राष्ट्रबैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त (भिडियोसहित)

राष्ट्रबैंकको गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

नेपाल राष्ट्र बैंकको १७ औँ गभर्नरमा महाप्रसाद अधिकारी नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिकारीलाई गभर्नरमा नियुक्त गरेको हो । मन्त्रिपरिषदले उनलाई आगामी पाँच बर्षका लागि गभर्नर नियुक्त गरेको हो । अधिकारी यसअघि लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्यरत थिए ।

सरकारले गभर्नर नियुक्तिका लागि अर्थमन्त्री डा.युवराज खतिवडाको संयोजकत्वमा तीन सदस्यीय समिति बनाएको थियो । चैत्र १८ गते सो समिति बनेको थियो भने समितिमा पूर्वगभर्नरका तर्फबाट विजयनाथ भट्टराई र पूर्व अर्थसचिव कृष्णहरि बाँस्कोटा रहेका थिए ।

सो समितिले अधिकारीसहित राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणी शिवाकोटी र पूर्वअर्थसचिव डा.राजन खनाल गरि तीन जनाको नाम सिफारिस गरेको थियो । गभर्नर सिफारिस समितिले आजै तीन जनाको नाम सिफारिस गरेको थियो ।

डा. चिरन्जीबि नेपाल चैत्र ५ गते पाँच वर्षे कार्यकाल सकेर बिदा बसेपछि गभर्नरको पद खाली भएको थियो । गभर्नरको पद खाली भएपछि सरकारले बरिष्ठ डेपुटी गभर्नर शिवाकोटीलाई कामु गभर्नरको जिम्मेवारी दिएको थियो । अधिकारी यसअघि पनि गभर्नरको सिफारिसमा परेका थिए ।

छनोट समितिले तत्कालिन प्रधानमन्त्री सुशील कोइरालाका आर्थिक सल्लाहकार रहेका डा.नेपाल र राष्ट्र बैंकका डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र अधिकारी गरी तीन जनाको नाम सिफारिस भएको थियो । गभर्नर नियुक्तिमा अन्तिम निर्णय प्रधानमन्त्रीको हुने भएकाले डा.नेपाललाई पाँच वर्षका लागि गभर्नरमा नियुक्ती गरिएको थियो ।

समितिले गभर्नरका लागि सिफारिस गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, ब्यवस्थापन तथा वाणिज्य कानुन क्षेत्रको लब्धप्रतिष्ठित ब्यक्तिहरू मध्येबाट दुईजना छान्नु पर्ने राष्ट्र बैंक ऐन ०५८ मा उल्लेख छ । एकजना राष्ट्र बैंकका डेपुटी गभर्नर मध्येबाट छान्नुपर्छ । समितिले तीन जनाको नाम सिफारिस गरेपछि सरकारले तीनै ती जना मध्येबाट एक जनालाई गभर्नरमा नियुक्ती गर्छ । सोही कानुनी व्यवस्था अनुसार अधिकारीलाई सरकारले गभर्नरमा नियुक्ति गरेको हो ।

अधिकारीको संलग्नता
अधिकारीसँग राष्ट्र बैंकमा ३० वर्ष काम गरेको अनुभव छ । राष्ट्र बैंक रहँदा उनले वित्तीय ब्यवस्थापन, बैंकिङ अफिस, बैंक सुपरिवेक्षण, बैंक तथा वित्तीय संस्था नियमन विभाग लगायतका विभागमा बसेर काम गरेका थिए । अधिकारी सन् २०१० को डिसेम्बर महिनामा डेपुटी गभर्नर नियुक्त भएका थिए । राष्ट्र बैंकमा पाँच वर्ष डेपुटी गभर्नरको रुपमा काम गरेपछि उनले अवकास पाएका थिए भने त्यसको केही समय लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतको रुपमा जिम्मेवारी सम्हालेका थिए । उनले सन् १९८९ मा बिजनेस एड्मिनिस्ट्रेसनमा स्नातक गरेका थिए । त्यस्तै, सन् १९९३ मा भारतबाट चार्टर्ड एकाउन्टेन्टको डिग्री हासिल गरेका थिए ।

अर्थमन्त्रीलाई अधिकारीले गुन लगाएको श्रृंखला
गभर्नर नियुक्तिको चर्चा चलिरहँदा अर्थमन्त्री डा. खतिवडाले चार्टर्ड एकाउन्टेन्ट गरेको व्यक्ति गभर्नर हुन सक्ने भन्दै आएका थिए । अधिकारी अर्थमन्त्री नजिकका मानिन्छन् । अर्थमन्त्री खतिवडा गभर्नर हुँदा अधिकारीले उनलाई निकै सहयोग गरेका थिए । सोही गुन लगाउन अर्थमन्त्री खतिवडाले अधिकारीलाई गभर्नर बनाउन ठूलै कसरत गरेको बताइन्छन् । अधिकारीले राष्ट्र बैंकमा लगाएको गुन तिर्न अर्थमन्त्री खतिवडाले लगानी बोर्डको सिइओमा पनि सिफारिस गरेका थिए । उनकै इच्छामा अधिकारी लगानी बोर्डमा सिइओ भएका थिए । गभर्नर नियुक्ति विशुद्ध राजनीतिक नियुक्ति हो । गभर्नर नियुक्तिमा प्रधानमन्त्रीको अन्तिम निर्णय हुन्छ । त्यसैले प्रधानमन्त्रीको निकट व्यक्ति नै गभर्नर हुने गरेको इतिहास छ । नेपालको इतिहासमा लामो समयपछि अर्थमन्त्री निकट व्यक्ति गभर्नर हुन सफल भएका छन् ।

शक्ति केन्द्र नधाएका अधिकारी
नयाँ गभर्नरको चर्चा सुरु भएपछि आकांक्षीहरु शक्तिकेन्द्र धाउने क्रम चर्काे रुपमा चल्यो । गभर्नरका लागि चर्काे दौडधुप भइरहेकै बेला कम दौडधुप गर्ने एक्ला आकांक्षी अधिकारी रहेको बताइन्छ । उनले गभर्नरका लागि न बढी दौडधुप गरे न कसैसँग झुके । अधिकारी निकट स्रोत भन्छ ‘उहाँले दौडधुप नै गर्नु भएको थिएन, पैसा खुवाएर काम गराउँला भन्ने त सोच्नै पर्दैन ।’ पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीले पनि कम दौडधुप गर्नेलाई गभर्नर बनाइने इच्छा राखेको बताइन्छ ।

Skip This
Skip This
Logo