काठमाडौं ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न अस्पतालमा भर्ना भएका सम्भावित सङ्क्रमित कोभिड–१९ को नमूना परीक्षणका लागि बिरामी काठमाडौं आउने नपर्ने जनाएको छ । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सम्भावित सङ्क्रमितलाई सम्बन्धित अस्पतालले व्यक्तिलाई आइसोलेसनमा राखेर सिफारिस नगरी कोभिड–१९ को नमूना परीक्षण गर्न मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउन निर्देशन दिइएको बताए । उनले हालसम्म कूल ६ सय १० को नमूना परीक्षण भएकोमा दुईको कोभिड–१९ पोजेटिभ देखिएकामा एक जना उपचारपछि फर्किएको र हाल एक जना शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचाररत भइरहेको जानकारी दिए । हाल सो अस्पतालमा १६ जना सङ्क्रमित भएको आशंकामा रहेकोमध्ये पाँच जना आइसोलेसन र १० जना क्वारेन्टाइनमा रहेका छन् ।
प्रवक्ता डा. देवकोटाले सम्भावित संक्रमणको प्रक्षेपणको दायरालाई बढाउँदै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, धुलिखेल अस्पताल र वीरअस्पतलामा चाँडै नै नमूना परीक्षणको प्रबन्ध गरिने जानकारी दिए । फ्रान्सबाट कतार हुँदै गतसाता काठमाडौं आएकी १९ वर्षीया एक युवतीमा कोभिड–१९ पोजेटिभ देखिएपछि उनका परिवारका सदस्यलाई पनि क्वारेन्टाइनमा राखिएको छ भने उनीसँगै सवार व्यक्ति पनि सम्पर्कका आई क्वारेन्टाइनमा जाने क्रम शुरु भएको छ ।
यसैगरी मन्त्रालयको कलसेन्टरमा पाँच हजार २ सय ३१ ले सम्पर्क गरी कोभिड–१९ को बारेमा जानकारी लिएका छन् । स्वास्थ्यमन्त्री भानुभक्त ढकालका सल्लाहकार डा. खेम कार्कीले सम्बन्धित अस्पतालमा पर्सनल प्रोटेक्सन इक्युपमेन्ट (पिपिइ) पठाउने क्रम शुरु गरिएको जानकारी दिए । उनले बजारमा लुकाई राखिएका पिपिइलाई खोजी र नयाँ उत्पादन गरी आवश्यकताका आधारमा अस्पतालमा पठाइने बताए ।–रासस































प्रतिक्रिया