कोरोना संक्रमित सेलिब्रेटीहरु

कोरोना संक्रमित सेलिब्रेटीहरु

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसले अहिले संसार आतंकित छ । यसको संक्रमणबाट आइतबार विहानसम्म विश्वका ३० हजार ८५७ ले ज्यान गुमाइसकेका छन् भने ६ लाख ६५ हजार ६१६ जना संक्रमित भइसकेका छन् । २०१ देशमा कोरोना फैलिएको छ । सर्वसाधारणका अलावा विश्व मनोरञ्जन बजारका सेलिब्रिटी पनि यसको चपेटामा परेका छन् । को छन् त कोरोना पीडित सेलिब्रेटीहरु :

१. टम ह्याङ्क्स र उनकी श्रीमती रीता विल्सन
६३ वर्षीय हलिउड अभिनेता टम ह्याक्स कोरोना संक्रमित हुने पहिलो सेलिब्रेटी हुन् । उनीसंगै उनकी श्रीमती अभिनेत्री तथा गायिका रीता विल्सन पनि संक्रमित भएकी थिईन । उनीहरुले ११ मार्चमा सोसल मिडियामार्फत आफूहरु कोरोना पीडित भएको जानकारी गराएका थिए । कोरोना भाइरस पोजेटिभ देखिए पश्चात अस्ट्रेलियाको क्विन्सल्याण्ड हस्पिटलको आइसोलेसनमा २ हप्ता भन्दा बढी बिताएका उनीहरु पूर्णरुपमा निको भइसकेका छन् । गत शुक्रबार मात्र लस एन्जल्सको घरमा फर्किएका उनीहरु अहिले पनि घरभित्रै क्वरेण्टाइनमा बसिरहेका छन् ।

२. डेनियल डे किम
हलिउड अभिनेता डेनियल डे किम पनि कोरोना संक्रमित हुन् । ५१ वर्षीय किमले १० मिनेटको भिडियो बनाई इन्स्टाग्रामको माध्यमबाट आफूलाई कोरोना भाइरस पोजेटिभ भएको घोषणा गरेका थिए । भिडियोमा उनले आफू न्यूयोर्कबाट हवाई फर्कदै गर्दा घाँटीमा असहज भएको र कोरोनाको अन्य लक्षण नदेखिएपनि सेल्फ क्वरेन्टाइनमा बसेको कुरा उल्लेख गरेका छन् । पछि आफ्नो पर्सनल डाक्टरको सल्लाह अनुसार कोरोना टेस्ट गर्दा पोजेटिभ आएको कुरा पनि उनले खुलाएका छन् । उनी अहिले पनि आइसोलेसनमै छन् । आफ्नो स्वास्थ्यमा सुधार हुँदै आएको उनले सामाजिक संजालमा खुलाएका छन् ।

३. इदरीस एल्बा
ब्रिटिश अभिनेता र संगीतकार इदरीस एल्बाले १६ मार्चमा ट्विटरको माध्यमबाट एक भीडियो सार्वजनिक गरेका थिए जहाँ उनले आफूलाई कोरोना भाइरस भएको कुरा सार्वजनिक गरेका थिए । उनले आफूमा कोरोना भाइरसको कुनै लक्षणनै नदेखिकन परिक्षण गराएका थिए । किनभने उनको सम्पर्कमा भएका एक व्यक्तिमा कोरोना भाइरस देखिएको थियो । उनीसँगै उनकी पत्नी सरबिना धोवारेलाई पनि कोरोना संक्रमण भेटिएको छ । अहिले उनीहरु दुबैजना आइसोलेसनमा छन् र आफ्ना दर्शकहरुलाई कोरोनाबारे जनचेतना फैलाईरहेका छन् ।

४. क्रिस्टोफर हिवु
नर्वेजियन अभिनेता क्रिस्टोफर हिवु पनि कोरोना संक्रमित हुन् । उनले मार्च १६ मा इन्स्टाग्राममा एक तस्बिर साझेदार गर्दै आफूमा कोरोना भाइरस पोजेटिभ भएको बताएका थिए । विश्व प्रसिद्ध टिभी सिरियल गेम अफ थ्रोन्सबाट निकै चर्चा कमाएका उनी अहिले पूरै परिवारसहित आफ्नै घरमा आइसोलेसनमा छन् ।

