काठमाडौं ।
साउदी अरबमा सोमबार बेलुकादेखि देशभरि कर्फ्युको घोषणा गरिएको छ । स्थानीय समय अनुसार बेलुका ७ बजेदेखि लागू हुने कर्फ्यु आगामी ३ दिनसम्म कायम रहने अधिकारीहरूले जानकारी दिएका छन् ।
साउदी अरबका राजा सलमान बिन अब्दुल्लाजिज साउदले सोमबार दिउँसो तीनदिने कर्फ्युको आदेश घोषणा गरेका जनाइएको छ । उनले कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कर्फ्युको घोषणा गर्नु परेको स्पष्ट पारेका छन् ।
साउदी राजा सल्मानले जनहितका लागि कर्फ्यु पालना पूर्णरूपमा गर्न पनि आह्वान गरेका छन् । राजाको तर्फबाट राजदरवारले जारी गरेको वक्तव्यमा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्नेतर्फ उच्च सतर्कता अपनाउन पनि आग्रह गरिएको छ ।
खाडी मुलुक साउदी अरबमा सोमबारसम्म ५११ जना सङ्क्रमित भेटिएको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ । स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र सञ्चारकर्मीलाई भने कर्फ्यु आदेश लागू नहुने वक्तव्यमा उल्लेख गरिएको छ ।































प्रतिक्रिया