काठमाडौं ।
पुस अन्तिम साता चीनमा पहिलो पटक कोरोना भाइरस पुष्टि मात्र भएन, यो रोगले चिनीयाँको ज्यान पनि लिन शुरू गर्यो । भाइरस यत्तिमै रोकिएन । माघ लागेसँगै यो विश्वभरि नै फैलिन शुरु भयो ।
चीन बाहिर शुरुमा थाइल्याण्ड हुँदै जापान, दक्षिण कोरिया, युरोप र त्यसपछि अमेरिका । जसै भाइरस संसारभर फैलिंदै गयो, विश्व स्वास्थ्य संगठनले कोभिड १९ लाई महामारी घोषणा गर्यो ।
महामारी घोषणा गर्दै गर्दा कोरोना भाइरस पहिलो एक लाख मानिसमा संक्रमण हुन ६३ दिन लाग्यो । त्यसपछिको दोस्रो एक लाखमा एघार दिनमै संक्रमण पुष्टि भयो । अझै भयावह बन्दै यो भाइरस केवल चार दिनमै त्यसपछिको एक लाख मानिसमा देखियो ।
यसरी द्रूतगतिमा कोरोना भाइरस विश्वभरी विस्तार हुंदै गएको हो । पत्याउनै गाह्रो हुने गरि त्यसपछि केवल ९ दिनमै यो भाइरस विश्वका १ सय ८८ मुलुकका दश लाख मानिसमा देखियो ।
विश्वका कति मुलुकमा कोरोना भाइरस पुग्यो त ? अनि कुन कुन मुलुकमा भाइरस प्रवेश नै गरेन ?
नेपालदेखि निकारागुवा र चीनदेखि चिलीसम्म संक्रमित र मृत्यु हुनेको संख्या बढीरहेको छ । विश्वभरिका अस्पतालहरुमा भाइरस संक्रमितहरुको थामिनसक्नु भिड बढिरहेका बेला केही मुलुक यस्ता पनि छन् की जसले कोरोना भाइरसलाई लिएर अचम्म मानिरहेका छन् । किनभने, ती मुलुकमा भाइरस प्रवेश नै गरेको छैन ।
संयुक्त राष्ट्र संघले मान्यता दिएका मुलुकको संख्या विश्वमा १ सय ९३ छन् । यस्तै विश्व फुटबल महासंघ, फिफाले विश्वभरीका २ सय ६ राष्ट्र पहिचान गरि मान्यता दिएको छ ।
शुक्रबारसम्ममा विश्वका १८ मुलुकमा कोरोना भाइरस देखिएको छैन । मुख्यगरि प्रशान्त महासागर वरपर रहेका साना साना टापु मुलुकहरु, केही मध्य एशियाली मुलुक, केही अफ्रिकी र एउटा मध्यपूर्वी मुलुकमा भाइरस नदेखिएको हो ।
भाइरस नदेखिएको प्रशान्त महासागरका टापु मुलुकहरु कोमोरोस, किरिबाति, लेसोथो, मार्सल आइल्याण्ड, माइक्रोनेसिया, नउरु, पलाउ, समोआ, साओ तोमे, सोलोमन आइल्याण्ड, तुभालू, सोगां र भानुआतु हुन् ।
त्यस्तै, उत्तर कोरिया, ताजकिस्तान, तुर्केमिनिस्तान, यमन र दक्षिणी सुडानमा पनि कोरोना संक्रमण अहिलेसम्म देखिएको छैन ।
प्रशान्त महासागर वरपरका साना साना टापुमा कोरोना भाइरस नदेखिनुका कारण यी मुलुकमा कोही पनि विदेशी यात्रु नपुगेर रहेको बताइएको छ । राष्ट्र संघका अनुसार यी मुलुक विश्वमै कम जनसंख्या भएका र बाँकी विकसित मुलुकसँग गहिरो नाता नभएका मुलुक हुन् । यसको मतलव यी साना साना मुलुक सधैं विश्वका बाँकी मुलुकबाट आइसोलेसनमा छन् । त्यसैले सामाजिक दूरी यी मुलुकको नियती नै हो ।
