भारतबाट भित्रिए ग्यास बोकेका गाडी, उपभोक्ताले भने पाएनन् ग्यास

भारतबाट भित्रिए ग्यास बोकेका गाडी, उपभोक्ताले भने पाएनन् ग्यास

केन्द्रबिन्दु
0
Shares

वीरगञ्ज ।

लकडाउनका अवधिमा आपूर्ति सहज बनाउनका लागि भारतबाट आवश्यक खाद्य सामग्री र इन्धन बोकेका करीब दुई सय गाडी भित्रिएको छ । पर्सास्थित वीरगञ्ज एकीकृत सुख्खा बन्दरगाहबाट तरकारी र फलफूल बोकेका २० गाडी, पेट्रोलियम पदार्थ बोकेका ७० ट्याङकर, खाना पकाउने एलपिजी ग्यासका ५३ र मालवाहक ट्रक १७ भित्रिएको प्रदेश नं २ सामाजिक विकास मन्त्रालयका सचिव डा रामप्रसाद घिमिरेले जानकारी गराए।

सोही नाकाबाट रिफाइन तेल बोकेका १४ गाडी र तीन कन्टेनरका साथै महोत्तरी जिल्लाको नाका भएर तीन मालवाहक ट्रक पनि भित्रिएको उनले बताए । यहाँ लकडाउन पूर्णपालना गराउनका लागि पूर्णरुपले कडाइ गरिएको छ । भारतसँग जोडिएका १०९ वटै नाकामा कडाइ गरी आवतजावत बन्द गरिएको छ ।

भारतबाट सहजरुपमा ग्यास र खाद्यान्न आएको बताइएपनि उपभोक्ताले भने सोचेजसरी पाउन सकेका छैनन् । खाद्यान्नमा मूल्य बढी तिर्नु परेको छ भने ग्यासमा महिना दिनदेखि सिलिण्डर लाइनमा राख्नु परेको अवस्था छ ।

दुई हजार सवारी साधन नियन्त्रणमा
अहिलेसम्म लकडाउन उल्लंघन गर्ने दुई हजार १३५ सवारी साधनलाई नियन्त्रणमा लिइएको तथा अत्यधिक मूल्य लिई कालोबजारी गर्ने २५ जनालाई कारवाही गरिएको छ । त्यस्तै प्रदेश नं २ का १४२ क्वारेन्टाइनमा आइतबारसम्म ८६५ जना क्वारेन्टाइनमा, एक हजार ८० जना होम क्वारेन्टाइनमा र २७ जना आइसोलेशनमा बसेको सचिव घिमिरेले बताए ।

आइतबारसम्म प्रादेशिक अस्पतालमा ३४ जनाको स्वाब परीक्षणका लागि लिएको छ । ती मध्ये ६ जनाको नेगेटिभ आएको र अन्यको रिपोर्ट आउन बाँकी रहेको उनले बताए ।

राहतकोषमा ४८ लाख जम्मा
प्रदेश नं २ को सरकारले स्थापना गरेको कोरोना भारइस सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषमा निजामती कर्मचारीबाहेक आजसम्म ४८ लाखभन्दा बढी सहयोग प्राप्त भएको छ । सिभिल बैङ्क जनकपुरस्थित कार्यालयका प्रतिनिधिले आज मुख्यमन्त्री लालबावु राउतलाई पाँच लाखको ट्रान्सफर डिटेल हस्तान्तरण गरेपछि अब सो कोषमा ४८ लाख एक हजार जम्मा भएको छ ।

प्रदेश सरकारले राष्ट्रिय वाणिज्य बैङ्कको जनकपुर शाखामा सञ्चालित कोरोना भारइस सङ्क्रमण, रोकथाम, नियन्त्रण तथा उपचार कोषको खाता नं १२२०५०३०००००१ मा रकम जम्मा गर्न सबैमा आग्रह गरेको छ ।रासस

Skip This
Skip This
Logo