काठमाडौं ।
सोमबारदेखि काठमाडौं उपत्यकाबाहेक अरु ठाउँमा एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने भएको छ । कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै सरकारले लामो दुरीका सार्वजनिक गाडी चलाउन रोक लगाएको हो । सोमबारदेखि अर्को सूचना प्रकाशित नभएसम्मका लागि एक जिल्लाबाट अर्को जिल्लामा गाडी चलाउन नपाइने यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागले सोमबारदेखि काठमाडौं, ललितपुर र भक्तपुरभित्र गाडी ओहोर दोहार गर्न पाइने भए पनि काठमाडौं बाहिरका सबै ठाउँमा भने एक जिल्लाबाट अर्को जिल्लामा जान नपाउने निर्णय भएको जनाएको छ । यो उपत्यकाका तीन शहर बाहेक सबै जिल्लामा लागु हुने जनाइएको छ । यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार सरकारले यात्रु ओसार्ने सार्वजनिक, निजी र भाडाका चार पाङ्ग्रे तथा दुई पाङ्ग्रे सबै यातायातका साधनमा यो नियम लागु हुनेछ । तर यो बेलामा पनि एम्बुलेन्स, पानी, औषधि, दूध लगायतका अत्यावश्यक सेवाका गाडी भने चल्न पाउने उनले बताए ।
कोरोना भाइरसको संक्रमण फैलन सक्ने त्रासका कारण सरकारले तीव्र गतिमा सावधानी अपनाउन थालेको छ । सरकारको निर्णय अनुसार स्कूल, कलेज बन्द भइसकेका छन् । आइतबार रातीदेखि हवाइ उडान पनि बन्द हुने भएको छ । सवारी आवागमन बन्द हुने भएपछि आइतबार पनि मानिसहरु काठमाडौं छाड्नेक्रम जारी रहेको छ । मानिसहरुले काठमाडौं छाडेसँगै सधैं भीडभाड रहने असन र न्यूरोड लगाायत उपत्यकाकै चहलपहल हुने बजारहरु सुनसान बन्दै गएका छन् । व्यापार व्यवसाय समेत ठप्प बन्दै गएको छ । सडकमा आवागमन पातलिँदै गएको छ ।
शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै लामो दूरीका सवारीसाधन बन्द गर्ने बताएपछि काठमाडौं छाड्नेको संख्यामा ह्वात्तै वृद्धि भएको हो । सरकारले अत्यावश्यक काम बाहेक घरबाट ननिस्कन नागरिकलाई आग्रह गर्दै आएको छ ।
काठमाडौँ उपत्यकाको कोेटेश्वरबाट जडिबुटी हुँदै उपत्यका बाहिरिने सवारी साधनको संख्या पनि बढेको छ । जसका कारण भक्तपुरको जगाती नाकामा सवारी जाम बढेको थियो । नागढुङ्गा नाका भएर बाहिरिने सवारी संख्या पनि आइतवार बढेको छ । चैत ६ गतेदेखि आइतबार यो समाचार तयार पार्दासम्म ५ लाख २३ हजार यात्रु बाहिरिएका छन् भने २ लाख ४ हजार यात्रु काठमाडौं भित्रिएको महानगरिय ट्राफिक प्रहरी महाशाखा प्रमुख भीम ढकालले बताए ।































प्रतिक्रिया