नेपालमा ३ जनामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ । तीमध्ये एक जना निको भइसकेका छन् भने २ जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालको आइसोलेसनमा उपचार भइरहेको छ ।
भाइरस संक्रमणको आशंकामा देशका विभिन्न अस्पतालहरुमा गरी ६३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । त्यस्तै कोरोना भाइरसको आशंकामा देशका विभन्न स्थानमा १ हजार १० जनालाई क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएकाहरुमा युरोप, अमेरिका, खाडीबाट डिपोर्ट भइ आएका र लक डाउन भएपछि भारतबाट आएकाहरु धेरै छन् । नेपालमा कोरोना भाइरस संक्रमणको आशंकामा ७ सय ६८ जनाको स्वास्थ्य परीक्षण गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य परीक्षण गरिएकामध्ये ७ सय ५५ जनाको नतिजा नेगेटिभ आएको छ ।
विश्वभरि महामारीका रूपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणबाट शुक्रबारसम्म विश्वका विभिन्न देशमा गरी २४ हजार ९२ जनाको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे पछिल्लो विवरणअनुसार संंंसारभरि पाँच लाख ३२ हजार ६७० जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सङ्क्रमित व्यक्तिहरूमा एक लाख २४ हजार ३४९ जना उपचारपछि घर फर्किएका छन् ।
कोभिड–१९ को सङ्क्रमण फैलिन नदिन मङ्गलबारदेखि एक हप्ताको लागि सरकारले लकडाउन गरेको छ । तर, जबर्जस्ती बाहिर निस्किनेलाई प्रहरीले नियन्त्रणमा लिन थालेको छ । त्यसका लागि प्रहरीले ‘मल्टिफङ्सनल एरेस्ट एण्ड रेस्क्यू डिभाइस’को प्रयोग गर्न थालेको छ ।


































प्रतिक्रिया