ज्येष्ठ नागरिकलाई दाउरा वितरण

ज्येष्ठ नागरिकलाई दाउरा वितरण

केन्द्रबिन्दु
0
Shares

कैलाली। शीतलहर बढ्न थालेपछि टीकापुर–७ स्थित सत्ती कर्णाली सामुदायिक वनले ज्येष्ठ नागरिकलाई निःशुल्क दाउरा वितरण गर्न सुरुआत गरेको छ । सामुदायिक वन समितिले सोमबारबाट ७५ वर्षदेखि माथिका ११२ घरपरिवारका ज्येष्ठ नागरिकलाई दाउरा वितरण गर्न लागको हो । प्रतिव्यक्ति दुई क्वीन्टलका दरले दाउरा उपलब्ध गराउन लागेको छ ।

शीतलहरमा ज्येष्ठ नागरिकलाई सहज होस् भनेर दाउरा वितरण गरेको वनका अध्यक्ष धनसिंह साउदले बताए । ‘‘७५ वर्षदेखि माथिका ज्येष्ठ सदस्यहरुको सम्मान पनि हुने र चिसोबाट बचाउन घरपरिवारलाई पनि सजिलो हुने भएकाले निशुल्क दाउरा वितरण गर्ने कार्यक्रम ल्याएका हौँ’’, उनले भने, ‘‘अघिल्लो वर्ष चोकचोकमा दाउरा वितरण गरेका थियौँ र यस वर्ष पनि चोकचोकमा दाउरा उपलब्ध गराउदैछौँ । साथै ज्येष्ठ नागरिकको घरमै दाउरा पुर्‍याउन थालेका छौँ ।’’

दाउरा घरमै पाएपछि ज्येष्ठ नागरिक खुशी भएका छन् । ज्येष्ठ नागरिक गम्भीर सिंहले सामुदायिक वनले समस्या बुझेको बताए ‘‘चिसो बढेको छ । यो समयमा वनले घरमै दाउरा ल्याइदियो’’, उनले थपे, ‘‘अब आगो तापेर बस्न पाइने भयो ।’’

एक हजार ४०० उपभोक्ता रहेको सो सामुदायिक वनले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । विसं २०४८ मा स्थानीयले संरक्षण शुरु गरेपछि सामुदायिक वन विसं २०५१ मा दर्ता भएको हो । सत्ती वन ३०० हेक्टर क्षेत्रफलमा फैलिएको छ । हाल सत्ती वनसँग जोडिएका अन्य तीन वटा प्रस्तावित वन पनि संरक्षण गर्न नसकेर समायोजन भएका छन् ।

सामुदायिक वनले विगतमा एम्बुलेन्स, उपभोक्ताको कृषि प्रयोगका लागि दुई वटा ट्र्याक्टर खरिद गरेको थियो । यसबाहेक वनले उच्च मावि सञ्चालन, सामुदायिक सहकारी संस्था र उपभोक्ताका छोराछोरीलाई छात्रवृत्तिको व्यवस्था पनि गरेको छ । त्यसक्षेत्रका नागरिकलाई एम्बुलेन्स सेवा पाउन कठिन भएपछि वनले पुनः एम्बुलेन्स सेवा सुरु गरेको छ ।

Logo