यसो भएपछि कोरोना यी मुलुकमा पुग्ने नै भएन । त्यसैपनि विश्वभर अन्य मुलुकका बढी यात्रु पुग्ने देश कोरोनाबाट बढी संक्रमित छन् । जस्तै, यूरोपेली मुलुकहरु । विश्वमै यूरोप पर्यटनको प्रमुख गन्तब्य हो ।
कोरोनाले नछोएका प्रशान्त महासागर वरपरका करीब एक दर्जन मुलुकको जनसंख्या दश हजारदेखि तीन लाखसम्म छन् । यी मुलुकका कोहीपनि मानिस अन्य मुलुकको भ्रमण गर्दैनन् । त्यही पनि यी मध्ये केही मुलुकका शासकले भाइरस पस्ने डरले लकडाउन अवलम्बन गरेको बीबीसीले उल्लेख गरेको छ ।
कोराना भाइरस नपुगेका बाँकी मुलुकहरु उत्तर कोरिया, ताजकिस्तान, तुर्केमिनिस्तान, यमन, दक्षिण सुडानजस्ता मुलुक कसरी जोगिए भन्नेबारे अझै पनि अनुसन्धान जारी छ ।
यसैपनि उत्तर कोरियाभित्र के के भइरहेको छ भन्ने सामान्य समाचार पनि बाहिर आउँदैन । यस्तोमा उत्तर कोरियाली शासक किम जंग, उनले दक्षिणी कोरियाको सिमानाबाट भाइरस मुलुकभित्र नछिरोस् भनेर ती क्षेत्रमा सेना तैनाथ गरेको समाचारहरुमा जनाइएको छ । उत्तर कोरिया विश्वबाट सधैं आइसोलेटेड छ ।
त्यस्तै, मध्यपूर्वी मुलुक यमन र अफ्रिकी मुलुक दक्षिण सुडान युद्धग्रस्त मुलुक हुन् । युद्धले क्षतविच्छेद भएका यी मुलुकमा पछिल्लो पाँच वर्ष यता कोहीपनि विदेशीको आवागमन छैन । यसो भएपछि भाइरस संक्रमणको खतरा निकै कम भयो ।
दुई मध्य एशियाली मुलुक तुर्केमिनिस्तान र ताजकिस्तानमा भाइरस नपुग्नुका पछाडी यी मुलुकले समयमै अपनाएको सावधानी प्रमुख रहेको बताइएको छ ।
चीनसँग निकट यी मुलुकले गत डिसेम्बरमा चीनको वुहानमा भाइरस देखिने वित्तिकै सबै सम्पर्क विच्छेद गरेका थिए । यतिसम्मकी, चीनमाथी नै निर्भर यी मुलुकले चिनीयाँ मालसामान बोकेका ट्रकलाई समेत मुलुक प्रवेश गर्न रोक लगाए ।
नेपाल पनि विश्वमा कोरोनाबाट अति कम प्रभावित मुलुकको सूचिमा छ । तर कोरोनाको प्रभाव बढ्दै गइरहेको निकट छिमेकी भारतबाट निर्वाध रुपमा मालसामान बोकेका ट्रक नेपाल प्रवेश गरिरहेका छन् । कोरोनाबाट जोगिन केही समय भारतीय गाडीलाई पनि निषेध गर्न सके नेपाल यो विश्व महामारीबाट साँच्चै नै जोगिन सक्छ ।
यसैपनि यो महामारीको एउटै उपचार भनेको पूर्ण लकडाउन नै हो । त्यही बाटो समाएको चीन कोरोनाको उद्गम मुलुक भएपनि अहिले कोरोना फ्रि मुलुक भनेर विश्वमा चिनिन थालेको छ ।





























प्रतिक्रिया