन्टाइनको व्यवस्था गर्न समेत राप्रपाको माग छ । साथै भाइरसको संक्रमण रोकथामका लागि अग्रणी मोर्चामा रहेर काम गर्ने स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुको मनोबल बढाउन आवश्यक व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण समेत गराएको छ ।

त्यस्तै अष्ट्रेलिया लगायत विश्वको विभिन्न मुलुकमा अध्ययनरत नेपाली विद्यार्थी र अस्थायी रुपमा विविध पेशा–व्यवसाय गर्दै आएका नेपाली नागरिकको अवस्थाबारे जानकारी लिई आवश्यक प्रबन्ध गर्न समेत सरकारसँग माग गरिएको छ । राप्रपाले दशगजा क्षेत्रमा शरणार्थी जस्तो अवस्थामा रहेका सम्पूर्ण नेपाली नागरिकलाई अविलम्ब स्वदेशभित्र ल्याई आवश्यक परीक्षण गर्न माग गरेको छ ।

त्यस्तै राप्रपाले लकडाउनका कारण ज्याला मजदूरी गर्नबाट बन्चित श्रमिकलाई वितरण गरिएको राहतमा राजनीतिकरण भएको भन्दै त्यसको विरोध गरेको छ । विश्वव्यापी रुपमा फैलिएको भाइरसको संक्रमण रोक्न राप्रपा सरकार तथा जनताको साथमा रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

पूरा प्रेस विज्ञप्ति

Skip This
Skip This
Logo