आज घोडेजात्रा पर्व : कोरोनाका कारण साङ्केतिक रुपमा मनाइँदैछ

आज घोडेजात्रा पर्व : कोरोनाका कारण साङ्केतिक रुपमा मनाइँदैछ

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।
प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमणका कारण सीमित मानिसबीच साङ्केतिक रुपमा मनाइँदैछ ।

भाइरसको सङ्क्रमण मानिसमा नफैलियोस् भनी सतर्कता अपनाउँदै यसो गरिएको हो । जनविश्वास अनुसार टुँडिखेलको पूर्वदक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भनिने राक्षसले शहरका बालबालिकालाई खाने गरेको थियो । पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे । राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्न सक्ने भय स्थानीयवासीमा रहिरह्यो ।

यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा हुने विश्वास राजधानीवासीमा छ ।

नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकलालगायत प्रदर्शन गरिन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ । यस वर्ष कोरोना भाइरसको सङ्क्रमणका कारण सेनाले विशिष्ट व्यक्तिलाई अतिथिका रुपमा बोलाएको छैन ।

विगत वर्षमा भन्दा कम प्रदर्शन गरी मनाउने तयारी गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले राससलाई जानकारी दिए । “विगत वर्षमा २४ वटासम्म खेल प्रदर्शन गरिन्थ्यो, यस वर्ष घटाएर १५ वटा गरिँदैछ, सेनाभित्र पनि सबैलाई टुँडिखेलमा आमन्त्रण गरिएको छैन, स्याटेलाइटबाट ब्यारेकमा देखाउने व्यवस्था मिलाइएको छ”, उनले भने ।रासस

Skip This
Skip This
Logo