५. रेचल मैथ्यूज
अभिनेत्री रेचल मैथ्यूज, जसले फ्रोजन २ मा हनीम्यानको चरित्रमा आफ्नो आवाज दिएकी थिइन । उनले पनि आफ्नो परिक्षणमा कोरोना भाइरस पोजेटिभ देखिएको बताएकी छिन् । उनले आफ्नो सामाजिक संजालमार्फत आफू केहि दिन अघिदेखि सेल्फ क्वरेन्टाइनमा रहेको र हाल आइसोलेसनमा रहेको कुरा खुलाएकी छिन् । उनले आफ्ना फ्यानहरुलाई आफ्नो र आफ्नो परिवारको बारेमा ख्याल गर्न र कोरोना भाइरससँग सम्बन्धित कुनै प्रश्न भए अप्ठ्यारो नमानिकन आफूलाई सोध्न सुझाएकी छिन् ।

६. डेबी मजारमा
हलिउड अभिनेत्री डेबी मजारमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ । उनले २१ मार्चमा आफ्नो सामाजिक संजालमा आफूलाई कोरोनाको संक्रमण भएको खुलाएकी थिइन् । उनका अनुसार १५ मार्चदेखि उनीसहित उनका श्रीमान् र बच्चाहरु बिरामी महसुस गर्न लागेका थिए । त्यसैबेलादेखि उनीहरुमा लक्षण देखिने र हराउने भइरहेको थियो । आफ्नो साथीको सल्लाहमा कोरोनाको टेस्ट गराएकी उनी पोजेटिभ देखिए पश्चात घरमै आइसोलेसनमा बसिरहेकी छिन् ।

७. इन्दिरा वर्मा
चर्चित टिभी सिरियल गेम अफ थ्रोन्सकै अर्की कलाकार इन्दिरा वर्मा पनि कोरोना संक्रमित भएकी छिन् । ४६ वर्षिया इन्दिराले पनि सामाजिक संजालमार्फत आफू कोरोना पोजेटिभ भएको जानकारी दिएकी थिइन् । उनले उक्त पोस्टमा आफूलाई निकै गाह्रो भइरहेको बताएकी छिन् । अहिले उनी आफ्नै घरमा आइसोलेसनमा छिन् ।

८. ओल्गा कुरेलेन्को
फ्रान्सेली अभिनेत्री तथा मोडल ओल्गा कुरेलेन्को कोरोनासँग जितेर घर फर्किसकेकी छिन् । ४० वर्षिया ओल्गाले सामाजिक संजालमा पोस्ट गर्दै आफूलाई कोरोना संक्रमण भएको जानकारी दिएकि थिइन । २ हप्ता लामो आइसोलेसनको बसाईपछि मार्च २२ मा उनी घर फर्किएकी हुन् ।

९. दिलिप कुमार
पुराना चर्चित कलाकार दिलिप कुमार पनि कोरोना भाइरसका कारण आइसोलेसनमा छन् । ९७ वर्षीय दिलिपले मार्च १७ मा ट्विटमार्फत आफू कोरोना संक्रमित भएको बताएका थिए । उनले ट्विटमा लेखेका छन् , कोरोना भाइरसका कारण म पूर्ण रुपमा आइसोलेसन र क्वारेन्टाइनमा छु । सायरा (दिलीपकी पत्नी) ले मलाई कुनै इन्फेक्शन नहोस् भनि हर सम्भव मेरो ख्याल गरिरहेकी छिन् ।

१०. कनिका कपुर
बलिउड गायिका कनिका कपुर बलिउडकै पहिलो कोरोना संक्रमित सेलिब्रेटी हुन् । १५ मार्चमा लन्डनबाट भारत फर्किएकी उनमा कोरोना संक्रमण भेटिएको थियो । जसलाई उनी आफैंले सामाजिक संजालमार्फत सार्वजनिक गरेकी थिइन् । हाल उनी लखनउको केजिएमयु अस्पतालको आइसोलेसनमा छिन् । कोरोना देखिए पछि पटक पटक परिक्षण गरिसकेकी उनको पछिल्लो रिपोर्ट पनि कोरोना पोजेटिभ नै देखिएको छ ।
(एजेन्सीको सहयोगमा सिम्रन स्याङ्बो तामाङको रिपोर्ट)

Logo