कोभिड—१९ः ‘होम क्वारेन्टाइनमै छठ पर्व’

कोभिड—१९ः ‘होम क्वारेन्टाइनमै छठ पर्व’

केन्द्रबिन्दु
0
Shares

महोत्तरी ।
मिथिला क्षेत्रमा श्रद्धा र निष्ठापूर्वक मनाइने चैती (बासन्ती) छठ पर्वका सबै विधि यसपाली महोत्तरीमा घरघरमै सम्पन्न गरिँदै छ । विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ भाइरसको रोकथाममा सरकारले उच्च सतर्कता अपनाउँदै देशैभर लकडाउन गर्ने निर्णय गरेसँगै यसपालिको चैती छठ होमक्वारेन्टाइनमा मनाइएको हो ।
यस पर्वमा आज नदी वा पवित्र जलाशयमा पुगेर अस्ताउँदा सूर्यलाई अर्घ दिने विधि घरघरै गरिने तयारी देखिएको हो । पर्वको मुख्य दिन आज निराहार ब्रत बसेर साँझ अस्ताउँदा सूर्यलाई अर्घ दिने विधि ‘सझुका–अरख’ सम्पन्न गरिने तयारी छ । सूर्यदेबको उपासना गरिने यो पर्व उमङ्ग र उल्लासमय वातावरणमा मनाइने परम्परा रहँदै आएपनि यसपाली कोभिड–१९ को सङ्क्रमण बढ्न नदिन क्वारेन्टाइनभित्रै घरकै धारामा स्नान र अर्घ दिइने ब्रतालुले बताएका छन् । छठमा पवित्र जलाशयमा घाट सजाउने मैथिल परम्परा यसपाली ‘लक डाउन’ले नहुने भएको हो ।

आज अस्ताउँदा सूर्यलाई अर्घ दिएर भोलि सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ दिएपछि पर्व सम्पन्न हुन्छ । यसअघि पर्वको पहिलो दिन गत शनिबार ‘नहाय–खाय’, दोश्रो दिन आइतबार दिनभरि उपवास बसेर राती सख्खरमा पकाइएको खिरमात्र खाएर ‘खरना’ विधि ब्रतालुले सम्पन्न गरिसकेका छन् । शरद र बसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य उपासनाको पर्व हो । शरद ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र बसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ ।

छठ पर्वमा ठकुवा, भुसुवा (कसार) सहितका मिष्टान्न परिकारसहित पाकेका केराको घरि र अन्य फलफूल तथा दहीसहितका सामग्री ब्रतालुले अर्घका बेला सूर्यतर्फ देखाउने गर्छन् । चैती छठजस्तै चैत शुक्ल प्रतिपदासँगै शुरु भएको बासन्ती नवरात्र (चैते दशैं) पनि यसपाली सुनसान देखिएको छ ।—रासस

Skip This
Skip This
Logo