सवारीमा अनुगमन तीब्र, मापसेको कक्षा लिनु नपर्ने

सवारीमा अनुगमन तीब्र, मापसेको कक्षा लिनु नपर्ने

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

विश्वव्यापी रूपमा फैलिदै गएको कोभिड–१९ (कोरोना) भाइरस संक्रमणबाट बच्न सतर्कता अपनाउँदै महानगरीय ट्राफिक प्रहरी महाशाखाले विशेष सेवाहरू प्रदान गर्न थालेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकालका अनुसार कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै महाशाखाले विशेष अभियानबाट यात्रु माथि हुने जोखिमलाई मध्यनजर गरी उपत्यकाका मुख्य मुख्य बसपार्क एवम् भिडभाड हुने स्थानहरूमा नागरिकलाई सचेतना जगाउने तथा सवारी साधनहरुमा हुने भिडभाड कम गराउने गरि प्लेकार्डसहितको ट्राफिक प्रहरी टोली आजदेखि खटाईएको छ ।

यसरी खटिने विशेष टोलीले सीट क्षमता अनुसार मात्र यात्रु राख्न, यात्रुहरूलाई कोचिएर यात्रा नगर्न, सधैँ मास्क लगाएर यात्रा गर्न, भिडभाड गरी नबस्न विशेष अनुरोध गर्नेछन । महाशाखा तथा मातहतका ट्राफिक कार्यालयहरूबाट उपत्यकाको ८६ स्थानमा २०० भन्दा बढी ट्राफिक प्रहरीहरू परिचालन गरी यो विशेष अभियान सञ्चालन गरिरहेको महाशाखाका प्रमुख ढकालले बताए।

सचेतना कक्षा बन्द
ट्राफिक महाशाखाले मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालक उपर दिंदै आएको सचेतना कक्षा हाललाई स्थगित गरेको छ ।
महाशाखाका प्रमुख ढकालका अनुसार मादक पदार्थ सेवन, लेन अनुशासन उल्लङ्घन गर्ने तथा सवारी दुर्घटना गरी सवारी चलाउने चालकलाई दिदै आएको सचेतना कक्षा हाललाई स्थगित गरिएको हो । ट्राफिक प्रहरीको कारवाहीमा परेका कागजपत्रहरु नियमानुसारको जरिवाना तिरेर लान सकिने व्यवस्था महाशाखाले मिलाएको छ ।

सावधानीपूर्वक मापेस चेकिङ
ट्राफिक प्रहरी महाशाखाले दैनिक रूपमा हुँदै आएको मापसे लगायत अन्य चेकिङहरू अति आवश्यक अवस्थाबाहेक अन्य अवस्थामा नगर्ने तर चेकिङ गर्नुपर्ने अवस्थामा सावधानीपूर्वक चेकिङ गर्ने व्यवस्था मिलाईएको जनाएको छ । यस विषम परिस्थितिमा सम्पूर्ण सवारी चालकहरूलाई मापसे लगायत अन्य ट्राफिक नियम उल्लङ्घन गरी सवारी नचलाईदिनुहुन चालकहरुमा महाशाखाले विशेष अनुरोध गरेको छ ।

त्यस्तै सार्वजनिक सवारी साधनलाई कोरना भाइरस संक्रमणमुक्त गर्ने गरी स्यानिटाइजर छर्केर मात्रै सञ्चालन गरे नगरेको तथा सिट क्षमताभन्दा बढी यात्रु राखे नराखेको अनुगमन आजदेखि तीव्र पारेको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जीवन कुमार श्रेष्ठले कोरोनाविरुद्ध जनचेतना र सावधानीका लागि आजदेखि कार्यालयको मूलगेटमा साबुन पानीले हात धुने र ज्वरो नापेर मात्र कार्यालयमा छिर्ने व्यवस्था गरिएको बताए ।

Skip This
Skip This
Logo