विपद् कोषमा बनेपा नगरपालिकाको पाँच लाख सहयोग

विपद् कोषमा बनेपा नगरपालिकाको पाँच लाख सहयोग

केन्द्रबिन्दु
0
Shares

काभ्रे ।

सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम नियन्त्रण तथा उपचार कोष’मा बनेपा नगरपालिकाले पाँच लाख सहयोग गर्ने निर्णय गरेको छ ।

नगरपालिकाको शुक्रबार बसेको बैठकले हाल विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ बाट नेपालमा पनि प्रभाव पार्दै गएको अवस्थामा उक्त रोगको सङ्क्रमण रोकथाम तथा नियन्त्रणको कार्य प्रभावकारी रुपमा सञ्चालन गर्न नेपाल सरकारले स्थापना गरेको ‘कोरोना भाइरस सङ्क्रमण रोकथाम, यिन्त्रण तथा उपचार कोष’मा नगरपालिकाको तर्फबाट पाँच लाख जम्मा गर्ने निर्णय गरेको नगर प्रमुख लक्ष्मी नरसिंह बादे श्रेष्ठले बताए ।

उनका अनुसार सो बैठकले कोभिड–१९ को महामारीबाट नगरवासीलाई सुरक्षित राख्न नगरपालिकाले आवश्यकता अनुसार खर्च गर्ने गरी विपद् व्यवस्थापन कोषमा १५ लाख थप गर्ने निर्णय गरेको नगर प्रमुख बादेले बताए ।

नगरपालिकाले यसअघि वडा नं. ६ को बुडोलमा रहेको नेपाल रेडक्रस सोसाइटीको राष्ट्रिय तालीम केन्द्रमा कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिनका लागि ६५ बेडको क्वारेन्टाइन कक्ष निर्माण गरेको छ । त्यससँगै परिस्थिति अनुसार आवश्यक परेमा वडा नं. ५ मा रहेको नेपाल बनेपा पोलिटेक्निक इन्ष्टिच्यूटमा पनि करिब एक सय बेडको क्वारेन्टाइन निर्माण गर्ने गरी तयारी थालिएको प्रमुख बादेले बताए । “त्यसका लागि पनि हामीले सरसफाइ गरी तयारी अवस्थामा राखेका छौँ”, बादेले भने, “जहाँ ५० बेड धुलिखेलस्थित नेपाली सेनाको विष्णु दल गणले व्यवस्था गर्न र अरू बाँकी नगरपालिकाको तर्फबाट व्यवस्थापन गर्दैछौँ ।”
रासस

Skip This
Skip This
Logo